बुधबार, ३० माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अध्यादेश पास गर्न राजनीतिक दलहरूबिच सहमति जुटाउने काम भइरहेको छ : मन्त्री गुरुङ

बुधबार, ३० माघ २०८१, १९ : ०१
बुधबार, ३० माघ २०८१

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले संसदबाट अध्यादेश पास गर्नका लागि सरकारले राजनीतिक दलहरूबिच सहमति जुटाउने काम गरिरहेको बताएका छन् । बुधबार मन्त्रालयमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै उनले संसदमा टेबुल भएका अध्यादेशहरू पारित गर्नका लागि सहमतिको प्रयास भइरहेको बताएका हुन् । 

मन्त्री गुरुङले सरकार अध्यादेशहरूलाई राष्ट्रिय सहमतिको आधारमा पास गर्न चाहिरहेको बताए । उनले अध्यादेशका बारेमा छलफल र सहमतिको प्रयास जारी रहेको उल्लेख गर्दै निष्क्रिय हुने वा पारित हुने भन्ने परिस्थिति बनी नसकेको बताए । संघीय संसद्का दुवै सदनबाट बहुमतले पास हुने स्थिति बनेपछि मात्रै अध्यादेशको छलफल अगाडि बढ्ने उनको भनाइ छ ।

उनले भने, ‘अहिले हामीले ल्याएका सबै अध्यादेशहरू हामीले संसदमा टेबुल गरिसकेका छौँ । यसमा पनि राजनीतिक दलहरूबिचमा सहमति हुनुपर्‍यो नि । अहिले त्यसको लागि सहमति जुटाउने कामहरू हुँदैछन् । हामी सकभर राष्ट्रिय सहमतिको आधारमा अध्यादेश पास गर्न चाहन्छौँ । त्यसो भयो भने मात्र बहुमतको आधारमा जाने हो ।’

मन्त्री गुरुङले प्रतिनिधि सभामा दर्ता भएको सामाजिक सञ्जालसम्बन्धी विधेयक सरकारले फिर्ता नलिने बताए । उनले विधेयकका सम्बन्धमा आवश्यक निर्णय र संशोधन संसद्ले नै गर्ने भएको कारण फिर्ता लिने कुरा नभएको बताए । उनले सामाजिक सञ्जालको नियमन जरुरी रहेको समेत बताए । उनले सबै टेलिभिजन र रेडियाहरूलाई कानुन लाग्ने अनलाइहरुलाई नलाग्ने हो भन्दै प्रश्न समेत गरे । अनलाइन सञ्चार माध्यम र सामाजिक सञ्जालको नियमन जरुरी भएको कारण सरकारले विधेयक ल्याएको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप