विक्षिप्त सहिद परिवार : सबै भन्न सक्दैनन्, नभनी बस्न पनि सक्दैनन्
![विक्षिप्त सहिद परिवार : सबै भन्न सक्दैनन्, नभनी बस्न पनि सक्दैनन्](https://npcdn.ratopati.com/media/news/apple-tea_8kucNcrCed.jpg)
विराटनगर । विराटनगर–१२ कि रामवती देवी भण्डारी उमेरले १५ वर्ष टेकेकीमात्रै थिइन् । मोरङ कर्सियाबाट घनश्याम कामतसँग विवाह गर्ने प्रस्ताव आफन्तले ल्याए । बुबा र आमाले उनको विवाह गरिदिए ।
लाउँलाउँ खाउँखाउँको उमेरमै विवाह बन्धनमा बाँधिएकी उनको पढाइ छुट्यो, सधैँजस्तो दिनचर्या पनि फेरियो । २०५५ सालमा विवाह गरेकी उनले २०५७ मा छोरा रजनिसलाई जन्म दिइन् । २०६० साल भदौमा छोरी रोजिनाको जन्म भयो । छोरी जन्मेपछि सुत्केरी खान माइत आएकी रामवतीका लागि २०६० चैत २० गते कालो रात बनेर आयो ।
उनलाई थाहा थिएन तर श्रीमान् घनश्याम कामत माओवादी बनेका रहेछन् । माओवादीमा उनको नाम ‘दिवाकर’ रहेछ । त्यो दिन थलाहामा माओवादीको मिटिङ रहेछ । त्यो मिटिङ सकेर खाजा खाने क्रममा ७–८ जनाको बिचमा रहेका घनश्यामसहित शंकर सरदार र होलाइ राजवंशीलाई पक्राउ गरेर हत्या गर्यो । उनीहरूको मृत्यु भएको विषय तीन दिनपछि मात्रै पत्रिकामा प्रकाशित भयो । ७ महिनाकी काखे बच्चा च्यापेर बसेकी उनलाई जब यो कुरा कानमा पर्यो, त्यसपछि रुवाबासी चल्यो । के गर्ने कसो गर्ने भयो ।
त्यही बेला सेना र प्रहरीको फौज विराटनगर–१२ कै उनी बसेको घरमा खानतलासी गर्न आए । त्यो देखेर काखे बच्चा च्यापेर उनी भागिन् । रात खेतमै बिताइन् ।
सरकारी फौजले घनश्यामको शव पनि दिएन । उनीहरूले नै लिएर गए । ‘हामीलाई डर लागेर गोप्य तरिकाले काजकिरिया गर्यौँ,’ रामवतीले सुनाइन् । ९ दिनपछि विराटनगरबाट कर्सियाको घरमा किरिया गर्न उनी ७ महिनाको बच्चा लिएर पुगिन् ।
केही दिनको बसाइपछि उनी पुनः माइती विराटनगर फर्किन् । ‘म विराटनगरको माइती घरमा थिएँ । प्रहरीहरू छापा मार्न यहाँ पनि पटक–पटक आए । त्यसबेला हामी खेतमा लुकेर बस्यौँ । चैत–वैशाखको घाममा सानो नानी लिएर खेतमा लुकेर बस्यौँ । ससुरा महाकन्त कामतलाई पनि ३ दिनसम्म थुनेर छोडिदियो,’ उनले भनिन् ।
रामवतीलाई त्यसबेलासम्म माओवादी भन्ने थाहा थिएन । कामत परिवारको पनि घनश्याम एक्लो छोरा थिए । रामवती पनि चार जना दाजुभाइको एक्लो चेली थिइन् । घनश्यामको कर्सिया बजारमै सानो क्लिनिक थियो । उनको मृत्यु नभएको भए त्यहीँबाट मनग्ये आम्दानी हुन्थ्यो । छोराछोरीको जीवनस्तर अहिलेभन्दा धेरै राम्रो हुनेथियो होला । तर, निःशस्त्र मानिसलाई पक्राउ गरेर हत्या गरियो । अबोध बालबालिकाको भविष्य चुँडायो । आमा र बुबाको भरोसा गुम्यो । देशमा गणतन्त्र आयो तर, उनीहरूको परिवारमा समृद्धि र सुख आएन ।
आफ्नो श्रीमान्को हत्यापछि उनलाई सासू–ससुराले माया दिएनन् । उनी माइतै बसिन् । घटनापछि उनले भोगेको दुःखका कुरा गरिसाध्य छैन । धेरै नलेखिदिन भन्दै उनले मनको बह पोखिन् ।
‘दुःखकै कारण त मैले माइती बस्नु पर्यो नि । हाम्रो समुदायमा श्रीमान् मरेपछि झनै दुःख पाइन्छ । अनेक कुरा गर्छन् । यस्तै हो । आमा–बुबाले मलाई सहयोग गर्नुभयो,’ उनले भनिन्, ‘सासू ससुराको माया पाइनँ ।’
शान्ति प्रक्रियापछि माओवादीका मानिसहरू उनलाई खोज्दै आए । ‘पार्टीका मानिसहरू खोज्दै कर्सिया पुगेका रहेछन् । सासू–ससुराले विवाह गरेर गएको भनेर भनिदिएछन् तर, पार्टीले कडाइपूर्वक सोधेपछि माइतीको ठेगाना दिएपछि माओवादीहरू यहीँ आइपुगे । त्यसबेला धेरै खुसी लाग्यो,’ उनले भनिन्, ‘तीन वर्षपछि पार्टी सदस्य बनाए । अहिले पनि निरन्तर कार्यक्रम तथा बैठकमा बोलाउने गर्छन् ।’
रामवती ऐलानी जग्गामा सरकारले सहिद परिवारको नाममा किस्ताबन्दीमा दिएको क्षतिपूर्तिको पैसाले सानो छाप्रो बनाएर बसेकी छन् । त्यही पैसाले छोराछोरी पढाएकी छन् । उनलाई अहिलेका प्रधानमन्त्रीले जनयुद्धलाई ‘हिंसा’ भनेकोमा चित्त दुःछ । ‘त्यसबेला मारिएका नागरिकहरू अनागरिक भएजस्तो गर्छन् । राज्यका सैनिकहरूले मेरै श्रीमान्लाई मारेको छ । उल्टो हामीलाई दोष दिएको जस्तो लाग्छ,’ उनी भन्छिन् ।
छोरी रोजिना कामत राजनीतिक विषयमा केही बोल्न चाहन्नन् । रामवती भने सहयोग गर्ने भनेर नेताहरू सबैले आश्वासन दिए पनि सहयोग नपाएको बताउँछिन् । ‘हुनेखानेको घरमा जागिर पनि हुन्छ । सहिद परिवारलाई कसले हेर्छ ? कति भनेँ, कति रोएँ । जति समस्या देखाए पनि आफ्नैमात्रै भयो । मेरो आँखा अगाडि हुनेखाने मानिसहरू तपाईंको छोराछोरीको जागिर तुरुन्तै हुन्छ भन्छन् तर गर्ने बेलामा गर्दिदैनन्,’ उनले भनिन् ।
उनलाई सिधै प्रचण्डसँग मनको बह पोख्न मन छ तर, मेसो नमिलेको उनी बताउँछिन् । ‘मैले सिधै प्रचण्डसँग गफ गर्थें । किन डराउनु ? तर, मौका दिँदैनन् । सहिद नभएका थिए भने अहिलेका नेताहरूको श्रीवृद्धि कसरी हुन्थ्यो ? हाम्रो अवस्था यस्तो छ । हाम्रो बालबच्चा के छ कस्तो छ, हेर्नुपर्छ नि,’ उनले भनिन् ।
०६४ सालमा छोरी ४ वर्षकी थिइन् । त्यसबेलै उनलाई माओवादीले समानुपातिक कोटामा सांसद बन्ने अफर गरेको थियो तर, उनले पार्टीमा चासो नभएकाले नबन्ने भनिन् । अहिले उनलाई थकथक लाग्छ ।
बोल्दाबोल्दै उनी आफ्नो छोरा र छोरीको विगत सम्झिन्छिन् । ‘मैले मेरो छोराछोरीलाई बुबाको अभाव हुन दिएको छैन । धेरै दुःख गरेर उनीहरूलाई पढाएँ, हुर्काएँ,’ उनले भनिन् ।
छोरीले आँगनमा खेल्दाखेल्दै एक दिन आकाशमा उडिरहेको जहाज देखाएर भन्थिन्, ‘मेरो बाबा यही जहाजबाट आउनुहुन्छ ।’
अबोध छोरीको तोते बोलीमा अनायासै आएको त्यो आवाजले उनलाई भक्कानो छुट्थ्यो । आँसु आउँथ्यो । डाँको छोडेर रुन मन लाथ्यो तर, उनी दुःख लुकाउँथिन् । मनलाई अन्तैतिर बहलाएर बिर्साउन खोज्थिन् । कयौँ रात उनले आँसुसरी भएर बिताइन् ।
कुराकानीकै क्रममा रामवतीका छोरा रजनिस टुप्लुक्क आइपुगे । आइपुग्ने बित्तिकै उनले कुराकानीकै सन्दर्भमा बिचैमा बोले र आक्रोश पोखे तर, आमाले सम्झाउँदै भनिन्, ‘सहिद परिवारको छोरा हो बाबु, सोचेर बोल्नु पर्छ ।’
छोरा रजनिसले भने, ‘उल्टो जागिर दिएर अर्कैले खाइदिएको छ ।’ फेरि आमाले बिचैमा भनिन्, ‘रजनिस, त्यो कुरा नगर... सिधै नभन । मिलाएर बोल ।’
यसका बाबजुद रजनिसले भने, ‘केही गरेको छैन हामीलाई, के गरेको छ ? किन नबोल्नु ? जहाँ पनि नबोल्नु भनेर हुन्छ ?’
रजनिसले आफ्नो डकुमेन्ट राखेर अरूले नै जागिर खाएको प्रमाण दिन खोजे । ‘मेरो नाम निस्किन्छ तर, तीन महिनामा पैसा लिएर अर्कैलाई जागिर खुवाउँछन् । अनि म कसरी चित्त बुझाऊँ ? मेरो नामबाट पैसा भुक्तानी भएको छ तर, अर्कैले खाएको छ,’ उनको आक्रोश थामिएन ।
उनकी आमाले पटकपटक पार्टीको बिचमा यो कुरा राख्न भनिन् तर, उनले आफूलाई बोल्नै नदिएको बताए । आफूलाई ज्यान मार्ने धम्की दिएको दाबी गरे ।
‘साल्ट ट्रेडिङमा पनि मेरो डकुमेन्टमा अर्कैलाई काम लगायो । मार्दिन्छु भनेर धम्की दिएको छ । म चुप लागेर काम गरिरहेको छु । मलाई बोल्न नलगाउनु,’ यति भन्दै उनी हिँडे ।
रजनिस हिँडेपछि उनकी छोरी रोजिनाले आफ्नो बुबाको नाम भएको ठुलो पुस्तक लिएर आइन् र देखाइन्, ‘मेरो बुबा यहाँ हुनुहुन्छ ।’
१४ हजार सहिदको विवरण भएको ठुलो पुस्तकको बिचमा उनले रातो संकेत लगाएर राखेकी रहिछन् । ‘बुबा खस्दा म ७ महिनाको थिएँ रे । दाजु तीन चार वर्षको हुनुहुन्थ्यो रे,’ उनले भनिन् ।
रोजिना अहिले ल्याब टेक्निसियन पढ्दैछिन् । दोस्रो वर्ष क्लियर भयो । अब तेस्रो वर्ष पनि सकिन लाग्यो । ६० सालमा बुबा खसेकोबाहेक अन्य घटनाबारे उनले केही बताउन चाहिनन् ।
छोरा रजनिसले भने एचएम गर्दै थिए तर, कोभिडका कारण छोड्नु पर्यो । उनी हाल एक निजी कम्पनीमा काम गर्छन् । आफूलाई कार्यालय सहयोगीकै भए पनि सरकारी जागिर दिनुपर्ने उनी बताउँछन् ।
रामवतीले माइतीमै गाई, भैंसी पालेकी छन् । दुध नियमित बिक्री गरेर आम्दानी गर्छिन् । माइती घरमा आमालाई साथमै राखेर बसेकी छन् । ‘गरिखान धेरै समस्या भयो । अहिले छोराछोरी हुर्किए । माइतीको आमा–बुबा, दाजु भाउजुहरूले सहयोग गर्नुभयो । अर्काको खेती गर्छु । गाई छ, भैंसी छ । दुध बेच्छु । सिलाइ कटाइको तालिम लिएको छु अनि सानोतिनो पसल पनि चलाउँछु,’ उनले सुनाइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को वार्षिक परीक्षा २०८२ वैशाख ११ गतेदेखि हुने
-
नागरिकको माग अनुसार विकासका आयोजनाहरू परिचालन हुनुपर्छ : सिंह
-
जनयुद्ध नभएको भए देश सय वर्षसम्म सामन्तवादको कब्जामा हुन्थ्यो : विप्लव
-
अध्यादेशबारे सत्तारुढ दलले सुरु गरे विपक्षीसँग छलफल
-
लोसपाले भन्यो– अध्यादेश नसच्याए सरकारबाट बाहिरिन्छौँ
-
‘मायाबी’को ट्रेलर सार्वजनिक : पल र दीपिकाको प्रेममा उतारचढावको कथा