लुम्बिनी र गण्डकीका मुख्यमन्त्रीसहित अन्तरप्रदेश समन्वय बैठक बस्दै
![लुम्बिनी र गण्डकीका मुख्यमन्त्रीसहित अन्तरप्रदेश समन्वय बैठक बस्दै](https://npcdn.ratopati.com/media/news/surendra-chetnaaryan_WcxX2LvWf8.jpg)
रामपुर । पाल्पाको ऐतिहासिक तथा पर्यटकीयस्थल रानीमहलमा आज अन्तरप्रदेश समन्वय बैठक बस्दैछ । लुम्बिनी र गण्डकी प्रदेशका मुख्यमन्त्रीसहितको अन्तरप्रदेश समन्वय बैठक यहाँ बस्न लागेको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेयलगायत प्रदेशका मन्त्री, मुख्यसचिव, सचिवलगायत कर्मचारीको अन्तरप्रदेश समन्वय बैठकमा सहभागिता रहनेछ । कालीगण्डकी नदीको तटमा अवस्थित रानीमहल दरबारमा दुई प्रदेशका मुख्यमन्त्रीसहितको बैठकमा लुम्बिनी र गण्डकी प्रदेशका भावी योजनाबारे विस्तृत गहन छलफल हुनेछ ।
कालीगण्डकी नदीले लुम्बिनी र गण्डकी प्रदेशलाई जोडेकाले दुई प्रदेशको पर्यटन प्रवर्द्धन, अन्तरप्रदेश व्यापार, व्यवसायलगायत क्षेत्रमा महत्वपूर्ण प्रभाव पार्ने भएकाले यहाँ बस्ने बैठकलाई विशेष चासोका रूपमा हेरिएको तानसेन–१३ का वडाध्यक्ष टुकप्रसाद भट्टराईले बताए । विशिष्ट व्यक्तिको उपस्थितिले नदी वारिपारिका क्षेत्रको समृद्धि र विकासका साझा सरोकारका विषयमा महत्वपूर्ण विषय उठान हुने सरोकार भएकाको अपेक्षा छ ।
नेपालको ताजमहलका रूपमा चिनिने पाल्पाको रानीमहल दरबार जिल्ला सदरमुकाम तानसेनबाट करिब १३ किलोमिटर उत्तरमा अवस्थित छ । करिब ११ रोपनी क्षेत्रफलमा रहेको नेपालको रानीमहलमा २४ कोठा छन् । यसको परिसरमा मनमोहक बगैँचा, शिवलालय, पानीपोखरी, शिवलिङ्गमा नागनागिनीले जल शेचनको दृश्य, भान्साघर, घोडा बाँध्ने तबेला ठूला घण्टसहितको विभिन्न आकर्षक कलाकृतिहरू देख्न सकिन्छ ।
तानसेन नगरपालिका–१३ मा रहेको रानीमहलमा सबै उमेर समूहका पर्यटक घुम्न जाने गर्दछन् । अहिले यस क्षेत्रमा होटल तथा रिसोर्ट खुल्ने क्रम बढ्दै गएको छ । रानीमहल दरबारलाई नियाल्दै कालीगण्डकी नदीमा जलयात्रा गर्ने अवसर रहेकाले पनि पर्यटकहरू अवलोकन गर्न पुग्दछन् ।
विसं १९५० मा पाल्पा गौँडाका तैनाथवाला प्रधानसेनापति खड्ग शमशेरले आफ्नी दिवङ्गत रानी तेजकुमारीको सम्झनामा रानीमहल निर्माण गरेका थिए । तानसेन नगरपालिकाको बौघागुम्हा र वगनासकाली गाउँपालिकाको खानीगाउँको बीचमा अवस्थित रानीमहल युवापुस्ताको पहिलो रोजाइमा पर्ने गरेको छ । विसं १९५० मा शिलान्यास गरी १९५४ मा कालीगण्डकी नदीको चट्टानमाथि पश्चिमी कला कौशलको बेजोड नमूनाले सिँगारेर बनाइएको छ ।
यहाँ एक्लै रात बिताउँदा खड्ग शमशेर कहिले कहिले आफ्नी दिवङ्गत रानीलाई सम्झँदै भावविह्वल हुँदै मध्यरातमा रुँदै चिच्याउँथे भन्ने पनि गरिन्छ । विसं १९६० मा खड्ग शमशेरले श्री ३ को पद र उपत्यका कब्जा गर्ने षड्यन्त्र गर्यो भन्ने श्री ३ चन्द्र शमशेरले थाहा पाएपछि चन्द्रशमसेरले सेना पठाएर तैनाथी आफ्नो हातमा लिएका थिए ।
आफूमाथि खतराको घण्टी बज्ने लक्षण देखा परेपछि सरकारी ढुकुटी लिएर उनी भारत पलायन भएका थिए । त्यसै दिनदेखि प्रेमको प्रतीक ठानिएको दरबार आजसम्म एक्लो अवस्थामा रहेको छ । कालीनदीको चट्टामाथि बनेको हुँदा पनि यस दरबारले सबैलाई आकर्षित गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजार २६८५.७३ विन्दुमा, पौने ९ अर्बको कारोबार
-
सिटिजन्स बैंक र वात्सल्य नेचुरल आईभीएफबिच समझदारी
-
कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा दुई निर्देशक नियुक्त
-
बेलबारी प्रमुखको बदमासी ढाकछोप गर्न प्रशासन प्रमुखमाथि कारबाहीको डन्डा
-
राष्ट्रिय कायाक स्लालम प्रतियोगितामा चितवनका प्रितमले जिते स्वर्ण
-
‘भन्सार एजेण्ट नियुक्तिको प्रावधानलाई थप प्रभावकारी बनाऔँ’