शनिबार, ०३ फागुन २०८१
ताजा लोकप्रिय
आईसीसी च्याम्पियन्स ट्रफीको इतिहास

क्रिस गेलको अलराउन्ड प्रदर्शनमा वेस्ट इन्डिजले उपाधि चुमेको चौथो संस्करण

बिहीबार, ०१ फागुन २०८१, ०९ : ५३
बिहीबार, ०१ फागुन २०८१

काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको चौथो संस्करण सन् २००४ मा इङ्ल्यान्डमा आयोजना भएको थियो । प्रतियोगिता सेप्टेम्बर १० देखि २५ तारिखसम्म सञ्चालन भएको थियो । अघिल्लो संस्करणजस्तै चौथो संस्करणमा पनि १२ वटा टोलीले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा इङ्ल्यान्ड आयोजकका रूपमा सहभागी थियो भने आईसीसी वरीयताको माथिल्लो स्थानमा रहेका १० टोलीले सिधै प्रतियोगितामा स्थान पाएका थिए । यतिबेला पनि केन्या आईसीसीको पूर्णकालीन सदस्य राष्ट्र रहेको थियो । 

यसका अतिरिक्त चौथो संस्करणमा अमेरिकाको पनि सहभागिता रहेको थियो । च्याम्पियन्स ट्रफीको इतिहासमा अमेरिकाको त्यो पहिलो सहभागिता थियो । अमेरिका सन् २००४ मै खेलिएको ‘आईसीसी सिक्स नेशन्स च्यालेन्ज’ को ढोका हुँदै च्याम्पियन्स ट्रफीसम्म पुगेको थियो । 

यसपटक पनि प्रतियोगितामा सहभागी १२ टोलीलाई चारवटा समूहमा विभाजन गरिएको थियो । अघिल्लो संस्करणजस्तै चारवटै समूहको पहिलो स्थानमा रहने टोली सिधै प्रतियोगिताको सेमिफाइनलमा पुग्ने प्रावधान राखिएको थियो ।

प्रतियोगिताको समूह ‘ए’ मा अस्ट्रेलिया, न्युजिल्यान्ड र अमेरिका रहेका थिए । उक्त समूहबाट दुईवटै खेलमा विजयी भएको अस्ट्रेलिया चार अंकसहित पहिलो हुँदै सेमिफाइनलमा पुगेको थियो । न्युजिल्यान्ड भने दुईमध्ये एक खेलमात्र विजयी भएको थियो ।

66030

यसैगरी, प्रतियोगिताको समूह ‘बी’ मा वेस्ट इन्डिज, दक्षिण अफ्रिका र बंगलादेश रहेका थिए । उक्त समूहबाट दुवै खेल जितेको वेस्ट इन्डिज चार अंकसहित सेमिफाइनलमा पुगेको थियो । दुई अंकमात्र बटुल्न सकेको पूर्वविजेता दक्षिण अफ्रिका भने पहिलो चरणबाट घर फर्कन बाध्य बनेको थियो ।

यसैगरी, समूह ‘सी’ मा पाकिस्तान, भारत र केन्य रहेका थिए । उक्त समूहबाट दुईवटै खेलमा विजयी भएको पाकिस्तान चार अंकसहित विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको थियो । दुई अंकमात्र जोड्न सकेको साबिक भारत भने समूहगत चरणबाटै बाहिरिएको थियो ।

130688

यसैगरी, समूह ‘डी’ मा इङ्ल्यान्ड, श्रीलंका र जिम्बाबे रहेका थिए । उक्त समूहबाट दुईवटै खेलमा विजयी भएको इङ्ल्यान्ड चार अंकसहित पहिलो हुँदै सेमिफाइनलमा पुगेको थियो । दुई अंकमात्र बटुल्न सकेको साबिक विजेता श्रीलंका भने समूहगत चरणबाट घर फर्कन बाध्य भयो । 

यसैगरी, प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा इङ्ल्यान्डले अस्ट्रेलियालाई ६ विकेटले हराएको थियो । प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा भने वेस्ट इन्डिजले पाकिस्तानलाई सात विकेटले पाखा लगाएको थियो ।  

सेप्टेम्बर २५ तारिखमा दी ओभलमा खेलिएको फाइनल खेलमा वेस्ट इन्डिजले बलियो इङ्ल्यान्डलाई दुई विकेटले हराउँदै उपाधि चुमेको थियो । क्यारेबियन टोलीले च्याम्पियन्स ट्रफीको उपाधि जितेको यो पहिलो पटक थियो । 

360173

चौथो संस्करणमा इङ्ल्यान्डका मार्कस ट्रेस्कोथिक सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा पहिलो स्थानमा रहेका थिए । उनले चार खेलमा कुल दुई सय ६१ रन बनाएका थिए । यस क्रममा उनले एक शतक र दुईवटा अर्धशतक प्रहार गरेका थिए ।

सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा वेस्ट इन्डिजका रामनरेश श्रवण दोस्रो स्थानमा थिए । उनले चार पालीमा कुल एक सय ६६ रन बनाएका थिए । तेस्रो स्थानमा आसीन न्युजिल्यान्डका नाथन एस्लेले दुई पालीमा एक सय ६३ रन बनाएका थिए ।

यो सूचिमा चौथो स्थानमा रहेका इङ्ल्यान्डका पल कोलिङ्उडले चार पालीमा कुल एक सय ४१ र पाँचौँ स्थानमा आसीन वेस्ट इन्डिजका क्रिस गेलले पनि चार पालीमै कुल एक सय ३९ रन जोडेका थिए । 

सर्वाधिक विकेट लिने बलरको सूचिमा भने इङ्ल्यान्डका एन्ड्र्यू फ्लिनटफ पहिलो र इङ्ल्यान्डकै स्टिभ हार्मिसन दोस्रो स्थानमा रहेका थिए । फ्लिनटफले कुल नौ र हार्मिसनले आठ विकेट लिएका थिए । तेस्रो स्थानमा आसीन अस्ट्रेलियाका माइकल कास्प्रोविच र चौथो स्थानमा आसीन वेस्ट इन्डिजका क्रिस गेलले सात–सात विकेट लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप