व्यवस्था बदले पनि जनताको अवस्था बदल्ने कार्यभार अझै पूरा भएको छैन : प्रचण्ड
![व्यवस्था बदले पनि जनताको अवस्था बदल्ने कार्यभार अझै पूरा भएको छैन : प्रचण्ड](https://npcdn.ratopati.com/media/news/prachanda_8Irz5tsy3h.png)
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धले व्यवस्था बदले पनि जनताको अवस्था बदल्ने कार्यभार भने अझै पूरा भई नसकेको बताएका छन् । जनयुद्धको ३० औँ वर्षगाँठको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले जनताप्रति इमानदार हुँदै, संघर्षबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गरी समाजवादी क्रान्तिको तयारीमा लामबद्ध हुने ऐतिहासिक अभिभारा बाँकी नै रहेको बताएका हुन् ।
उनले भनेका छन्, ‘दलितका अधिकारहरू संविधानतः सुनिश्चित भए पनि व्यवहारमा अझै विभेद र उत्पीडन कायमै छ । महिलाहरू अझै पनि पूर्ण रूपमा सुरक्षित र स्वतन्त्र हुन सकेका छैनन् । संघीयता अझै संस्थागत भइसकेको छैन। समावेशिता साँचो अर्थमा उपेक्षित र उत्पीडित वर्गलाई राज्यको मूलधारमा ल्याउने गरी पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन । आज हामी क्रान्तिको शान्तिपूर्ण मोर्चामा छौँ । हाम्रा सामु जनविश्वास र जनमतको सम्मानद्वारा समाज रूपान्तरणका बाँकी कार्यभार पूरा गर्ने जिम्मेवारी छ ।’ इतिहासले सुम्पेको यो कार्यभार पूरा गर्न सुशासन र सामाजिक न्यायसहितको समृद्धिका लागि एकजुट हुन उनले आम जनसमुदायमा अपिल पनि गरेका छन् ।
उनले २०५२ फागुन १ गतेलाई नेपाली जनताले सदियौँदेखिको उत्पीडन र शोषणका विरुद्ध विद्रोह सुरु गरेको दिन भनेर स्मरण गरेका छन् । यो दिन नेपाली जनताको ऐतिहासिक संघर्ष र शहीदहरूको बलिदानको सम्मान गर्दै आगामी यात्राका लागि सङ्कल्प गर्ने दिन भएको उनको भनाई छ । उनले भनेका छन्, ‘महान् जनयुद्धको यस ऐतिहासिक दिनमा म देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपाली जनतामा हार्दिक शुभकामना व्यक्त गर्दछु । जनयुद्धका क्रममा आफ्नो अमूल्य जीवन बलिदान गर्ने महान् शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दै, घाइते योद्धाहरूप्रति सम्मानसहित शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’
- यस्तो छ सन्देश
जनयुद्धको ३० औँ वर्षगाँठको हार्दिक शुभकामना
आदरणीय जनसमुदाय,
२०५२ फागुन १ गते, नेपाली जनताले सदियौँदेखिको उत्पीडन र शोषणका विरुद्ध विद्रोह सुरु गरेको दिन । हाम्रा लागि यो दिन नेपाली जनताको ऐतिहासिक संघर्ष र शहीदहरूको बलिदानको सम्मान गर्दै आगामी यात्राका लागि सङ्कल्प गर्ने दिन हो । महान् जनयुद्धको यस ऐतिहासिक दिनमा म देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपाली जनतामा हार्दिक शुभकामना व्यक्त गर्दछु । जनयुद्धका क्रममा आफ्नो अमूल्य जीवन बलिदान गर्ने महान् शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दै, घाइते योद्धाहरूप्रति सम्मानसहित शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
अहिलेको पुस्तालाई जनयुद्ध किन आवश्यक थियो र यसले के उपलब्धि हासिल गर्यो भन्ने प्रश्न मनमा लाग्न सक्छ । यो प्रश्न गर्दा जनयुद्ध नभएको भए हामी कहाँ हुन्थ्यौँ भन्ने कुरा बुझ्नु जरुरी हुन्छ । यो देशमा सामन्ती शोषण थियो । एउटा वंश र त्यसको वरिपरि घुम्ने सामन्तहरूले जनताको भाग्यको फैसला गर्ने गर्दथे । दलित, महिला, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु लगायतका वर्ग र समुदायमाथि चरम विभेद र उत्पीडन थियो । त्यो स्थितिमा टालटुल र सुधार गरेर समाजको आमूल रूपान्तरण सम्भव थिएन । यसका विरुद्ध प्रतिरोधको अनिवार्यता नै जनयुद्धका रूपमा प्रकट भएको हो।
इतिहासमै पहिलोपटक युगौँदेखि दबाइएका दलित, जनजाति, मधेसी, थारु, महिला, मुस्लिम, सुदूरपश्चिम र कर्णालीबासी लगायत उत्पीडित समुदाय र क्षेत्रसहित आम जनता आफ्ना अधिकारको रक्षाका लागि संघर्षमा होमिए । जनताले यो स्तरको प्रतिरोध नगरेको भए हामी अहिले पनि सामन्ती शोषणमै हुने थियौँ । राजनीतिक अधिकारदेखि समाजमा यो स्तरको चेतनाको विकास हुने थिएन । त्यसैले जनयुद्ध आधुनिक नेपाली राजनीतिको एक महान् परिघटना थियो, हामी यसमा गर्व गर्छौँ ।
आदरणीय जनसमुदाय,
जनताको यही प्रतिरोधका कारण आज राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । जनताले चुनेका प्रतिनिधिहरूबाट संविधान बनेको छ र शासनसत्तामा उत्पीडित समुदायको प्रतिनिधित्व सुनिश्चित हुने बाटो खुलेको छ । सिंहदरबारमा मुट्ठीभर उच्च सम्भ्रान्त वर्गका हातमा रहेको शक्ति गाउँघरमा पुगेको छ । देशमा तीन तहको सरकारको स्थापना भएको छ । राज्यसत्तामा समानुपातिक समावेशिता सुनिश्चित भएको छ । धर्मनिरपेक्षता कायम भएको छ । आज शासनका हरेक तहमा महिलाहरूको प्रतिनिधित्व अनिवार्य भएको छ । दलितहरूको उपस्थिति सम्भव भएको छ। जनयुद्ध नभएको भए यसखालको अधिकारप्रतिको जागरण, प्राप्ति र यसको अभ्यास सम्भव थिएन।
हामी एउटा विशिष्ट परिस्थितिमा शान्ति सम्झौतामार्फत शान्ति प्रक्रियामा सहभागी भयौँ । यो हामीले गरेको नयाँ प्रयोग हो । इतिहासमै पहिलोपटक नेपाली जनताका अधिकार संविधानमार्फत संस्थागत गर्न सफल भयौँ । राज्यको पुनर्संरचना गरियो । समृद्धि, न्याय र समानताका लागि आधार तयार भयो। यो जनयुद्धकै कारण सम्भव भएको हो । यो प्रक्रियामा हामीबाट कतिपय कमीहरू पनि भए तर हाम्रो नियतमा कहिल्यै खोट थिएन । हामी यथास्थितिमा बस्न चाहेनौँ । हामी नेपाली जनता र नेपाली समाजको अग्रगमनका पक्षमा निरन्तर लागिरह्यौँ । त्यसैले, हामी खुला हृदयका साथ आफ्ना कमजोरीको पनि समीक्षा गर्दै अघि बढिरहेका छौँ ।
आदरणीय जनसमुदाय,
आजको दिन हामीले के हासिल गर्यौँ र के गर्न बाँकी छ भन्ने समीक्षाको दिन पनि हो । हाम्रो संघर्षले व्यवस्था बदलियो तर जनताको अवस्था बदल्ने हाम्रो कार्यभार भने अझै पूरा भइसकेको छैन । दलितका अधिकारहरू संविधानतः सुनिश्चित भए पनि व्यवहारमा अझै विभेद र उत्पीडन कायमै छ । महिलाहरू अझै पनि पूर्ण रूपमा सुरक्षित र स्वतन्त्र हुन सकेका छैनन् । संघीयता अझै संस्थागत भइसकेको छैन। समावेशिता साँचो अर्थमा उपेक्षित र उत्पीडित वर्गलाई राज्यको मूलधारमा ल्याउने गरी पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन ।
आज हामी क्रान्तिको शान्तिपूर्ण मोर्चामा छौँ । हाम्रा सामु जनविश्वास र जनमतको सम्मानद्वारा समाज रूपान्तरणका बाँकी कार्यभार पूरा गर्ने जिम्मेवारी छ । जनताप्रति इमानदार हुँदै, संघर्षबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गरी समाजवादी क्रान्तिको तयारीमा लामबद्ध हुने ऐतिहासिक अभिभारा हाम्रो अगाडि छ । इतिहासले सुम्पेको यो कार्यभार पूरा गर्न सुशासन र सामाजिक न्यायसहितको समृद्धिका लागि एकजुट हुन म आम जनसमुदायमा हार्दिक अपिल गर्दछु ।
महान् जनयुद्ध जिन्दाबाद
समाजवादी क्रान्ति जिन्दाबाद
पुष्पकमल दाहाल ‘प्रचण्ड’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रंगी’ लाई प्रिमियरमा सकारात्मक प्रतिक्रिया
-
माओवादी जनयुद्धका दुर्गा–काली
-
बाबुरामको प्रस्ताव : जुँगाको लडाईं छाडौँ, जनक्रान्ति दिवस मनाऔँ !
-
पुटिन र जेलेन्कस्कीबिच टेलिफोन वार्ता : रोकिएला रुस- युक्रेन युद्ध ?
-
एनआरएनएको भूमिका कस्तो चाहन्छ नयाँ पुस्ता ?
-
रिलायन्स इन्टरनेशनल एकेडेमीको विज्ञान प्रदर्शनी तथा साहित्य महोत्सव सुरु