बुधबार, ३० माघ २०८१
ताजा लोकप्रिय

अमेरिकाको देखासिकीमा अवैध आप्रवासीमाथि कडाइ गर्दै  बेलायत

बुधबार, ३० माघ २०८१, १४ : ३४
बुधबार, ३० माघ २०८१

लन्डन । अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पले कार्यभार सम्हालेयता अवैध आप्रवासीमाथि कडाइ चर्किएको छ । त्यस्ता मान्छेलाई समातेर ट्रम्पले धमाधम डिपोर्ट गरिरहेका छन् । 

यसैबिच बेलायतले पनि अमेरिकाको देखासिकीमा अवैध आप्रवासीमाथि कडाइ गर्न थालेको छ । जनवरीमा सयौँ अवैध आप्रवासीलाई पहिचान गरेर समातेको र यो कार्य जारिरहने बेलायत सरकारले जनाएको छ । 

बेलायतको प्रवर्तन टोली यतिबेला अवैध रूपमा देशमा बसोबास गर्ने मानिसहरूको पहिचान गर्न व्यस्त छ । कागजातको अभावमा, यी मानिसहरू दक्ष श्रममा जान सक्दैनन् । त्यसैले यिनीहरू झिना मसिना काममा अल्झिन्छन् । अधिकांशले पेट्रोल पम्प, रेस्टुरेन्ट, होटल, कार धुने पसल, ब्युटी पार्लर र स्पा सेन्टरहरूमा काम गरिरहेका छन् । 

सस्तो श्रमको खोजीमा यस्ता व्यवसाय चलाउनेहरूले अवैध आप्रवासीलाई काममा राख्छन् । कसैलाई शंका नहोस् भनेर लेनदेन पनि नगदमै गर्छन् । तर अब बेलायत सरकारले यी ठाउँहरूमा छापा मार्दैछ । गत वर्षको तुलनामा यस्तो छापामारीमा ७३ प्रतिशतले वृद्धि भएको छ ।

के भन्छ बेलायत सरकार ?

बेलायतको आप्रवासन नियमको सम्मान गर्नुपर्ने बेलायती गृहमन्त्री एभेट कूपरले बताएकी छिन् । अवैध रूपमा काम गर्नेहरू लामो समयदेखि भागिरहेका र सरकारी प्रणालीको दुरुपयोग मात्र नभएर यसले आप्रवासीहरूको शोषण गर्ने उनले बताइन् । यो मानव बेचबिखन बढ्दै जानु जस्तै भएको उनको भनाइ छ  । 

अवैध आप्रवासनको असर बेलायती अर्थतन्त्रमा परिरहेको उनले बताइन् । बेलायत पहिलादेखि नै महँगीको चपेटामा छ । घुसपैठ गरेर बेलायत छिर्नेकै अपराध बढिरहेको आरोप स्थानीयहरूले लगाउन थालेका छन् । आफ्नो अर्थतन्त्र सुधार गर्ने र स्थानीय जनतालाई खुसी पार्ने प्रयासमा बेलायती सरकारले अवैध आप्रवासीहरूमाथि कारबाही गरिरहेको विश्वास गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप