बुधबार, ३० माघ २०८१
ताजा लोकप्रिय
संयुक्त बैठक

गण्डकी र लुम्बिनीको संयुक्त बैठकमा सिल्क सडकको अवधारणा

एक अर्काका उत्पादन बेच्ने सहमति
बुधबार, ३० माघ २०८१, १६ : ५९
बुधबार, ३० माघ २०८१

पोखरा । गण्डकी प्रदेश र लुम्बिनी प्रदेश बिचको संयुक्त बैठक पाल्पाको रानीमहलमा बसेको छ । दुवै सरकारका मुख्यमन्त्री सम्मिलित बैठकले २१ बुँदे निर्णय गरेको छ भने विकासमा सहकार्य गर्ने साझा धारणा तय गरेको छ । हवाई सेवामार्फत दुवै प्रदेशका महत्वपूर्ण धार्मिक क्षेत्रहरू जोड्ने निर्णय बैठकले गरेको छ । 

यसका लागि भैरहवा र नेपालगन्जबाट जोमसोम उडानका लागि निजी क्षेत्रसँग पहल गर्ने निर्णय गरिएको गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए । दुवै प्रदेश धार्मिक पर्यटनले बढी सम्भावनायुक्त भएकोले धार्मिक क्षेत्रमा सहज आवतजावत मिलाउन तयारी गरिएको उनको भनाई छ ।

यस्तै, लुम्बिनीदेखि लोमान्थाङसम्म सिल्क सडक, लुम्बिनीदेखि त्रिवेणी दुम्कीबास सडक, गैँडाकोट कालीगण्डकी कोरिडोर, दुम्कीबास ज्यामिरे हुँदै कालीगण्डकी कोरिडोर र भीमगिठे देखि बुर्तिबाङ हुँदै झिमुक सडक स्तरोन्नतिका लागि प्राथमिकताका साथ प्रक्रिया अघि बढाउने निर्णय दुई मुख्यमन्त्रीले गरेका छन् । सिद्धार्थ राजमार्गको पोखरादेखि बुटवल सडक खण्डलाई डेडिकेटेड दुई लेनमा विस्तार गर्न संघ सरकारसँग संयुक्त पहल गर्ने, भरतपुर–बुटवल–पोखरा जोडिएको आर्थिक त्रिभुज परियोजना कार्यान्वयनका लागि दबाब दिने र प्रादेशिक औद्योगिक क्षेत्र स्थापनाका लागि आगामी वर्षको बजेटमा प्रस्ताव गर्ने निर्णय गरिएको छ ।

दुवै प्रदेशको बृहत्तर हितमा योगदान पुर्याउने सह लगानीका ठुला आयोजना पहिचान र कार्यान्वयन गर्ने, खानी तथा खनिज उद्योगको स्थापना, सञ्चालन एवं विस्तार र प्राकृतिक स्रोतजन्य उत्पादनको विक्री वितरणलाई व्यवस्थित गर्ने, उद्योगहरूको कार्यक्षेत्र विस्तार गर्दै बुटवलमा निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्र र गण्डकी प्रदेशमा निर्माणाधीन लोकाहा खोला औद्योगिक क्षेत्र प्रयोग गर्न निजी क्षेत्रलाई सहजीकरण गर्ने निर्णय छ । 

रामपुरदेखि चापाकोट एकीकृत सहरी विकास आयोजना कार्यान्वयनका लागि सिफारिस गर्ने, नदीजन्य पदार्थमा लगाइने कर दुवै प्रदेशमा एउटै बनाउने, सार्वजनिक सवारीको यात्रु भाडा दरमा एकरूपता ल्याउने र सडक जोखिम न्यूनीकरणका लागि संयुक्त कार्यक्रम गर्ने निर्णय भएको पाण्डेले जानकारी दिए ।

कृषि तथा पशुपन्छीजन्य उत्पादनको बजारीकरण, गुणस्तर सुनिश्चितता एवम् वितरण प्रणालीलाई व्यवस्थित गर्न पोखरा र लुम्बिनीको उपयुक्त स्थानमा चिस्यान केन्द्र सहित विक्री कक्ष निर्माण गर्ने, कालीगण्डकी कोरिडोरलाई आर्थिक कोरिडोरको रूपमा विकास गर्ने, कृषि उपजहरू तथा वनजन्य जडिबुटीलाई मूल्य शृङ्खलासँग जोड्न प्रशोधन केन्द्र स्थापनाका लागि निजी क्षेत्रलाई ब्याज अनुदान दिने, प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक सम्पदामा आधारित पर्यटनको एकीकृत विकास गर्न गर्ने निर्णय पनि भएको छ ।

लुम्बिनीबाट पोखरा हुँदै मुक्तिनाथ जोड्ने पर्यटन मार्गको विकास गर्ने, गोरखाबाट तनहुँ हुँदै स्याङ्जाबाट पाल्पा, गुल्मी, प्युठान र रोल्पा जोड्ने मगर सांस्कृतिक पर्यटकीय पदमार्ग, लुम्बिनी प्रदेशमा थारु–अवध–नेवार र गण्डकी प्रदेशका गुरुङ, थकाली, नेवार तथा समुदाय विशेष पर्यटकीय पदमार्ग विस्तारका लागि एकीकृत कार्यक्रम बनाउन दुवै प्रदेश सहमत भएका छन् ।

लुम्बिनीमा बुद्ध सर्किट विकास गरी धार्मिक तथा स्वास्थ्य पर्यटन र गण्डकी प्रदेशका मनासलु क्षेत्र, अन्नपूर्ण क्षेत्र, मुक्तिनाथ क्षेत्र तथा पोखरालाई साहसिक, धार्मिक तथा स्वास्थ्य पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न एकीकृत काम गर्ने, लुम्बिनीको बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज तथा गण्डकीको चितवन राष्ट्रिय निकुञ्ज, मनास्लु र अन्नपूर्ण संरक्षण क्षेत्रसँगै ढोरपाटन सिकार आरक्षलाई समेटेर नयाँ पर्यटकीय सर्किट तयार गर्ने सहमति भएको छ । पाल्पाको रानीमहलको प्रवर्द्धन र संरक्षण तथा रानी महल क्षेत्रमा जलाशय सहितको पर्यटकीय पूर्वाधार विकास गर्न संयुक्त काम गर्ने निर्णय समेत गरिएको मुख्यमन्त्री पाण्डेले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप