कप्तानको उत्कृष्ट शतकसँगै श्रीलंकाले अस्ट्रेलियालाई दियो २१५ रनको लक्ष्य
![कप्तानको उत्कृष्ट शतकसँगै श्रीलंकाले अस्ट्रेलियालाई दियो २१५ रनको लक्ष्य](https://npcdn.ratopati.com/media/news/ccc_FsrXBwgqnb.png)
काठमाडौँ । घरेलु टोली श्रीलंकाले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलियालाई जितका लागि दुई सय १५ रनको लक्ष्य दिएको छ । कोलम्बोमा जारी खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको श्रीलंकाले ४६ ओभरमा अलआउट हुनुअघि दुई सय १४ रन बनाएको हो ।
श्रीलंकाका लागि कप्तान चरिथ असालन्काले उत्कृष्ट शतकीय पाली खेले । टोली अप्ठ्यारो स्थितिमा रहँदा पाँचौँ नम्बरमा क्रिज समाल्न आएका असालन्काले टोलीको खातामा एक सय २७ रन थपे । उनले जिम्मेबारीपूर्वक ब्याटिङ गर्दै एक सय २६ बलको सामना गरी पाँच छक्का र १४ चौका पनि हिर्काए । २७ वर्षीय असालन्काले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो चौथो शतक हो ।
श्रीलंकाली टोलीले आफ्ना दुबै ओपनरलाई सस्तैमा गुमाएको थियो । ओपनर पाथुम निकानसका चार र अर्का ओपनर अभिषका फर्नान्डो एक रन बनाउँदै पेभेलियन फर्किएका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका कुशल मेन्डिसले १९ रन बनाए । उनले १७ बलमा चार चौका हिर्काए । चौथो नम्बरका ब्याट्सम्यान कामिन्दु मेन्डिस पाँच रनभन्दा अगाडि बढ्न सकेनन् ।
जनिथ लियान्गे ११ रनमै पेभेलियन फर्किए भने दुनिथ वेलालागेले टोलीका लागि ३० रनको योगदान गरे । दुनिथले ३४ बलमा एक छक्का र दुई चौका पनि प्रहार गरे । वानिन्दु हसरंगा सात र महिश थिक्सना दुई रन बनाउँदै पेभेलियन फर्किए । अस्ट्रेलियाका सिन एबटले तीन विकेट लिए । स्पेन्सर जोन्सन, एरोन हार्डी र नाथन एलिसले पनि दुई–दुई विकेट हात पारे ।