सुनिता डङ्गोलको माग : बुद्धले मृत्युको घोषणा गरेको दिनलाई राष्ट्रिय पर्वका रूपमा मनाऔँ
![सुनिता डङ्गोलको माग : बुद्धले मृत्युको घोषणा गरेको दिनलाई राष्ट्रिय पर्वका रूपमा मनाऔँ](https://npcdn.ratopati.com/media/news/sunita1_9zJZfZXp5d.jpg)
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले गौतम बुद्धले आफूले निर्वाण प्राप्त (मृत्यु घोषणा) गर्नुभन्दा ३ महिना अघि नै आयु संस्कार परित्याग घोषणा गरेको दिनलाई राष्ट्रिय पर्वका रूपमा मनाउन माग गरेकी छन् ।
श्रीखण्ड तरुमूल महाविहार, सिखंमूबहाः वसन्तपुरले बिहीबार गरेको ‘भगवान् बुद्धको आयुसंस्कार परित्याग दिवस’का अवसरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै डङ्गोलले यस्तो माग गरेकी हुन् ।
‘माघ पूर्णिमा (सिल्लापुन्हि) भगवान् गौतम बुद्धले आफूले निर्वाण प्राप्त (मृत्यु घोषणा) गर्नु भएको दिन हो,’ उपप्रमुख डङ्गोलले भनिन्, ‘गौतम बुद्ध जन्मिएको दिन भनेर बुद्धजयन्ती मनाउँछौँ । उहाँले निर्वाण (मृत्युवरण) प्राप्त गरेको र बुद्धत्व प्राप्त गरेको दिन वैशाख शुक्ल पूर्णिमा पनि धूमधामसँग मनाउने चलन छ । तर, उहाँले अब म ठिक तीन महिनापछि निर्वाण प्राप्त गर्छु भनेर घोषणा गरेको दिन आयु संस्कार परित्यागको दिनबारे धेरैलाई जानकारी नै छैन ।’
उनले त्यो दिनको महत्वलाई दर्साउन काठमाडौँ महानगरपालिका आफ्नो ठाउँबाट सहयोग गर्न तयार रहेको पनि स्मरण गराइन् । ‘बुद्ध धर्म मान्ने विश्वका थुप्रै देशहरूले यो दिनलाई विशेष महत्वका रूपमा लिँदै आएका छन् । तर, बुद्धको जन्मभूमि नेपालमा हामीले धेरैलाई यो बारे जानकारी समेत दिन सकिरहेका छैनौँ । त्यही कुराको महत्वलाई दर्साउँदै हामीले खुलारुपमा मनाउने थालनी गरेका छौँ’, डङ्गोलको भनाइ छ ।
उनले यो दिनलाई राष्ट्रिय महत्वका रूपमा चिनाउनुपर्नेमा जोड दिइन् । ‘हामीले विश्वलाई हाम्रो देश चिनाउँदा सगरमाथाको देश भगवान् गौतमबुद्धको जन्मभूमिको देश भनेर चिनाउने गर्छौ र गर्व पनि गरिरहेका हुन्छौँ,’ उनले भनिन्– ‘भगवान् गौतम बुद्धको जन्मभूमिको देश भनेर चिनाउने यो भूमिलाई भगवान् बुद्धका शिक्षा, सन्देश र उहाँसँग जोडिएका यस्ता महत्त्वपूर्ण दिनहरूलाई पनि सम्झिनु उत्तिकै महत्त्वपूर्ण छ ।’
माघ पूर्णिमा (सिल्लापुन्हि) का दिन हरेक वर्ष भगवान् बुद्धको दिवस राष्ट्रियस्तरबाट मनाउनुपर्नेमा उपप्रमुख डङ्गोलको जोड छ ।
‘श्रीखण्ड तरुमूल महाविहार, सिखंमूबहाः वसन्तपुरले यो दिवस मनाउने भनेपछि महानगरपालिकाले ‘होस्टेमा हैँसे’ मात्रै गरेको हो,’ उनले भनिन्– ‘हामीले बुद्धका सन्देशलाई जीवनमा उपयोग गर्ने हो भने यो सांसारिक दुःखबाट मुक्त हुने बाटो अपनाउन केही सहज हुन्छ । महानगरपालिकाले बुद्धको सन्देशलाई शिक्षासँग, बालबालिका र सबै उमेरसँग पनि जोड्नुपर्छ भनेर परियति शिक्षालाई अघि बढाउँदै आएको छ ।’
कार्यक्रममा कौन्डण्य महास्थविरले ४५ वर्षसम्म उपदेश सञ्चार गरेको भन्दै युद्ध होइन शान्ति रोज्नुपर्छ भन्ने सन्देश गौतम बुद्धले दिएको स्मरण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हेटौँडा पनि बालमैत्री नगर
-
शंखरापुर दुर्घटना : मृतकको संख्या ३ पुग्यो, ४० जनाको उपचार हुँदै
-
म्याग्दे गाउँपालिकामा हल गोरु पाल्ने कृषकलाई अनुदान
-
विभिन्न स्थानमा आगलागीमा तीन जनाको मृत्यु
-
छोरालाई काँधमा बोकेर ह्वाइट हाउस पुगेका मस्कले ट्रम्पसामु के भने ?
-
अध्यादेश पास गर्न राजनीतिक दलहरूबिच सहमति जुटाउने काम भइरहेको छ : मन्त्री गुरुङ