श्रीलंकासँग ४९ रनले हार्यो अस्ट्रेलिया
![श्रीलंकासँग ४९ रनले हार्यो अस्ट्रेलिया](https://npcdn.ratopati.com/media/news/476744838_1817795785702857_1288528339508696580_n_WbTYotZcBn.png)
काठमाडौँ । घरेलु टोली श्रीलंकाले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सजिलो जित हात पारेको छ । श्रीलंकाले बुधबार कोलम्बोमा खेलिएको पहिलो खेलमा भ्रमणकारी टोली अस्ट्रेलियालाई ४९ रनले पराजित गरेको हो । जितसँगै श्रीलंकाले दुई खेलको शृंखलामा १–० को अग्रता पनि लिएको छ ।
टस जिती पहिले ब्याटिङको निर्णय लिएको श्रीलंकाले ४६ ओभरमा अलआउट हुनुअघि दुई सय १४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्र्लिएको अस्ट्रेलियाले भने ३३.५ ओभरमै अलआउट हुनुअघि एक सय ६५ रनमात्र बनाउन सक्यो ।
अस्ट्रेलियाका माथिल्लो क्रमका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । माथिल्ला तीन ब्याट्सम्यानले त दोहोरो अंकमा रनसमेत बनाउन सकेनन् । अस्ट्रेलियाका लागि छैटौँ नम्बरमा क्रिज समाल्न आएका एलेक्स केरीले सर्वाधिक ४१ रन बनाए ।
केरीले ३८ बलमा एक छक्का र पाँच चौका प्रहार गरे । श्रीलंकाका बलर महिश थिक्सनाले चार विकेट लिए । आसिथा फर्नान्डो र दुनिथ वेलालागेले पनि दुई–दुई विकेट हात पारे ।
त्यसअघि, श्रीलंकाली टोलीका लागि कप्तान चरिथ असालन्काले उत्कृष्ट शतकीय पाली खेलेका थिए । टोली अप्ठ्यारो स्थितिमा रहँदा पाँचौँ नम्बरमा क्रिज समाल्न आएका असालन्काले टोलीको खातामा एक सय २७ रन थपे । उनले जिम्मेवारीपूर्वक ब्याटिङ गर्दै एक सय २६ बलको सामना गरी पाँच छक्का र १४ चौका पनि हिर्काए । २७ वर्षीय असालन्काले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो चौथो शतक हो ।
श्रीलंकाली टोलीले आफ्ना दुवै ओपनरलाई सस्तैमा गुमाएको थियो । ओपनर पाथुम निकानसका चार र अर्का ओपनर अभिषका फर्नान्डो एक रन बनाउँदै पेभेलियन फर्किएका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका कुशल मेन्डिसले १९ रन बनाए । उनले १७ बलमा चार चौका हिर्काए । चौथो नम्बरका ब्याट्सम्यान कामिन्दु मेन्डिस पाँच रनभन्दा अगाडि बढ्न सकेनन् ।
जनिथ लियान्गे ११ रनमै पेभेलियन फर्किए भने दुनिथ वेलालागेले टोलीका लागि ३० रनको योगदान गरे । दुनिथले ३४ बलमा एक छक्का र दुई चौका पनि प्रहार गरे । वानिन्दु हसरंगा सात र महिश थिक्सना दुई रन बनाउँदै पेभेलियन फर्किए । अस्ट्रेलियाका सिन एबटले तीन विकेट लिए । स्पेन्सर जोन्सन, एरोन हार्डी र नाथन एलिसले पनि दुई–दुई विकेट हात पारे ।
श्रीलंका र अस्ट्रेलियाबिचको दोस्रो एकदिवसीय शुक्रबार कोलम्बोमै खेलिने छ । यसअघि खेलिएको दुई टेस्टको शृंखलामा अस्ट्रेलिया २–० ले विजयी भएको थियो । अस्ट्रेलियाले पहिलो टेस्ट एक पाली र दुई सय ४२ रन तथा दोस्रो टेस्ट नौ विकेटले जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी जग्गामा सरकारी पैसाले घाट निर्माण, ७२ लाख भुक्तानीपछि लालपुर्जा खोजी
-
उच्च अदालत वीरगञ्जका न्यायाधीश भरत लम्सालको ओखलढुंगा सरुवा गर्न सिफारिस
-
नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले फागुन १ गते आयल निगममा धर्ना दिने
-
जनयुद्ध दिवसको अवसरमा दुई नगरपालिकाले दिए सार्वजनिक बिदा
-
शुभमनको शानदार शतकमा भारतको क्लिन स्विप
-
राष्ट्रपति पौडेलद्वारा नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार प्रदान