गुगल म्यापमा आउन थाल्यो ‘गल्फ अफ अमेरिका’

वासिङ्टन डीसी । यसअघि गल्फ अफ मेक्सिको भनेर चिनिँदै आएको जल क्षेत्र गुगल म्याम्पसमा अब ‘गल्फ अफ अमेरिका’ भनेर देखिन थालेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेर गल्फ अफ मेक्सिको नाम परिवर्तन गरेका थिए । अब अमेरिकामा गुगल म्याप चलाउनेले गल्फ अफ अमेरिका देख्नेछन् ।
मेक्सिकोमा भने गल्फ अफ मेक्सिको नै देखिने एउटा विज्ञप्तिमा सोमबार गुगलले भनेको हो । ट्रम्पको आदेशपछि अमेरिकाको सर्वोच्च शिखर देनालीको सट्टामा म्यापमा माउन्ट म्याकिन्ले देखाइने गएको महिना नै गुगलले भनेको थियो । २०१५ मा पूर्वराष्ट्रपति बाराक ओबामाले उक्त हिमालको नाम देनाली राखेका थिए । तर मङ्गलवार सम्म गुगल म्यापमा उक्त परिवर्तन भएको थियो । यी दुवैको नाम ट्रम्पले कार्यभार सम्हाले लगत्तै कार्यकारी आदेश जारी गरेर फेरेका थिए ।
परिवर्तित नामले अमेरिकाको महानताको सम्मान गर्ने उनको भनाइ थियो । आदेशमा म्याकिन्लेको नाम राख्ने ओबामाको निर्णयको आलोचना पनि गरिएको थियो । अमेरिकाको सङ्घीय उड्डयन प्रशासन र तट सुरक्षा लगायतले नयाँ नामको प्रयोग थालेका छन् । गुगलको क्यालेन्डरमा पनि यी परिवर्तन देखिन थालेका छन् ।