बुधबार, ३० माघ २०८१
ताजा लोकप्रिय

युक्रेनमा शान्ति स्थापना : राष्ट्रपति सीको भूमिका चाहन्छन् ट्रम्प, सघाउला त चीनले ?

बुधबार, ३० माघ २०८१, १३ : ५७
बुधबार, ३० माघ २०८१

वासिङ्टन डीसी ।  युक्रेनी युद्ध चौथो वर्षमा प्रवेश गर्दैछ । रुस र युक्रेनबिच जारी युद्ध अन्त्य गर्छु भनेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार भनिरहेका छन् । यस कार्यमा आफूलाई विश्वको कुनचाहिँ देशले सघाउन सक्ला भनेर उनले स्पष्टसँग भनी पनि सकेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकटतम मित्र सी जिनपिङले आफूलाई युद्ध रोक्न सहयोग गर्न सक्ने ट्रम्पको भनाई छ ।

‘आशा गरौँ चीनले युद्ध खासगरी रुस–युक्रेनबिच चलिरहेको युद्ध रोक्नलाई हामीले मद्दत गर्नेछ र हामीले उनीहरूसँग काम पनि गर्नेछौँ,’ स्वीटजरल्यान्डको डाभोसमा गत महिना आयोजित विश्व आर्थिक मञ्चको कार्यक्रममा ट्रम्पले भनेका थिए । 

सीसँगको फोन वार्तामा पनि आफूले बारम्बार यस्तो बताएको उनले भनेका थिए । तर चीनबाट अमेरिकामा आयात हुने सबै सामानमा १० प्रतिशत अतिरिक्त महसुल लगाएर ट्रम्पले चीनको सहयोगमा युक्रेनमा शान्ति स्थापना गर्ने आफ्नो योजनालाई जटिल बनाएका छन् ।

चीन अमेरिकासँग व्यापार घर्षण सकेसम्म टार्न खोजिरहेको छ । तर अमेरिका–चीनबिचको सम्बन्धलाई हेर्दा ट्रम्पले युक्रेनमा शान्ति बहालीमा चीनको भूमिकालाई महत्त्व दिए भने चीनले पनि यसलाई सकारात्मक रूपमा हेर्ने वासिङटनस्थित बौद्धिक समूह स्टिम्सन सेन्टरमा चाइना प्रोग्रामकी निर्देशक युन यन भन्छिन् । तर रुससँगको आफ्नो सम्बन्ध बिग्रने हो कि भनेर चीन उत्तिकै सतर्क रहने पनि उनले बताइन् । 

युद्ध अन्त्य गर्न सम्भावित शान्ति बाहकको रूपमा चीनले लामो समयदेखि आफूलाई उभ्याउन खोजिरहेको छ । तर रुसको लागि मुख्य सहयोगी भएकोले पश्चिमी देशहरूमा यो प्रयास धमिलो बनेको कटु सत्य पनि छ । तर यसका लागि सीले ठुलो मूल्य चुकाउनुपर्ने देखिन्छ ।

पुटिनसँगको वार्ताको टेबलमा सीको सिट महत्त्व हुनेछ, ट्रम्पको होइन । युक्रेनले स्वीकार गर्नै नसक्ने समाधानमा पुग्ने वा युरोपेली मित्र देशहरू एक्लिने जोखिम नचाहने हो भने यस मामिलालाई अमेरिकाले सावधानीपूर्वक अघि बढाउनुपर्ने हुनेछ । रुस कमजोर भयो भने चीनको मुख्य साथी कमजोर हुनेछ । यस मामिलामा रुस कमजोर नबनोस् भन्ने चीनको चाहना हुने सिंगापुरमा नेशनल युनिभर्सिटी अफ सिंगापुरकी सह–प्राध्यापक चोङ जा इयान भन्छिन् । 

शान्ति वार्ताकारका रूपमा सी 

ट्रम्पसँग मिलेर पुटिनलाई वार्ताको टेबलमा आउन दबाब दिनु भनेको युक्रेन युद्धमा अहिलेसम्म बेइजिङले देखाउँदै आएको अडानको विपरीत हुनेछ । युक्रेन युद्धलाई सी र उनका अधिकारीहरूले चीनको नेतृत्वको विश्वको भिजन प्रवर्द्धन गर्ने मञ्चको रूपमा प्रयोग गरेका छन् । यसमा अमेरिकी सङ्गठन प्रणाली ध्वस्त वा कमजोर हुनेछ । चीनले यतिबेला पश्चिमी देश इतरका गठबन्धन बनाउन ध्यान दिइरहेको अमेरिकामा कार्निज इन्डोमेन्ट फर इन्टरनेशनल पिसमा सिनियर फेलो तोङ चाओ भन्छन् । 

अहिले नै अमेरिकासँग उल्लेख्य सहकार्यमा लिप्त हुन चीनसँग प्रेरणा निकै थोरै छ । तर चिनियाँ अधिकारीहरूले पर्ख र हेरको नीति अपनाएर यसका लाभहरू केलाएपछि ट्रम्पसँग बृहत्तर सम्झौता गर्न चाहिँ सक्छन् भन्ने चाओको भनाइ छ । व्यक्तिगत रूपमा ट्रम्पले पुटिन र सिको प्रशंसा गरेका छन् । तर अमेरिकी कानुन निर्माताहरू र ट्रम्प प्रशासनका केही यी दुवै देशप्रति कठोर छन् । यस्तोमा ट्रम्पको अडानका बिचमा चीन, रुस र अमेरिका तीनै देशलाई सन्तुष्ट हुने गरी युक्रेनमा कस्तो खालको शान्ति पुनः स्थापना होला भन्ने प्रश्न पनि उठ्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप