एनआरएनएको भूमिका कस्तो चाहन्छ नयाँ पुस्ता ?
![एनआरएनएको भूमिका कस्तो चाहन्छ नयाँ पुस्ता ?](https://npcdn.ratopati.com/media/news/rubina-sharma_hDNC6d9j0e.jpg)
लन्डन । विश्वका ८७ मुलुकमा फैलिएको करिब ८० लाख गैरआवासीय नेपालीलाई प्रतिनिधित्व गर्ने साझा संस्था भनिँदै आएको गैरआवासीय नेपाली संघप्रति नयाँ पुस्ता भने खासै उत्साहित देखिँदैनन् ।
आफूहरूलाई नेतृत्व वर्गले बुझाउन नसकेको र आफूहरूले पनि उनीहरूको धारणा बुझ्न नसकेका कारण नयाँ पुस्ताका युवा संघमाझ अन्यौलता छाएको गैरआवासीय नेपाली संघ, बेल्जियमकी महासचिव रुविना शर्मा बताउँछिन् । वर्तमान नेतृत्व नेपाली राजनीतिसँग गाँसिएका कारण पछिल्लो समय संस्थाभित्र विवाद बढेको र नयाँ पुस्ताबिचको दुरी बढेको रुविनाको धारणा छ ।
प्रायजसो नयाँ पुस्ताका युवा बौद्धिक क्षेत्रमा निकै अनुभवी भएकाले उनीहरूको सीप र क्षमताको कदर गर्दै नेपालसँग जोड्ने पहल गर्न उनको आग्रह छ । अनुमानकै भरमा पार्टीको ट्याग लगाइदिने प्रवृत्तिले गर्दा स्वतन्त्र रूपमा काम गर्न चाहनेहरू पनि निरुत्साहित बन्दै गएको उनको बुझाइ छ ।
गैरआवासीय नेपाली संघ अहिले नेपाली नागरिकता त्यागेर विदेशको नागरिकता ग्रहण गरेकाका लागि मात्र बढी केन्द्रित रहेको तर विदेशमा जन्मिएर उतैको नागरिक बनिसकेकालाई नेपालप्रति आकर्षण गर्ने सम्बन्धमा भने सोच्न नसकेको उनको आरोप छ । यदि उनीहरूलाई समेट्न नसक्ने हो भने भविष्यमा नेपालसँग उनीहरूको दुरी झन् बढ्न जाने निश्चित रहेको उनले बताइन् ।
एक दशक बढी समयदेखि बेल्जियममा छिन् रुविना । विगत ३ वर्षदेखि एनआरएनएमा सक्रिय रूपमा लागेर समुदाय र नेपालको आर्थिक, सामाजिक एवं सांस्कृतिक विकासका लागि सक्दो पहल गर्दै आएकी छन् उनी ।
'संघको महासचिव जस्तो जिम्मेवारी सम्हालेर नेपालीको मुद्दामा बोल्ने र नेपालसँग जोडिएर काम गर्ने प्लेटफर्म पाएको छु, निस्वार्थ रूपमा काम गर्दै आएको छु र भावी दिनमा पनि निरन्तर लाग्नेछु', उनले भनिन् ।
छोटो समयमा धेरै जनासँग जोडिएर काम गर्दा ख्याति कमाउन सफल भएको उनको अनुभव छ । अघिल्लो पुस्ताले पनि आफूहरू जस्ता युवालाई चिन्न सकेर पछिल्लो नयाँ सन्ततिहरूलाई पनि सहज रूपमा समेट्ने वातावरण बनाउन सक्नुपर्ने सुझाव उनले दिइन् ।
भविष्यमा एनआरएनए बेल्जियमको उच्च नेतृत्व सम्हाल्ने लक्ष्य लिएर अघि बढेकी शर्मा संस्थालाई विदेशमा बस्ने सम्पूर्ण नेपालीहरूको साझा संस्थाको रूपमा अघि बढाउनुपर्नेमा जोड दिन्छिन् । १३ वर्षको उमेरमा आमाबाबुका साथमा बेल्जियम पुगेकी शर्मा अहिले नेपाली भाषा र संस्कृतिको प्रवर्धनमा लागेकी छन् ।
बेल्जियममै जन्मिएका बालबालिका र अभिभावक तथा आफन्तबिच नेपाली भाषाकै कारण दूरी बढ्दै गएको र निकट भविष्यमा विदेशमा जन्मिएका बालबालिकाहरूमा नेपाली भाषा लोप हुन सक्ने चिन्ताले उनलाई पिरोलेको छ । यसका लागि बेलैमा केही गर्नुपर्छ भन्ने लागेपछि हाल उनी बेल्जियममा निःशुल्क नेपाली भाषा कक्षा सुरु गर्दै आएकी छन् ।
'नेपाली भाषा, कला संस्कृति र परम्परा संसारभर परिचित गराउन प्रयत्नशील रहेको छु, तर एकजनाले मात्र यो कुरा सम्भव नहुने भएकाले सबैको सामूहिक पहल जरुरी छ', उनले भनिन् ।
विशेष गरी विदेश बस्ने पछिल्लो पुस्ता नेपाली मौलिक चाडपर्व, भेसभुसा र रहनसहनबारे अनभिज्ञ हुँदै गएकाले उनीहरूलाई यसबारेमा पनि जानकारी गराउन जरुरी देख्छिन् उनी । विभिन्न खालका मेला, महोत्सव आयोजना गरी नेपाली सांस्कृतिक कार्यक्रम आयोजना गर्न सके नयाँ पुस्तालाई आकर्षण गर्न सकिने उनले बताइन् ।
विगतमा आयोजना गरिएका कतिपय कार्यक्रममा किशोर किशोरीहरूको उत्साहजनक उपस्थिति रहने गरेको पनि उनले सुनाइन् । आफ्नो व्यक्तिगत समय समाजका लागि खर्चिन पाउँदा आफूलाई आत्मसन्तुष्टि मिल्ने उनी बताउँछिन् ।
उनी गत साता लन्डन आएर सम्मानित भइन् । सामाजिक क्षेत्रमा विशेष योगदान पुरयाएवापत सेन्टर फर नेपलिज कल्चर एन्ड नेपाल सेन्टर युकेले बेलायतको वेस्टमिन्स्टरस्थित हाउस अफ लर्डसमा एक समारोहबीच शर्मालाई हिमालय अवार्डद्वारा सम्मान गरेको हो ।
नेपाली संस्कृतिको विश्वव्यापी प्रवर्धन गर्ने उद्देश्यले विदेशमा नेपाली संस्कृतिको प्रवर्धनमा आफ्नो कामलाई निरन्तरता दिन र दिलाउन महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका विभिन्न मुलुकका ७ व्यक्तित्वसहित उनी सम्मानित भएकी थिइन् । उक्त समारोहमा हाउस अफ लर्डसकी सदस्य ब्यारोनेस वर्माले अवार्ड प्रदान गरेकी थिइन् । त्यसो त उनले बेल्जियममा पनि मेम्बर अफ द जुनियर लगायत थुप्रै प्रशंसा पाइसकेकी छन् ।
बेल्जियममा पछिल्लो पुस्ता पढाइ छाडेर लागू औषध दुर्व्यसनको सिकार बन्दै गएकोमा उनी चिन्तित छिन् । उनीहरूलाई समयमै सचेत गराउन नसके नेपालीमुलका बालबालिकामा नराम्रो असर पर्न जाने चिन्ता उनले व्यक्त गरिन् ।
बेल्जियममा थुप्रै संघसंस्था छन्, नेपाली नेपालीबिच मात्र सीमित नरहेर उनीहरूसँग पनि सहकार्य गर्न सकेमा धेरै सेवा र सहयोग प्राप्त गर्न सकिन्छ । यसका लागि आफूले सक्दो पहल गर्दै आएको र एनआरएनएको तर्फबाट पनि थप पहल गरिनुपर्ने शर्माले बताइन् ।
बेल्जियममा हाल करिब १० हजार नेपाली बसोबास गर्छन् । प्राय नेपाली रेस्टुरेन्ट तथा हस्पिटालिटी व्यवसायमा संलग्न पनि छन् । कतिपय नेपालीहरूले कानुन तथा इन्जिनियरिङ क्षेत्रमा समेत आफूलाई स्थापित गरिसकेका छन् ।
अध्ययन गर्न चाहनेले ११ र १२ घरमै पढेर पनि डिप्लोमा गर्न पाउने व्यवस्था त्यहाँ छ । जीवनयापनका लागि खासै समस्या नभए पनि भाषागत समस्याका कारण बैंक, अस्पताल, प्रहरीलगायतका विभिन्न निकायमा अझै पहुँच हुन नसकेको उनको धारणा छ । बेल्जियममा हालसम्म पनि आधिकारिक दोभासेको रूपमा नेपालीहरू नरहेका उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत र पाकिस्तानबिच गोली हानाहान, कम्तीमा चार जनाको मृत्यु
-
नयाँ शक्तिको अध्यक्षमा डा. बाबुराम भट्टराई अत्यधिक मतले अगाडि
-
महान् १० वर्षे जनयुद्धका उपलब्धि
-
शरतसिंह भण्डारीको मन्त्री पद धरापमा !
-
‘एउटा अध्यादेशले त पसिना काढ्नुपरेको छ, संविधान संशोधन धेरै परको कुरा हो’
-
जनयुद्धले उठान गरेका मुद्दा नै गणतन्त्रको आधारशिला