बुधबार, ३० माघ २०८१
ताजा लोकप्रिय

पतिलाई मिर्गौला बेच्न लगाएपछि पैसा चोरेर प्रेमीसँग भागिन् पत्नी

बुधबार, ३० माघ २०८१, १५ : ३६
बुधबार, ३० माघ २०८१

नयाँ दिल्ली । भारतमा एक महिलाले आफ्नी छोरीको शिक्षाका लागि भन्दै पतिलाई मिर्गौला बेच्न लगाएर त्यही पैसा चोरेर प्रेमीसँग भागेको घटना बाहिर आएको छ । यो घटना पश्चिम बंगालमा भएको हो । 

ती महिलाले आफ्नो पतिलाई छोरीको उच्च शिक्षा र विवाहका लागि मिर्गौला बेच्न भनेर महिनौँदेखि मनाउने प्रयास गरेकी थिइन् । सुरुमा ती पुरुष तयार थिएनन् । तर, परिवारको आर्थिक अवस्था सुधार गर्न र छोरीको भविष्य सुनिश्चित गर्न उनी आफ्नो मिर्गौला बेच्न राजी भए ।

उनले एक वर्षसम्म मिर्गौला किन्ने व्यक्तिको खोजीमा बिताए । किनभने भारतमा मानव अंगको बेचबिखन कानुनीरुपमा वर्जित रहेको छ । करिब ३ महिनाअघि उनले आफ्नो मिर्गौला किन्ने व्यक्ति पाए ।

अपरेसन गरेपछि उनले त्यसबापत पाएको १० लाख भारतीय रुपैयाँ आफ्नो पत्नीलाई राख्न दिए । तर, पत्नी भने त्यही पैसा लिएर आफ्नो प्रेमीसँग भागिन् । त्यसपछि मात्र उनले आफ्नो पत्नीको असली योजना थाहा पाए ।

उनकी पत्नी र उनको प्रेमीको फेसबुकमार्फत चिनजान भएको थियो । कुराकानी गर्दै जाँदा उनीहरूबिच सम्बन्ध झाँगिएको थियो । त्यसपछि उनले पतिलाई छाडेर प्रेमीसँग भाग्ने निर्णय गरिन् । यसैका लागि उनले पतिलाई आफ्नो मिर्गौला बेच्न उक्साइन् ।

हिन्दुस्तान टाइम्समा प्रकाशित समाचार अनुसार पैसा लिएर पत्नी भागेपछि पतिले प्रहरीकहाँ उजुरी गरे । प्रहरीले उनकी पत्नी बाराकपोरमा रहेको पत्ता लगायो ।

त्यसपछि पति आफ्नी १० वर्षकी छोरी र आफ्नो आमाबाबुसहित बाराकपोर पुगेर पत्नीकहाँ पुगे । तर, पत्नीले घरको ढोकासमेत खोल्न मानिनन् । उनले चाँडै नै सम्बन्धविच्छेद गर्ने बताउँदै जे मन छ त्यही गर्न पतिलाई जवाफ फर्काएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप