नेपालीलाई एउटै सूत्रमा बाँध्ने तत्त्व हाम्रो कला, साहित्य र सङ्गीत हो : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीलाई एउटै सूत्रमा बाँध्ने तत्त्व हाम्रो कला, साहित्य र सङ्गीत भएको बताएका छन् । नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह–२०८० लाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कला, साहित्य र संगीत समाजमा एकता, सहिष्णुता र समृद्धिको विकासमा योगदान पुर्याउने स्पष्ट पारे । उनले कलाकार, सिर्जना र संस्कृति राष्ट्रका निधि भएको बताए ।
उनले भने– ‘बहुजाति, बहुभाषा, बहुसंस्कृति र अनुपम भौगोलिक विविधता रहेको नेपालमा साहित्य, कला, गीत, सङ्गीत आपसमा प्रेम, मित्रता र भ्रातृत्व बढाउँदै राष्ट्रिय एकतालाई बलियो बनाउने आधार हो ।’
राष्ट्रपति पौडेलले संगीतको शक्ति अपरम्पार रहेको भन्दै यो साझा भाषा, सम्पत्ति र राष्ट्रिय पहिचानको आधार पनि भएको उल्लेख गरे ।
मानवीय संवेदनाका विविध पक्षलाई अभिव्यक्त गर्ने सामर्थ्य रहेको गीतसङ्गीतका क्षेत्रमा लाग्ने स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कन्जुस्याइँ गर्न नहुने राष्ट्रपति पौडेलको भनाई थियो । उनले भने– ‘यो सभ्य र सुसंस्कृत समाजको एउटा परिचायक पनि हो । त्यसैले स्रष्टाको सम्मान, संस्कृतिको संरक्षण र गीत संगीतको विकासको लागि सरकार र सम्बद्ध पक्षले सदैव सहयोग गर्नुपर्दछ ।’
राष्ट्रपति पौडेलले नेपाली लोक भाका पछ्याउँदै आधुनिक गीत संगीतको सिर्जनामा नातिकाजीले पुर्याएको योगदान अनुकरणीय रहेको बताए । उनले भने– ‘नातिकाजीका सिर्जनाहरूमा रहेको चेतना, प्रेम, देशभक्ति र मानवीय संवेदनाका अनुभूतिले उनलाई नेपाली गीत संगीत प्रेमीहरूको माझ सदैव अमर बनाइराखेको छ । विशेषतः उनका देशभक्तिपूर्ण कालजयी गीतहरूले मातृभूमिप्रतिको स्नेहलाई प्रगाढ बनाउँदै नेपाली सङ्गीतको गौरवलाई बढाएको छ ।’
सो अवसरमा राष्ट्रपति पौडेलले नातिकाजी राष्ट्रिय विशिष्ट सम्मान तथा नातिकाजी राष्ट्रिय पुरस्कार, नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार, नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार, नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार, नातिकाजी राष्ट्रिय लोक सङ्गीत पुरस्कार र नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार वितरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश ‘क्याबिनेट’ निर्णय : लागुऔषधजन्य गतिविधि नियन्त्रण सुपरीवेक्षण समिति गठन
-
विवाह बन्धनमा बाँधिए क्रिकेटर अविनाश
-
अभिनेता आर्यन अधिकारीले गरे अनिषासँग इन्गेजमेन्ट
-
बैंगलुरु र पञ्जाबको खेलमा वर्षा बाधक
-
भारत सरकारको सहयोगमा सुन्दरहरैँचामा विद्यालय भवनको शिलान्यास
-
सीके राउतको गेम : श्रीमानविरुद्ध उजुरी, श्रीमतीलाई कुर्सी