बिहीबार, ०१ फागुन २०८१
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : जनयुद्ध दिवस

बिरामी पत्नीको उपचारका लागि बिदा लिएर हिँडेका शर्मा कहिल्यै नफर्कने गरी अस्ताए

बिहीबार, ०१ फागुन २०८१, १० : १२
बिहीबार, ०१ फागुन २०८१

सुर्खेत । गणेश प्रसाद शर्मा ५० को दशकको सुरुवातदेखि नै सरकारी जागिरे थिए । उनको रोजाइ थियो दैलेख । सुरुमा दैलेखकै डाँडीमाडीमा नियुक्ति पाएका उनी साविकको लालीकाँडा गाविसका सचिव थिए । शर्मा कम्युनिस्ट विचार धारा मन पराउँथे । सरकारी जागिरे भए पनि उनले माओवादीले थालेको सशस्त्र संघर्षलाई भित्रभित्रै विभिन्न प्रकारले सहयोग गरिरहेका थिए ।

०५५ साल वैशाखतिर शर्माकी श्रीमती शान्ति ढकाल सुर्खेतको दशरथपुरस्थित घरमा बिरामी परिन् । त्यसपछि उनले दैलेख जिल्लाका एलडीओलाई सम्पर्क गरिन् र भनिन्, ‘सर ! म निकै बिरामी भएँ, सर (आफ्नो पति) लाई भनिदिनुपर्‍यो ।’

सुर्खेतकै दशरथपुरमा बस्थे शान्तिका परिवार । साथमा ४ वर्षका छोरा र ६ वर्षकी छोरी थिए । त्यहीँको प्रभात प्राविमा पढाउँथिन् शान्ति ।

उनको पीडा बुझेर एलडीओले पनि गणेशलाई खबर गरिदिए । गणेशले निधो गरे– गाविसको कार्यालयका लागि चाहिने सामान पनि ल्याउनुपर्‍यो, परिवारलाई पनि भेट्नुपर्‍यो ।

त्यो बेला धेरैजसो सामग्रीका लागि वीरेन्द्रनगर आउनुपर्थ्यो । वैशाख २२ गते बिहान शर्माले कार्यालयमा पुगेर हाजिर गरे । अनि तत्कालीन लालीकाँडा गाविसका अध्यक्ष मोतिराम खड्का, सामान बोक्ने स्थानीयसहित उनी सुर्खेततिर लागे ।

दैलेखकै टिम्मपुरकोट पुगेपछि शर्मा आफ्नो परिवारलाई भेट्न दशरतपुरतर्फ लाग्नुपर्ने भयो भने अध्यक्षसहित सामान बोक्न आएकाहरू वीरेन्द्रनगरतर्फ लागे ।

शान्ति भन्छिन्, ‘कार्यालयको सामान किन्न ल्याएको तीन लाख रकम अध्यक्षलाई बुझाउनु भएको रहेछ, खर्च छैन भनेर एक हजार रुपैयाँ माग्नुभएको रहेछ ।’

घरमा बिरामी जीवनसाथीलाई भेट्न हिँडेका गणेश राज्यपक्षबाट बेपत्ता पारिए । यता शान्ति श्रीमानको बाटो कुरेर बसेकी थिइन् । ‘अहिलेको जस्तो फोन थिएन । हामी त आउनुहुन्छ होला भन्ने पर्खाइमा थियौँ,’ शान्तिले भनिन्, ‘तर उहाँ आउनु भएन ।’

टिम्मुरकोट नजिकैबाट गणेशलाई प्रहरीले समातिसकेको रहेछ । ६ दिनसम्म चरम यातनापछि ०५५ वैशाख २७ गते दर्दनाक तरिकाले उनको हत्या गरिएको रहस्य मानव अधिकार टोलीको अनुगमनका क्रममा खुल्यो । गणेशसँगै जाजरकोटकै डिला थापा भन्ने एक माओवादी पक्षधर कार्यकर्ताको पनि हत्या भएको थियो ।

शान्तिका अनुसार उनीहरू दुई जनाको हत्या भएको स्थानबारे भने अझै यकिन छैन । ‘पछि वीरेन्द्रनगरबाट मानवअधिकारको टोलीसँगै हामी टिम्मुरकोट जाँदा जताततै रगत बगेको पाइयो,’ उनले भनिन्, ‘फरक–फरक ठाउँमा हत्या गरेर लासचाहिँ सँगै जलाएको हो वा के हो, अझै पत्तो छैन ।’

गणेशको राज्यपक्षबाट हत्या भएको खबर उनले २९ गतेमात्रै थाहा पाइन्, त्यो पनि अपुष्ट । जबकि त्यो बेला प्रहरीले वीरेन्द्रनगर ल्याएर पोष्टमार्टम गर्नुका साथै झुप्रा खोला र भेरी नदीको मिलन हुने ठाउँ नजिकै २८ गते राति जलाइसकेको थियो ।

शान्ति श्रीमान् आएपछि उपचारका लागि वीरेन्द्रनगर (बजार) जाने योजनामा थिइन् । श्रीमान् नआएपछि एक्लै भए पनि वीरेन्द्रनगर आउने सोच उनले बनाइन् । स्कुलमा बिहानतिर पढाइ हुन्थ्यो । उनका अनुसार बिहान पढाएर दिउँसो उपचारका लागि वीरेन्द्रनगर जाने र त्यहीँबाट श्रीमानसँग फोन गर्ने योजना थियो तर स्कुल पुग्दा कोही बोल्दैनन्, सबैतिर सन्नाटा छाएजस्तो ।

‘धेरैले हत्या गरेर पनि जलाइसकेको कुरा अघिल्लै बेलुका थाहा पाइसकेका रहेछन्,’ शान्तिले भनिन् । त्यहीबेला बलभद्र भारतीले सुरक्षा कारबाहीमा दुई जना मारिएको र गणेशजी पनि त्यसमा परेको रे भन्ने खबर आएको उनलाई सुनाए ।

photo-3

शान्ति छाँगाबाट खसेजस्तै भइन् । अपुष्ट खबर थियो त्यो तर भारतीले घटना जेसुकै भए पनि ‘अब वीरेन्द्रनगर जाउँ, कुरा पनि बुझिने र औषधि उपचार पनि हुने भनेर शान्तिलाई सल्लाह दिए । भारतीसँगै उनी वीरेन्द्रनगरतर्फ लागिन् ।

एकैपटक (३० गते) भेरीको पुल (गणेशको लास जलाएको ठाउँ) नजिक आइसकेपछि ‘हिजो यहाँ दुई जना कलिला मान्छेलाई ल्याएर राति प्रहरीले जलाएर फाल्दियो’ भन्ने कुराबाहेक अरु केही थाहा नपाएको शान्ति बताउँछिन् ।

त्यसपछि उनी वीरेन्द्रनगर आइन् तर समाचार अपुष्ट नै थियो । एक पत्रिकामा गणेश प्रसाद न्यौपानेसहितको हत्या गरिएको भन्ने समाचार थियो ।

वीरेन्द्रनगर नगरपालिका–८ स्थित आफ्नै निवासमा रातोपाटीसँग कुरा गर्दै शान्तिले भनिन्, ‘श्रीमानले न्यौपाने लेखेको मैले कहिल्यै थाहा पाइनँ, मेरो बिहे भएदेखि नै शर्मा भनेको, लेखेको थाहा थियो । कतै होइन कि भन्ने पनि लायो । अहिलेजस्तो मोबाइल फोनको समय थिएन ।’

आफ्नै श्रीमान् हो भन्ने कुनै प्रमाण नदेखिएपछि काजक्रिया गर्न मन नलागेको उनले बताइन् । उनले भनिन्, ‘नाम पनि अपुष्ट, उहाँ नै हो भन्ने कुनै यकिन तथ्य भएन, कपडाको केही टुक्रा दिए पनि आफ्नो श्रीमानको कपडा त थाहा हुन्थ्यो । लास पनि जलायो, चिन्ने कुनै प्रमाण पनि भएन । त्यसपछि काजक्रिया गर्न गाह्रो भयो । विनाप्रमाण कसरी काजक्रिया गर्ने ? कतै पछि घर पो आउनुहुने हो कि भन्ने मनमा कुरा खेले ।’

तर गणेश कहिल्यै घर फर्किएनन् । शान्तिले दुई वर्षअघि छोराको विवाह गर्नुपूर्व पतिको क्रिया गरिन् । हत्या भएको बेला गणेश जम्मा ३३ वर्षका थिए । उनी पार्टीभित्र ‘प्रभात’ नामले चिनिन्थे । शान्तिले पछि बुझ्दा गणेशलाई चरम यातना दिइएको थियो ।

  • ‘हत्या गर्नुअघि नै ३ महिना जेल’

शान्तिका अनुसार हत्या हुनु अगावै उनका पतिलाई तीन महिना जेल हालिएको थियो । शर्माले ७/८ कक्षामा पढ्दै गर्दादेखि नै मोहन वैद्य ‘किरण’बाट कम्युनिस्ट विचारधाराको विषयमा प्रशिक्षण लिएका थिए रे । शान्तिको बुझाइमा उनको व्यवहार पनि निकै सरल, कम्युनिस्टसँग मिल्दोजुल्दो नै थियो ।

‘बोली, व्यवहार कम्युनिस्टसँग सुहाउने, पहिलादेखि नै मोटो मसालमा आबद्ध हुनुहुने रहेछ,’ शान्तिले भनिन् ।

उनका अनुसार घरमा (दशरथपुर) हुँदा पनि उनको कारण माओवादी नेताहरू घरमा आउ–जाउ गरिरहन्थे । जागिरे भइसकेपछि पनि उनले भित्रभित्रै माओवादी युद्धलाई राम्रैसँग मलजल गर्ने काम गरे । त्यो बेला कर्मचारी पाउन निकै मुस्किल हुने ।

शर्माले लालीकाँडासहित पिलाडी गाविसको पनि काम हेर्थे । दुई ठाउँमा काम गर्नुका साथै उनी आन्तरिक रूपमा अडिट लगायका थुप्रै काम गर्थे । जागिरको रकम घरमा ल्याएर शान्तिलाई दिन्थे भने बाँकी कमाएको रकम पार्टीलाई दिन्थे । उनी सरकारी जागिरे भए पनि उक्त व्यवस्थाप्रति भने पूर्णरुपमा असन्तुष्ट थिए ।

‘कसैले गाउँबाट कुरा लगाइदिए होलान्, माओवादी नेतासँग भेटघाट गरेको पनि देखेका थिए सायद,’ शान्ति अनुमान गर्छिन्, ‘तर उहाँले कहिल्यै देखिने गरी काम भने गर्नुभएन ।’

यद्यपि शङ्काकै भरमा ०५४ कात्तिकमा गणेशलाई राज्यविरुद्धको अपराधमा पक्राउ परेर दैलेख जेलमा हालिएको शान्ति बताउँछिन् । गणेश तीन महिना त्यहाँ बसे ।

शान्तिका अनुसार गणेशले नै पढाएका कतिपय विद्यार्थी प्रहरी भएको हुँदा उनलाई खासै यातना दिइएको थिएन । ०५४ माघ १४ गते शान्ति सुर्खेतबाट दैलेख गइ १० हजार धरौटी बुझाएपछि १७ गते उनी छुटे । शान्ति निराश हुँदै भन्छिन्, ‘बरु त्यो बेला जेलमै रहन दिएको भए कम्तीमा बाँच्नुहुन्थ्यो कि भन्ने कुरा अहिले मनमा खेल्छ ।’

बाहिर निस्किएपछि पनि गणेशले पटक–पटक तारिख धाउनुका साथै जम्मा १ पटकमात्रै घर आएका थिए । भित्तामा टाँगिएको गणेशको तस्बिर हेर्दै शान्तिले भनिन्, ‘मेरो त खुसी लुटियो । कठोर संघर्ष गर्नुपर्‍यो ।’

१० वर्षे सशस्त्र युद्धमा ज्यान गुमाउनेमध्ये गणेश सुर्खेतबाट पहिलो व्यक्ति हुन् । अहिले माओवादी पार्टीले सुर्खेतको पहिलो सहिद भनेर शर्माको सम्झनामा बर्सेनि कार्यक्रम गर्छ ।

  • गणेशको हत्यापछि शान्तिले भोगेको कष्टकर जीवन

दुई वटा टुहुरा बालबच्चा । श्रीमानको हत्यापछि शान्ति झन् असुरक्षित भइन् । श्रीमानको हत्या भइसकेपछि सासुससुरा गणेशको पुरानो घर महेन्द्रनगर फर्किए, जुन घरमा शान्ति र गणेशले ०४६ वैशाखमा विवाह गरेका थिए ।

शान्तिले २७ वर्षकै उमेरमा श्रीमान गुमाउनुपर्‍यो । शान्ति बालबच्चासहित वीरेन्द्रनगरमै भाडामा बस्न थालिन् । उता शान्तिको गाउँको घरमा भने राज्यपक्षबाट ताला ठोकियो । ७ वर्षसम्म उक्त ताला घरमा झुण्डिएको र शान्तिवार्ताका क्रममा मात्रै प्रहरी आफैँ गएर ताला खोलिदिएको शान्तिको भनाइ छ ।

श्रीमानको हत्यापछि उनी पढाउनका लागि दशरथपुर जान सकिनन् । घरमा ताला ठोकिएपछि वीरेन्द्रनगरमै बस्ने उद्देश्यसहित उनी सरुवा मिलाउनतर्फ लागिन् । त्यतिबेलाका जिल्ला शिक्षा अधिकारीसँग उनको झगडा नै भयो ।

‘काखे बालक (छोरा)लाई सँगै हिँडाउनुपर्ने,’ उनी सम्झिन्छिन्, ‘शिक्षा कार्यालयका मान्छेहरू म जाँदा निकै हेपेर बोल्ने, सामन्ती व्यवहार गर्थे । अहिले त सम्झँदा पनि रुन मन लाग्छ ।’

६ महिनाको सङ्घर्षपछि केही समय काजमा खजुराकै एक प्रावि र ०५५ भदौपछि वीरेन्द्रनगर नगरपालिका–१०, को मंगलगढी प्रावि दीपनगरमा उनले पढाउन थालिन् । सरुवाका लागि त्यतिबेलाका शिक्षकहरूको संगठनका मान्छेहरूले आफूलाई सहयोग गरेको उनी बिर्सन सक्दिनन् । त्यही विद्यालयमा लगातार २६ वर्ष अध्यापन गरिन्, प्रधानाध्यापक बनेर उक्त स्कुललाई उत्कृष्ट बनाइन् । उत्कृष्ट शिक्षकका लागि प्रतिष्ठित स्वर्ण पदक पनि उनले प्राप्त गरिन् ।

देश शान्ति प्रक्रियामा आउनुअघि सुर्खेतमा कुनै घटना भयो कि प्रहरीको प्रथम लिस्टमा पर्थिन् शान्ति । सहिद परिवार भनेर उनको वीरेन्द्रनगर–८, स्थित घरमा मान्छेको आवत–जावत बढ्न थाल्यो । उनी झनै असुरक्षित हुन थालिन् । यतिसम्मकि उनलाई त्यो बेला वीरेन्द्रनगरबाट बाहिर जान अनुमतिसमेत थिएन । श्रीमान् गुमाएपछि पार्टीभित्र उनी ‘सन्ध्या’ उपनामले सक्रिय भएर काम गर्न थालिन् । वीरेन्द्रनगर बाहिर जान अनुमति नभए पनि उनी पार्टीको कामका लागि रातकै समयमा जाने र रातमै फर्कने गरेको सुनाउँछिन् ।

‘त्यो बेला सुर्खेतका कतै घटना भयो भने प्रहरी मलाई समाउन आइहाल्थ्यो, ६५ पटकभन्दा बढी पक्राउ गरी हिरासतमा लियो,’ शान्तिले भनिन् । त्यो बेला प्रहरीकै सञ्चार शाखाका मान्छेले धेरै सहयोग गरेको उनी बताउँछिन् ।

‘ममी यति पटक पक्राउ हुनुभयो भनेर हामी गनेर बस्थ्यौँ,’ नजिकै रहेका उनका छोरा आशिषले रातोपाटीसँग भनिहाले, ‘निकै तनाव हुन्थ्यो तर ममीले पार्टीलाई धेरै सहयोग गर्नुभयो ।’

शान्तिका अनुसार जिल्ला प्रहरी कार्यालयभित्र नेपालको नक्सा राखिएको थियो । त्यस वरपर केही माओवादीका नेताहरूको तस्बिर थियो । त्यसमा सबैभन्दा ठुलो तस्बिर शान्तिकै थियो । पक्राउ गरेपछि प्रहरीका हाकिमले थर्काउँदै भन्थे रे, ‘तँ त ठुली मान्छे होस्, भेक (भेरी, कर्णाली)को इन्चार्ज तैँ होस्, फलानालाई तैँले मार भने मार्छन्, तँ त मभन्दा ठुली होस्, त्यही भएर तेरो तस्बिर ऊ हेर, ठुलो बनाएर राखेको छु ।’

  • शान्ति प्रक्रियापछि

२७ वर्षकै उमेरका श्रीमान गुमाएकी शान्ति ढकाल आफ्नो जिन्दगी नाफाको भएको बताउँछिन् । उनी भन्छिन्, ‘अहिले पनि ती घटनाले पिरोल्छन् । मेरो जीवनको खुसी लुटिएको २७ वर्ष भयो ।’

यद्यपि उनी कतै विचलित भइनन् । छोरी र छोरालाई हुर्काइन् । शिक्षक भएकाले होला– छोराछोरीले शिक्षा–दीक्षा राम्रै पाए । अहिले छोराछोरी दुवै डाक्टर छन् । बुहारी र ज्वाइँ पनि ‘डाक्टर’ छन् । यद्यपि अझै सहिद परिवारले न्याय नपाएकोप्रति शान्ति दुःखी छन् ।

०७९ को स्थानीय तहको निर्वाचनमा माओवादी पार्टीले उनलाई वीरेन्द्रनगर नगरपालिकाको उपमेयरको उम्मेदवार बनायो । स्कुलको प्रधानाध्यापकबाट उनले राजीनामा दिइन् । यद्यपि उनले चुनाव भने जित्न सकिनन् । वीरेन्द्रनगरमा माओवादीको जनाधार कमजोर छ । पार्टीमा भने सक्रिय छिन् उनी ।

नेपाल शिक्षक महासंघको केन्द्रीय सचिवदेखि पार्टी निकट शिक्षक संगठनको केन्द्रीय उपाध्यक्षदेखि, प्रदेश इन्चार्जसम्म भइन् । पार्टीमा अहिले प्रदेशको सचिवालय सदस्य हुनुका साथै सहिद परिवार समाजको प्रदेश इन्चार्ज, सुर्खेत अध्यक्ष तथा केन्द्रीय सदस्य छिन् ।

शान्तिको अहिले गुनासो छ, ‘पछिल्लो समय पार्टीभित्र आफन्तवाद, परिवाद मौलायो ।’ नेताहरूको सत्ता मोहले सहिद परिवारहरू ओझेलमा परे, न्याय पाउन सकेनन् । उनले भनिन्, ‘पार्टी जुन रुपले अगाडि बढ्नुपर्थ्यो, बढ्न सकेन । जुन परिवर्तन ल्याउने उद्देश्य थियो, त्यसमा विचलन आयो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप