बुधबार, ३० माघ २०८१
ताजा लोकप्रिय

शुभमन गिलले तोडे हासिम अमलाको कीर्तिमान

बुधबार, ३० माघ २०८१, १५ : ४२
बुधबार, ३० माघ २०८१

काठमाडौँ । भारतका युवा ब्याट्सम्यान शुभमन गिलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो दुई हजार पाँच सय रन बनाउने कीर्तिमान आफ्नो नाममा पारेका छन् । 

घरेलु मैदानमा खेलिएको इङ्ल्यान्डविरुद्धको तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले यस्तो उपलब्धि हासिल गरेका हुन् । उनले केवल ५० पालीमा दुई हजार पाँच सय रन पुरा गरेका हुन् ।

यसअघि, यो कीर्तिमान दक्षिण अफ्रिकाका ब्याट्सम्यान हासिम अमलाको नाममा रहेको थियो । अमलाले ५१ पालीमा दुई हजार पाँच सय रन बनाएका थिए । अब यो कीर्तिमान गिलको नाममा गएको छ ।

सबैभन्दा छिटो दुई हजार पाँच सय रन बनाउने ब्याट्सम्यानको सूचिमा पाकिस्तानका इमाम उल हक तेस्रो स्थानमा छन् । उनले ५२ पालीमा दुई हजार पाँच सय रन पुरा गरेका थिए ।

यसैगरी, यो सूचिमा चौथो स्थानमा रहेका वेस्ट इन्डिजका पूर्वखेलाडी भिभियन रिचर्डसले ५६ पालीमा दुई हजार पाँच सय रन बनाएका थिए । इङ्ल्यान्डका जोनाथन ट्रटले पनि ५६ पालीमै यो उपलब्धि हासिल गरेका थिए ।

अहमादावादमा जारी इङ्ल्यान्डविरुद्धको तेस्रो एकदिवसीयमा २५ ओभरको खेल सकिँदासम्म भारतले दुई विकेट गुमाएर एक सय ६१ रन बनाएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको भारतका लागि ओपनर ब्याट्सम्यान गिल अविजित ८५ रन बनाउँदै क्रिजमा छन् ।

चौथो नम्बरमा क्रिज समाल्न आएका श्रेयष ऐयर अविजित १५ रन बनाउँदै क्रिजमा छन् । कप्तान रोहित शर्मा भने एक रनमै पेभेलियन फर्किएका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका विराट कोहली भने अर्धशतक बनाउँदै आउट भए । 

कोहलीले ५५ बलमा एक छक्का र सात चौकाको मद्दतले ५२ रन बनाए । तीन खेलको एकदिवसीय शृंखला भने भारतले यसअघि नै जितिसकेको छ । भारतीय टोली पहिलो खेलमा चार विकेट र दोस्रो खेलमा पनि चार विकेटले नै विजयी भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप