माओवादी जनयुद्धका 'दुर्गा–कालीहरु'

काठमाडौँ । २०५२ साल फागुन १ गते नेकपा (माओवादी)ले रोल्पाको होलेरी, रुकुमको आठबीसकोट, सिन्धुलीको सिन्धुलीगढीमा रहेका चौकीहरू र गोरखाको च्याङ्लीमा रहेको कृषि विकास बैंक कब्जा गरी जनयुद्ध सुरु गर्यो । रोल्पाको होलेरी चौकी आक्रमणमा सहभागी थिइन् पूर्वसभामुख तथा माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्ती । तारा घर्ती र गीता विकको पनि सक्रिय सहभागिता थियो । कमाण्डर थिए पूर्वउपराष्ट्रपति तथा लडाकुको डेपुटी कमाण्डर नन्दकिशोर पुन ‘पासाङ’ ।
रुकुमको राडीचौकी आक्रमणको कमाण्ड अहिले केन्द्रीय कार्यालयका मुख्यसचिव तथा स्थायी समिति सदस्य गणेशमान पुनले सम्हालेका थिए । आक्रमणमा सहभागी ३८ जनामध्ये तीन जना महिला– पूर्वमन्त्री तथा स्थायी समिति सदस्य कमला रोका, केन्द्रीय सदस्य नारायणी शर्मा र लालकुमारी रोका थिए ।
यता सिन्धुलीगढी चौकी आक्रमण (सीमा र अर्को एक नाम नखुलेको) र गोरखाको च्याङ्लीमा रहेको कृषि विकास बैंक कब्जामा उमा भुजेल लगायत महिला छामामार सक्रिय सहभागी थिए । यी पात्र जनयुद्धका पहिलो महिला छापामारका रूपमा परिचित छन् ।
नेपालमा २०५२ देखि २०६२ सालसम्म चलेको माओवादी सशस्त्र विद्रोहमा करिब २५ सय महिला योद्धाले सहादत प्राप्त गरेको हुन सक्ने अखिल नेपाल महिला संघ(क्रान्तिकारी)की अध्यक्ष अमृता थापा बताउँछिन् । जनयुद्धमा आममहिला सहभागी भएकाले यकिन तथ्यांक नभएको थापाले जानकारी दिइन् । उनका अनुसार त्यतिबेला सहभागीमध्ये ४० प्रतिशत युवा महिला छापामार जनमुक्ति सेनामा संलग्न हुनुपर्ने नियम थियो ।
‘सुरुवाती कालमा जनमुक्ति सेना गठन भएको थिएन । जनमिलिसिया, योङ कम्युनिस्ट लिग(वाइसिएल) थियो । पीएलए गठन भएपछि ४० प्रतिशत युवा महिला सहभागी हुनुपर्ने नियम बस्यो तर कति सहभागी थिए भन्ने यकिन तथ्यांक छैन’, रातोपाटीसँग थापाले भनिन् ।
तत्कालीन पुरुष प्रधान समाजमा महिलालाई घरको चार किल्लाबाट बाहिर जान बर्जित भएको समयमा छापामार बन्नु चानचुने विषय थिएन । ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त गर्दै नयाँ जनवादी सत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अगाडि बढौँ’ नारा लेखिएको दस्तावेज र पोष्टर सार्वजनिक गरेर माओवादीले तत्कालीन शाही सत्ताविरुद्ध भूमिगत सशस्त्र युद्ध घोषणा गरेको थियो । काँधमा बन्दुक र काखमा बच्चा बोकेर जनवादी राज्यसत्ता स्थापना गर्न महिला छापामार बनेको सायद नेपालकै इतिहासमा पहिलो घटना हुनसक्छ ।
हुन त राणा शासनकालदेखि नै राजनीतिक अधिकार प्राप्तिका लागि संघर्षमा महिला सहभागी भएको इतिहास छ । विक्रम संवत् १९७४ मा योगमायादेवी र दिव्या कोइरालाले महिला संघ खोलेको इतिहास पढ्न पाइन्छ । १९९८ सालमा तत्कालीन राणा शासनलाई चेतावनी दिँदै योगमायासहित ६८ जनाले अरुण नदीमा हामफालेर देहत्याग गरेका थिए । वर्गीय, जातीय, लैंगिक विभेद अन्त्यका लागि मंगलादेवी सिंह, साहना प्रधान, स्नेहलताजस्ता महिलाको योगदान प्रशस्तै भेटिन्छन् ।
२०६२/६३ सालको राजनीतिक परिवर्तनपछि राज्यको हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको छ । २०७२ मा संघीय लोकतान्त्रिक गणतन्त्रसहितको नयाँ संविधान बनेपछि नेपालमा एकसाथ राष्ट्रपति, सभामुख र सर्वोच्च अदालतको प्रधानन्यायाधीश भएर महिलाले इतिहासमा रेकर्ड राखेका छन् ।
समान लैंगिक अधिकार प्राप्तिका लागि यी विषय सुखद् भए पनि पर्याप्त नभएको पूर्वसभामुख घर्ती बताउँछिन् । तत्कालीन समाजमा भएको अन्याय, विभेद, धनी–गरिबबिच देखिएको विभेद, महिला–पुरुषबिचको विभेद, जातीय विभेदमा राज्य नै लागेको अनुभूति भएपछि आफू माओवादी छापामार भएको उनले सुनाइन् । यद्यपि त्यतिबेला युद्धमा सहभागी हुनेहरूको चेतना फरक–फरक रहेको उनको बुझाइ छ ।
‘सामन्ती राज्य प्रणाली परिवर्तन गर्न हामी जनयुद्धमा सहभागी भयौँ । म र मेरा साथीहरूको चेतना फरक–फरक थिए । पारिवारिक पृष्ठभूमि, समाजमा भएका विभेदका कारण हामी छापामार बन्न प्रेरित भयौँ । विभेदहरूको सबैभन्दा बढी भोगाइमा हामी पर्यौँ’, उनले भनिन्, ‘पहिलो कुरा केटी मान्छे हो कि होइन भन्ने प्रश्नको उत्तर खोज्नु थियो । समाजमा महिलाहरूलाई धेरै सीमा थिए । प्राकृतिक रूपमा कति सक्षम कति असक्षम, त्यो फरक विषय हुन् । यसको यथार्थ के हो भन्ने प्रश्नको खोजीमा हामी युद्धमा लागेको हौँ ।’
युद्धमा सहभागी हुँदा घर्ती २१ वर्षकी थिइन् । त्यतिबेला उनी आइएमा भर्ना भएकी थिइन् । उनले आफ्नो शरीर आफैँले प्रयोगशालामा परीक्षण गरेको अनुभव सुनाइन् ।
‘जनयुद्ध आफ्नो शरीर आफैले प्रयोगशालामा परीक्षण भएजस्तो भयो । त्यतिबेला समाजमा केटी मान्छेले छोएको बन्दुक पड्किँदैन भन्ने भ्रम थियो । रुढीवादी समाजमा महिलाले बन्दुक बोक्नु वा छापामार बन्नु धेरै परको कुरा थियो । त्यहीँदेखि नै हाम्रो परीक्षण भयो’, घर्तीले भनिन् ।
छापामार हुन न्यूनतम कसरत हुनुपर्ने, शरीरको बनावट मिल्नुपर्ने, पार्टीमा पनि महिलाले सक्दैनन् कि भन्ने रहेको उनले स्मरण गरिन् । ‘लडाइँमा जानेबेला महिलाहरू बढी भावनात्मक हुन्छन् । हिन्दु संस्कार अनुसार हामी महिला मलामी पनि जान मिल्दैनथ्यो,’ उनले भनिन्, ‘यी यावत् प्रश्न तेर्सिएका थिए । यसमा आफूले आफैँलाई प्रयोगशाला जस्तै परीक्षण गर्दै अगाडि बढ्यौँ ।’
आफूहरूले रगतसँग साटेर ल्याएको परिवर्तनबाट नै अहिले सहजै पुलिस र आर्मीमा महिला सहभागी हुन थालेको घर्तीको जिकिर छ । युद्ध मोर्चामा एकपछि अर्को परीक्षण सफल भएपछि पार्टीले बल्ल महिला पनि लड्न सक्छन् भनेर विश्वास गरेको उनको अनुभव छ ।
त्यसपछि मात्र महिलालाई कमाण्डर बनाएको घर्तीले बताइन् । पछि एम्बुस पनि महिलाकै कमाण्डमा हुन थालेको उनले सुनाइन् । हरेक युद्धमा फिजिकल्ली सफलता हासिल भए पनि बढी मेन्टल्ली संघर्ष गर्नुपरेको अनुभूति उनले सुनाइन् ।
‘मैले हरेक परीक्षण उत्तीर्ण गर्दै गएँ । त्यसपछि मलाई पनि मैले सक्छु भन्ने थाहा भयो । पार्टीले पनि विश्वास गर्यो । राजनीति पुरुषले गर्ने कुरा हो भन्ने थियो । घरको चार दिवार नाघेर गएपछि समाजमा अनेक लाञ्छना खेप्नुपर्थ्यो । ती घेरामा मेरो परिवार पनि थियो । जब ती तोड्दै गएँ, त्यसपछि म नेता बन्न सक्छु भन्ने आत्मविश्वास भयो’, घर्तीले भनिन् ।
जनयुद्धको सुरुदेखि अन्तिम लडाइँसम्म प्रत्यक्ष सहभागी उनी पहिलो लडाइँ रोल्पाको होलेरी र अन्तिम लडाइँ सिन्धुपाल्चोकको चौतारामा लडेकी थिइन् । उनले युद्ध मैदानमै प्रसव पीडाको ख्यालै नगरी दुस्मनको घेरा तोड्न भाग्दै गरेका बेला छाँगाबाट हामफालेको कहालीलाग्दो युद्ध अनुभव सुनाइन् ।
‘मैले दुवै बच्चा युद्धमै जन्माएको हो । कतिपय साथीहरू बच्चा जन्माउनका लागि राजनीति छोडेर बस्नुभयो,’ उनले भनिन्, ‘धेरैले अस्पतालमा गएर जन्माउनुभयो । मेरो मनमा बच्चा पनि जन्माउने, राजनीतिलाई पनि निरन्तरता दिने थियो । त्यतिबेला बच्चा जन्माउने कुरा पनि ठुलो संघर्षको कुरा थियो । पेटमा बच्चा बोकेर युद्ध लड्नु धेरै ठुलो कुरा हो ।’
२०५५ सालमा रोल्पाको पाखापानी चौकी रेड गर्न सर्वेमा जाँदा आफ्नो पेटमा ७ महिनाको बच्चा रहेको घर्तीले सुनाइन् । ‘त्यो बेला हामी घेरामा परिसकेका रहेछौँ । पार्टीभित्रकै गद्दारीका कारण घेरामा पर्यौँ,’ उनले भनिन्, ‘हामीले एउटा घरमा सेल्टर लिएका थियौँ । सबै सर्वे भएर अन्तिम नक्सा तयार पारेका थियौँ । सबै कामको व्यवस्थापन गरेर राति खान लागेका थियौँ । दुस्मनको घेरामा पर्यौँ ।’
त्यतिबेला दौडेर ज्यान बचाउनुपर्ने वा मर्नुबाहेक आफ्नो अगाडि अर्को विकल्प नरहेको घर्तीले सुनाइन् । ‘हामीसँग थप फोर्स थिएन । जम्मा एउटा राइफल थियो । त्यसले हामी प्रतिवाद गर्न सक्दैनथ्यौँ,’ उनले भनिन्, ‘साथीहरूसँग सल्लाह गरेर दुईतिर दौडने निष्कर्षमा पुग्यौँ ।’
१५/२० मिनेट दौडेपछि आफूलाई थकाइ महसुस भएको घर्तीले बताइन् । ‘त्यहाँ दुईवटा बाटो थिए । साथीहरूलाई माथि लाग्नोस् भनेँ, म तलतिर भागेँ । पुलिसहरू माथितिर गए तर म भाग्दै जाँदा बाटो टुङ्गियो । एउटा ठुलो छहराजस्तो रहेछ । कि त मैले हमफाल्नुपर्थ्यो कि त गोली खानुपर्थ्यो,’ उनले भनिन्, ‘गोली खानुभन्दा हामफालेर नै मर्छु भनेर निर्णय लिएँ । हामफालेँ । संयोग नै मान्नुपर्छ, त्यहाँ पानी जमेको रहेछ । घुँडाभन्दा माथिसम्म डुबेँ । तल्लो पेट धेरै नै दुःखेपछि एक सुरक्षित ठाउँमा गएर डाक्टरको सल्लाह लियौँ । डाक्टरले पेटमा रहेको बच्चा खेर जानसक्छ भनेका थिए । त्यसको ११ दिनपछि बच्चा सकुशल जन्मियो ।’
बच्चा जन्मिएको तीन दिनमै फेरि घेरामा परेको अनुभव उनले सुनाइन् । ‘ज्यान जोगाउन फेरि बच्चा बोकेर भाग्यौँ । यसरी हामीले घेरो तोड्यौँ । यस्ता घटना त कति भए कति !’ उनले भनिन् ।
रुकुम पूर्वकी पहिलो निर्वाचित सांसद रहेकी स्थायी समिति सदस्य कमला रोकाको युद्ध अनुभव पनि घर्तीकौ जस्तै छ । जनयुद्धमा लाग्नुको कारण पनि उस्तै नै देखिन्छ ।
२०४६ देखि नै राजनीतिमा लागेकी रोका कक्षा १० मा अध्ययन गर्दागर्दै भूमिगत भएकी थिइन् । उनले २०५२ सालदेखि तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको संघर्षमा पूर्णकालीन भइ भूमिगत राजनीतिक जीवन सुरु गरेकी थिइन् । छापामारको रूपमा उनी विभिन्न लडाइँमा अग्रभागमा रहेर लडेकी थिइन् ।
रोका जनयुद्धको पहिलो महिला छापामारसमेत थिइन् । रुकुमको अति दुर्गम किसान परिवारमा जन्मिएकी त्यतिबेलाको वर्गीय, लिङ्गीय, जातीय विभेदविरुद्ध सशस्त्र संघर्षमा होमिएकी थिइन् । अमेरिकी पत्रकार जुलीद्वारा निर्देशित वृत्तचित्र ‘दि सारी सोल्जर’मा रहेका विभिन्न पात्रहरूमध्ये एक साहसी पात्रको रूपमा रोकालाई उल्लेख गरिएको थियो ।
२०५३ सालमा नेपालगञ्ज नाकामा पुग्दा उनी पक्राउ परेकी थिइन् । त्यतिबेला उनको श्रीमान गणेशमान पुन पनि पक्राउ परेका थिए । रोकालाई केही समयपछि सुरक्षाकर्मीले छाडेका थिए । उनको श्रीमानलाई भने ७ वर्षसम्म छाडेको थिएन ।
बिरामी भएपछि उपचारका लागि पुनलाई नेपालगञ्ज लगेको थियो । त्यही बेला विप्लव नेतृत्वमा आएका छापामार टोलीले ०५७ सालतिर अस्पतालबाटै उठाएर लगेको रोकाले सुनाइन् । २०५९ सालमा बच्चा जन्मिने अवस्थामा आफू सेनाको घेरमा परेको उनले सुनाइन् ।
रोकाका अनुसार उनी त्यतिबेला प्युठान जिल्ला इन्चार्ज थिइन् । ‘असोजको अन्तिमतिर सन्धिर्खक कब्जा गर्ने योजना थियो । सबै तयारी प्युठानमै भएको थियो । कारबाही सकेर सिरियस घाइतेहरूलाई सँगै रोल्पा–रुकुममा लगियो,’ रोकाले भनिन्, ‘रुकुमको महत भन्ने ठाउँमा फेरि दोहोरो भिडन्त भयो । केही साथीहरूको सहादत भयो ।’
रोल्पाको थवाङ, रुकुमको महत आसपासका झण्डै दुई हजार मानिस पनि रहेको रोकाले सुनाइन् । उनका अनुसार गाउँका महिलाहरू पनि धेरै सुत्केरी थिए । ‘म घाइतेहरूलाई लिएर दाङको कोइलाबास नाका पुुगेपछि बच्चा जन्मियो, जेठा छोरा आजाद मंसिर महिनामा जन्मिएको हो । दिनभरि सालनाल नझरेर झण्डै मरेको थिएँ,’ उनले भनिन्, ‘हामीसँग भएका डाक्टरले हस्पिटल लगेका थिए । बच्चा जन्मिएको भोलिपल्टै दुस्मनको घेरा छल्न भाग्नुपर्ने अवस्था आयो । भाग्नुपर्ने कारण थियो– सन्धिखर्क आक्रमण भएपछि सबै सुरक्षाकर्मी त्यहाँ केन्द्रित भएका थिए ।’
दुस्मनको ध्यान डाइभर्ट गर्न जुम्लामा आक्रमण भएको उनले सुनाइन् । उनका अनुसार कोइलाबासमा विप्लवको नेतृत्वमा आक्रमण गर्ने योजना बनेकाले सुरक्षित हुन रोल्पा पुग्नुपर्थ्यो । उनले भनिन्, ‘दिनभर हिउँमा हिँडेर राति रोल्पा पुग्यौँ । पाँच घण्टासम्म बच्चालाई काखमा र काँधमा बन्दुक बोकेर हिँडियो । पछि कम्युनमा बच्चा छोडेर युद्धमै सहभागी भइयो ।’
फागुन १ देखि पूर्णकालीन रूपमा पार्टीमा लागेकी नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य उमा भुजेल जनयुद्धको पहिलो दिनमै गोरखाको च्याङ्ली साना किसान बैंक आक्रमणमा सहभागी भएकी थिइन् । जनयुद्ध नेपालको कम्युनिस्ट आन्दोलनकै गौरवपूर्ण युद्धका रूपमा उनी सम्झिन्छिन् ।
खासगरी समाजमा धनी र गरिब देखिएको विभेद, जातीय विभेद र लैंगिक विभेदविरुद्ध सचेत ढंगले नै युद्धमा लागेको उनले बताइन् ।
‘त्यतिबेला सामन्ती राज्यव्यवस्था थियो । यसको अन्त्य गरेर जनवाद हुँदै समाजवादमा पुग्ने हाम्रो लक्ष्य थियो । महिलाहरूको समानाता, जातीय विभेदको अन्त्यका लागि हामी युद्धमा होमिएका हौँ,’ भुजेलले भनिन् ।
जनताको मुक्ति र अधिकारको हिसाबले महान् व्यवस्था स्थापित हुन्छ भनेर बुझिसकेपछि आफू जनयुद्धमा लागेको उनले सुनाइन् । ‘यी विभेद प्रत्यक्ष अनुभूति गरेका कुरा हुन् । युद्धमा लाग्नुअघि म विद्यार्थी संगठनमा थिएँ । म कसैको लहैलहै वा दबाबमा होइन सचेत ढंगले नै लागेको हुँ,’ उनले भनिन् ।
गाउँमा कांग्रेस र कम्युनिस्टबिच ठुलो लडाईं हुने गरेको स्मरण गर्दै भुजेलले कांग्रेस निकट नेविसंघको दबदबाका कारण एक महिना स्कुल नै जान नसकिएको सुनाइन् । ‘त्यतिबेला कयौँ विद्यार्थीले पढ्नै छोडेको उनको भनाइ थियो ।
१७/१८ वर्षको उमेरमा छापामार भएकी उनी दर्जनौँ युद्ध मोर्चामा प्रत्यक्ष सहभागी भइन् । कामको सिलसिलामा जनताको घरमै रहेका बेला २०५६ साल कात्तिकमा उनी पक्राउ परिन् । गोरखा जेल ब्रेकरको रूपमा चर्चित रहेकी उनले त्यतिबेलाको अनुभव सुनाइन् ।
‘२०५६ साल कार्तिक १३ गते रातको एकबजेतिर संगठनकै कामले म तान्द्राङमा हिँड्दै थिएँ । बिहान सात बजे प्रहरीले हामीलाई घेरा हालिसकेको रहेछ,’ भुजेलले भनिन्, ‘त्यसपछि एक जना साथीले घेरा तोड्नुभयो, मैले तोड्न सकिनँ । त्यसपछि प्रहरीले मलाई घ्याम्पेसाल ल्यायो ।’
त्यतिबेलासम्म आफूलाई प्रहरीले नचिनेको भुजेल बताउँछिन् । ‘गिरफ्तारीदेखि नै बाहिर निस्कनुपर्छ भन्ने मेरो मानसिकता थियो तर अनुकूलता थिएन । बाहिर निस्कने वातावरण नै थिएन,’ उनले भनिन्, ‘चार महिनापछि गोरखा आइपुगेपछि छुट्न खोजेको, सकिएन । जेलमा राखेपछि मेरो मानसिकता नै जसरी पनि त्यहाँबाट उम्किने भन्ने थियो ।’
जहाँ बलियो छ, त्यहाँ कमजोरी हुन्छ भन्ने मार्क्सवादी दृष्टिकोण अनुसार साथीहरूसँग सल्लाह गरेको उनले सुनाइन् । धेरै विकल्प असफल भएपछि सुरुङ खन्ने निष्कर्षमा पुगेको उनको भनाइ छ । उनले भनिन्, ‘सायद त्यतिखेर १११ औँ माओ दिवस रहेको जस्तो लाग्छ । सोही दिनबाट सुरुङ खन्न सुरु गर्यौँ । मान्छेले भित्र कोठाबाट सुरुङ खनेको भनेर बुझेका छन्, त्यो होइन । बाहिर खुला ठाउँबाट गरेका हौँ ।’
कयौँ दिनसम्म यसरी सुरुङ खनिएको उनले सुनाइन् । दैनिक खाल्डो खन्दै झारले पुर्दै गएको उनको भनाइ छ । ‘खनेको ठाउँमा तरकारी लगाएको छ भनेर अरुलाई जान दिँदैनथ्यौँ । तीन/चार चरणमा हामीलाई थुपै्र जटिला आइपरेको थियो । खाल्टो खन्दै गरेको बेला कहिले प्रहरी आउँथ्यो, कहिले पर्खालमा तारजाली लगाउन आउँथे । हामी सफल हुँदैनौँ कि भन्ने पनि धेरै पटक लागेको थियो,’ भुजेलले भनिन् ।
यद्यपि आफूहरूले हरेस नखाएको उनले बताइन् । ‘हामीसँग एउटा सानो फलामको रड थियो । त्यसैको सहयोगमा हातका नङ्ग्राले कोट्याउँदै सुरुङ खनेका थियौँ,’ उनले भनिन्, ‘कि जितिन्छ, कि मरिन्छ भन्ने थियो । हामीले पुलिसलाई छक्याउन विभिन्न तानाबाना बुनेका थियौँ । सुरुङको मुखमा तरकारी लगाएका थियौँ, सुरुङभित्र काम गरेको अरुले थाहा नपाउन् भनेर केही साथीहरू बाहिर म्युजिक बजाएर नाचगान गर्थे ।’
कोठा बाहिर सुरुङ तयार भइसके पनि कोठाभित्रबाट पुलिसको आँखा छलेर कसरी निस्कने भन्नेमा धेरै संकट आएको भुजेल बताउँछिन् । ‘किनकि कोठाको झ्यालको रड काटेर निस्कने ठाउँमा प्रहरीको ड्युटी थियो । एकातिर प्रहरीलाई भुलाउनु पर्ने, अर्कातिर अरु बन्दीलाई पनि थाहा दिन हुँदैनथ्यो,’ उनले भनिन्, ‘हामी धर्मसंकटमा परेका थियौँ ।’
जटिलताकाबिच आफूहरूले झ्यालको रड निकालेर बाहिर निस्कन सफल भएको उनले बताइन् । ‘राति पौने १ बजे हामी बाहिर त निस्कियौँ । साथमा ६ जना थियौँ । तीन जना एकातिर जाने, अर्को तीन जना अर्कोतिर जाने भनेर सल्लाह गरेका थियौँ । सोही अनुसार भाग्यौँ ।’
२०५७ साल चैत १७ गते उमा भुजेल, कमला नहर्की, रिता थापा, एन्जिला वि.क., मिना मरहट्टा, सञ्जु अर्याल गरी ६ जना महिलाले ‘जेल ब्रेक’ गरेका थिए ।
१६ वर्षकै उमेरमा पूर्णकालीन सदस्य बनेकी अखिल नेपाल महिला संघ(क्रान्तिकारी)की अध्यक्ष अमृता थापाले २०४८/०४९ सालमै योङ्ग कम्युनिस्ट लिग वाइसिएलको तालिम लिएको थिइन् । जनयुद्धको तयारी पोष्टर (महिला र पुरुषले बन्दुक बोकेका)मा छाप लगाएको सम्झिन्छिन् । भुरुङखेलमा पहिलो पर्चा टाँसेर जनयुद्धमा गएको उनले बताइन् ।
‘मैले र रेखा शर्माले जनयुद्धको पहिलो पोष्टरमा छाप लगाएको हो,’ थापाले भनिन्, ‘हिसिला यमिको माइत भुरुङखेलमा बाहिरबाट ताला लगाएर छाप लगाएका थियौँ । ।’
‘प्रतिक्रियावादी सत्तालाई ध्वस्त पारौँ । नयाँ जनवादी सत्ता स्थापना गरौँ’ भन्ने नारा रहेको उनले स्मरण गरिन् ।
२०६१ सालमा सिधै ब्रिगेडियर कमीसार भएकी थापा पूर्वको काँकडभिट्टा, धनकुटा, इलाम सदरमुकाम, झापा आक्रमणमा सहभागी भएकी थिइन् । स्याङ्जाको बिरुवा अर्चलेमा जम्मेकी उनी जनयुद्ध सुरु हुन्छ, ५ वर्ष बच्चा नजन्माऊ भनेर पार्टीले निर्देशन दिएको बताउँछिन् ।
‘मैले २०५१ सालमा विवाह गरेको हुँ । तीन वर्षपछि २०५४ मा बच्चा जन्माएँ । त्यतिबेला म धरानमा थिएँ । खान नपाएर कमजोर भएको थिएँ । बाबाले दिएको एक तोला सुन थियो । त्यही बैंकमा राखेर जसोतसो खानाको जोहो गरे । घरबेटीले कोठाको भाडाचाहिँ लिएका थिएनन् । पछि बच्चा जन्माउन म पोखरा आएँ । दुई वर्ष नपुग्दै बच्चा हजुरआमालाई छोडेर म कपिलवस्तु गएँ । जनयुद्ध हुँदा म १९ वर्षको थिएँ’, थापाले भनिन् ।
१९ वर्षको उमेरमा पहिलो छापामार भएकी नारायणी शर्माको युद्ध अनुभव पनि उस्तै छ । फागुन १ गते चौकी आक्रमण गर्ने पार्टीले योजना अनुसार उनी रुकुमको राडीचौकी आक्रमणमा सहभागी थिइन । ‘आक्रमण हुनु २/३ दिन अगाडिदेखि नै तयारीमा जुटेका थियौँ । हामी कुनै एक्सनमा जाँदैछौँ, त्यो एक्सनमा गएपछि देशमा नयाँ खालको परिस्थिति निर्माण हुनेछ भन्ने थियो । कहाँ जाने भन्ने केही थाहा थिएन’, शर्माले भनिन्, ‘माघको अन्तिमतिर गाउँ नजिकै एक जना सरको घरमा बस्यौँ । साथमा हामीले मकै भटमास जस्ता ड्राइ फुड पोको पारेर राखेका थियौँ ।’
त्यसले साँच्चै नयाँ खालको काम गर्दैछौँ भन्ने अनुभूति गराएको शर्माको भनाइ छ । उनले भनिन्, ‘राडी चौकी आक्रमणमा जाँदै छौँ भन्ने कुरा साँझमात्र थाहा भयो । त्यतिबेला अनुभवभन्दा पनि केही नयाँ काम गर्दैछौँ भन्ने हुटहुटीले काम गर्यो । अर्कोतिर के कस्तो तयारी छ, केही थाहा थिएन ।’
खाना खाएर राति नै गाउँ हुँदै जंगल र खोला पार गर्दै करिब १ बजे राडीचौकी पुगेको अनुभव उनले सुनाइन् । चौकीमा आक्रमण गर्दैगर्दा आफूहरूमा केही पनि ज्ञान नभएको अनुभूति भएको शर्माले स्मरण गरिन् ।
‘दुस्मनले निसाना लगाएको भए सिधै हाम्रो कमाण्डरको टाउको उड्न सक्थ्यो, त्यस्तो ठाउँमा उभिएर कासन गर्नुभयो । युद्धका यस्ता नियम पहिले जानकारी पाउनुभन्दा पनि फिल्डमा गएर आफैँले सिक्यौँ’, उनले भनिन् ।
डोल्पाको दुनै, दाङको घोराही आक्रमणमा पनि आफू सहभागी भएको शर्माले बताइन् । उनले पनि युद्धकै अवस्थामा बच्चा जन्माएको स्मरण गरिन् ।
‘बच्चा ६ महिनाको हुँदा दाङको रामपुरस्थित हामी बसेको ठाउँमा सेनाले घेरा हालेको थियो । राति ८ बजे घर छोड्नुपर्ने भयो । त्यो गाउँभन्दा पारी जंगलमा गएर रातभरि बसेका थियौँ । यस्ता धेरै कहानी छन्’, उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेडापालनलाई प्रवर्द्धन गर्न प्रदेश सरकारले किसानलाई दियो गोठालो भत्ता
-
१२ बजे, १२ समाचार : त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी खारेजदेखि आईजीपी वसन्त कुँवरसहित ९ जनाको अवकाशसम्म
-
सिमरा उपमहानगरका वडाध्यक्ष सुनिल गुप्ता पक्राउ
-
‘हान’लाई मजदुर सङ्गठनको ध्यानाकर्षणपत्र
-
एक महिलाको मृत्यु प्रकरणको अनुसन्धानका लागि चार जना नियन्त्रणमा
-
नेविसंघ नेता दाहालको मर्ने र मार्ने धम्की