बुधबार, ३० माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अब हेटौँडा पनि बालमैत्री नगर

फागुन १ गते वडा, विद्यालय र स्वास्थ्य संस्था बन्द
बुधबार, ३० माघ २०८१, १९ : ३९
बुधबार, ३० माघ २०८१

बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडालाई फागुन १ गते बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिने भएको छ । 

उपमहानगरपालिकाको ५६ औँ स्थापना दिवस पारेर बालमैत्री नगर घोषणा गर्न लागिएको हो ।

मकवानपुरका १० पालिकामध्ये मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका र बकैया गाउँपालिका यसअघि नै बालमैत्री पालिका घोषणा भइसकेका छन् । हेटौँडा जिल्लाको चौथो पालिकाको रूपमा बालमैत्री घोषणा हुन लागेको हो ।

हेटौंडालाई बालमैत्री नगर घोषणाको आवश्यक सम्पूर्ण तयारी पूरा भएको नगरप्रमुख मीनाकुमारी लामाले जानकारी दिइन् । 

मेयर लामाका अनुसार फागुन १ गते नेपाल सरकारका उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा हेटौँडालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिनेछ ।

बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणाका लागि बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ र घोषणा कार्यविधि, २०७९ मा आधारित भई आवश्यक सबै सूचक पूरा गरेको नगरप्रमुख लामाले बताइन् । उनले बालमैत्री घोषणा कार्यान्वयन भने चुनौतीपूर्ण रहेको उल्लेख गर्दै सबैको सहयोग र सहकार्य आवश्यक रहेकोमा जोड दिइन् ।

नगरका उपमेयर राजेश बानियाँले हेटौंडा उपमहानगरपालिकाले घोषणाका लागि आवश्यक ५१ सूचकमध्ये ४३ सूचकमा शतप्रतिशत नतिजा प्राप्त गरेको जानकारी दिए । उनले १९ वटा वडा रहेको हेटौँडा उपमहानगरपालिकामा १८ वर्षमुनिका ५० हजार १९५ बालबालिका रहेका बताए ।

वडा, विद्यालय र स्वास्थ्य संस्था बन्द

बालमैत्री घोषणा गर्ने अवसरमा हेटौंडा उपमहानगरभित्रका शैक्षिक संस्था भोलि बन्द हुने भएका छन् । कार्यक्रमका लागि उपमहानगरभित्रका सम्पूर्ण निजी तथा सामुदायिक शैक्षिक संस्थासहित स्वास्थ्य संस्था र वडा कार्यालयहरू बन्द हुने भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप