बिहीबार, ०१ फागुन २०८१
ताजा लोकप्रिय

सन्ध्याको 'बारुदभित्र जीवन'

बिहीबार, ०१ फागुन २०८१, ११ : २७
बिहीबार, ०१ फागुन २०८१

गत मंसिर १९ गते सांस्कृतिक संस्थान जमलमा खचाखच दर्शक श्रोता थिए र ती  अधिकांश नेपालमा गणतन्त्र स्थापना गर्नका लागि जनयुद्ध लडेका र जनयुद्धलाई गौरव मान्ने पूर्वलडाकु थिए। 

 कार्यक्रम थियो- गणतन्त्र सेनानी कोषले आयोजना गरेको सम्मान कार्यक्रम।  कार्यक्रममा गणतन्त्र स्थापना गर्न दस वर्षे 'जनयुद्ध'को पहल, थालनी र नेतृत्व गर्दै जनआन्दोलन र संविधानसभाको निर्वाचन हुँदै गणतन्त्र घोषणा, गणतान्त्रिक संविधान निर्माण र गणतान्त्रिक योगदान दिने महारथीहरूलाई सम्मान गरिएको थियो। 

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई विशेष सम्मान गरिएको  थियो।  कार्यक्रम चलिरहेकै बेला अध्यक्ष 'प्रचण्ड'ले एक  कृति विमोचन गरे।  त्यो कृति  जनयुद्धसँग सम्बन्धित थियो र यसका सर्जक थिइन् कमरेड 'सन्ध्या' अर्थात् जानुका धमला। कृतिको नाम हो 'बारुदभित्र जीवन ।  

सन्ध्या रिटर्नी सेन्टर नेपालकी केन्द्रीय सदस्य तथा लेखा आयोग प्रमुख पनि हुन् ।  

सन्ध्याले यस कृतिमा मक्किएको तत्कालीन राज्य प्रणाली विरुद्ध भएको जनयुद्धका भोगाइहरूलाई  विषयवस्तु बनाएकी छिन् । युद्धका क्रममा भोगेको भोगाई, भेटिएका पात्र, भूगोल परिवेश, प्राकृतिक विविधता र प्रवृत्तिलाई रोचक ढङ्गले प्रस्तुत गरेकी छिन् । यो कृति ‘जनयुद्ध’ जान्न बुझ्न चाहनेका लागि विश्वविद्यालय सरह भएकाले सबै पुस्ताले अनिवार्य पढ्नैपर्ने कृति रहेको छ ।

यस कृतिमा ‘सन्ध्या’ ले जनयुद्धका बेला भएको  सरकारी ज्यादतीलाई पनि सजीव रूपमा चित्रण गरेकी छिन्  । सत्ताधारीहरू कति निर्मम हुँदा रहेछन् भन्ने प्रमाणहरू  छताछुल्ल भेटिन्छ  । 

कृतिमा घटनाक्रमको रोचक प्रस्तुतिले एकपछि अर्को अध्यायको रुचि र कौतुहलता सिर्जना गर्दछ । कृतिकार आफै छापामार, कमान्डर, नर्स, प्रकाशन विभागमा रहेर जिम्मेवारी काम गरेको र तीनै विभागहरूको भोगाइलाई कलात्मक रूपमा साहित्यको रसले भिजाएर पाठकलाई  पस्किएकी छन्  ।  एकपछि अर्को अध्यायमा नयाँ नयाँ घटनाक्रमको पटाक्षेप भइरहँदा म्याक्सिम गोर्कीको ‘आमा’  उपन्यासको झल्को दिन्छ । 

कृतिको सुरुकै अध्यायमा महिला योद्धाहरू माथि  गरिएको निर्मम यातनाको विषय प्रस्तुत गरिएको छ ।  यसबाट जनयुद्धमा महिला छापामार, नेतृ योद्धाहरूको असाधारण र अतुलनीय योगदान थियो भन्ने प्रमाण भेटिन्छ ।  

जनयुद्धका योद्धाहरूमाथि तत्कालीन शाही सेनाले बर्बर यातनाको चित्र, श्रोत साधन हतियार सबैको अभावमा पनि जनयुद्ध कसरी भएको थियो भन्ने विषयलाई समेटिएको छ । यस कृतिबाट जनमुक्तिका लागि जनयुद्ध, जनमुक्ति सेना, जनकारबाही, जन अदालत, जनवादी साहित्य र जनसत्ता स्थापना गर्न माओवादी जनयुद्ध भएको थप प्रमाण पेस गर्न खोजिएको छ ।

अध्ययन गर्दै जाँदा कृतिमा एङ्गेल्स, माओत्सेतुङ्ग, बुद्ध, जीवन शर्मा आदि युग नायकहरूको  मननीय  भनाइहरू राखिएकाले कृतिमा रोचकता र मिठास थपिएको छ । 

‘सन्ध्या’ आफै विभिन्न  युद्ध मोर्चामा रहेर जनयुद्ध लडेकी योद्धा हुन्  । यही क्रममा   नन्द, पति आत्मीय सहयोद्धा  गुमाउनुको  पीडालाई कृतिमा हृदय विदारक रूपमा प्रस्तुत गरिएको छ  । युद्धको तयारी, सावधानी, आफ्नै सहकर्मी, सहयात्रीहरूले  आफ्नै अगाडि सहदत भएको घटनाहरूको बढो कारुणिक दृश्यहरूको वर्णन गरिएको छ । जनयुद्धको सुरुआतमा जनता, कार्यकर्ता, कमान्डर र उच्च नेतृत्वसम्म उत्साह, जोस जाँगर देखिए पनि अन्तिम अध्याय ‘अयोग्य साथीहरू र मेरा अन्तिम दिन’ पढेपछि भने केही निराशाका बादल मडारिएको पाइन्छ । 

कृतिमा ‘आँखाबाट बारुद मिसिएको आँसु बग्यो, तर पुछ्ने समय कहाँ पाउनु ?’ भन्ने संवाद छ यो संवादले नै कृतिको शीर्षकलाई सार्थकता प्रदान गर्दछ । 

जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्ने उद्देश्यले जनयुद्धको सुरुवात भए पनि परिणाम त्यस्तो नभएकाले  जीवनयापन गर्ने असहज हुँदा कति योद्धा र नेपाली युवाहरू मलेसिया र अरबको खाडीमा जानुपर्ने बाध्यता नेपाली समाजमा रहेको छ ।  यो बाध्यतामा  ‘सन्ध्या’ पनि पर्नु भएको हो तर त्यो बाध्यता  र परिबन्दले बाँधे  पनि  आफूले निर्माण गरेको गौरवशाली इतिहासलाई रक्षा गर्न नेपाल फर्केर गौरवशाली सङ्गठन रिटर्नी सेन्टर नेपालमा  आबद्ध भएकी छन्  । 

नेपाली राजनीतिमा ‘जनयुद्ध’ले जसरी पुरानो राज्यसत्तालाई ढालेर जनवादी गणतन्त्रको स्थापना  गरे जस्तै ‘बारुद भित्र जीवन’ ले नेपाली साहित्य आकाशमा नयाँ प्रवृत्ति र आयाम थप्ने विश्वास गर्न सकिन्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप