बुधबार, ३० माघ २०८१
ताजा लोकप्रिय
एआईजीको राजीनामा प्रकरण

बढुवा सिफारिस अघि नै एआईजी केसीले बुझाएका थिए राजीनामा, मिति राखेनन्

केसी भन्छन्, ‘अहिले केही नबोलौँ’
बुधबार, ३० माघ २०८१, १२ : २९
बुधबार, ३० माघ २०८१

काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र केसीले राजीनामा बुझाएको हल्ला माघ २७ मा बाहिरियो । तर, उनले एआईजीमा बढुवा सिफारिस हुनुअघि नै राजीनामा पत्रमा हस्ताक्षर गरेर प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरलाई बुझाएको खुलेको छ । कुँवरले आफ्नो गोजीमा राखेको राजीनामा पत्र माघ २७ मा मात्रै प्रहरी प्रधान कार्यालयमा फरवार्ड गरेका हुन् । 

आईजीपी कुँवर सदस्य सचिव रहेको बढुवा समितिले पुस १७ मा कुवेर कडायत र रवीन्द्र केसीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । तर, सिफारिस गर्नुअघि नै केसीले राजीनामा पत्र बुझाएको तथ्यबारे प्रहरीका केही उच्च अधिकृतहरू जानकार थिए ।

 केसीलाई पहिल्यै ‘आत्मसमर्पण’ गराउनुको उद्देश्यबारे प्रहरीका एक जना उच्च अधिकृतले राजनीतिक नेतृत्वले डीआईजी जनक भट्टराईलाई त्यसबेला नै एआईजी बनाउन खोजेको बताए ।  तर, बरीयतामा केसी अगाडि थिए । भट्टराईलाई सहज हुनेगरी राजीनामा पत्र नबुझाउँदा बढुवामा छुट्ने अवस्था आएपछि उनी पुस १७ भन्दा अघि नै राजीनामा बुझाउन तयार भएका हुन् । 

सिफारिस सूची प्रकाशन गर्नुअघि गृहमन्त्री रमेश लेखकले भट्टराई र केसीलाई राखेर छलफल गराए । भट्टराई कर्णाली प्रदेश प्रहरी प्रमुख हुन् । गृहमन्त्रीले दुवैलाई राखेर छलफल गराएपछि दुवै जना आपसमा ‘फुली लेनदेन’ गर्न सहमत भएको जानकारहरू बताउँछन् । प्रहरीका एक जना उच्च अधिकृतले भने, ‘यसमा उनीहरूले आपसमा सहमति गरेका थिए ।’ 

भट्टराईभन्दा अगाडि एआईजी हुन पाउने भएपछि डीआईजी हुँदै केसीले राजीनामा पत्र तयार गरे । पदस्थापन र बढुवा नियुक्ति नहुँदै आफू कार्यरत कार्यालयको नाम प्रदेश समन्वय विभाग उल्लेख गरे । अनि, मिति लेख्न ठाउँमा खाली छाडेर राजीनामा पत्र बुझाए । प्रहरी प्रधान कार्यालयबाट गृह मन्त्रालयमा फरवार्ड गर्दा उनको राजीनामा पत्रमा प्रधान कार्यालयका अधिकृतहरुले मिति भरेर पठाइदिएका छन् । 

राजीनामा पत्र स्वीकृतिका लागि मन्त्रीपरिषद्मा पेस भएको छैन । राजीनामा नदिएको भए केसी २०८१ चैत ५ मा अवकाशमा जाँदै थिए । अनिवार्य अवकाशमा जानुभन्दा ४० दिनअघि राजीनामा दिनुको कारणबारे प्रश्न गर्दा केसीले त्यसबारे नबोल्ने बताए । रातोपाटीसँग उनले भने, ‘यसबारे अहिले केही नबोलौँ ।’ 

गृहमन्त्री लेखकले जनक भट्टराईलाई अवकाशमा जानुअघि विशिष्ट श्रेणीमा बढुवा गर्न लागेका छन् । भट्टराई पनि आईजीपी कुँवरसँगै चैत ५ मा अनिवार्य अवकाशमा जाँदै छन् । विशिष्ट श्रेणीमा बढुवा भएर अवकाशमा जाँदा संवैधानिक नियुक्ति पाउने ढोका खुल्ला रहन्छ । भट्टराई नेपाली कांग्रेस सुनसरीका पूर्व जिल्ला सभापति रामबहादुर बस्नेतका ज्वाइँ हुन् । डीआईजी बरीयतामा भट्टराई चन्द्रकुवेर खापुङ भन्दा पछाडि छन् । तर, खापुङ पछिल्लो ब्याचको भन्दै भट्टराईलाई कांग्रेस नेतृत्वले एआईजीमा बढुवा गर्न खोजेको छ । 

रावल र राउतलाई पनि बढुवा गर्न चलखेल 

बिशिष्ट श्रेणीमा अवकाश भएर पेन्सन र सुविधा लिने तथा अवकाशपछि राजनीतिक नियुक्ति खोज्न नेताको दैलो चहार्ने रोग प्रहरीमा मौलाएको छ । डीआईजीहरु भोला बहादुर रावल र ध्रुवराज राउतलाई एआईजी बनाउन प्रहरीभित्रै चलखेल सुरु भएको छ । उनीहरू दुवै जना आईजीपी कुँवरका ब्याचमेट हुन् । 

चैत ५ मा अवकाशमा जानुअघि दुवै जनालाई एआईजी बनाउने गरी चलखेल थालिएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । 

रावल र राउतलाई बढुवा गर्न दुई जना एआईजीलाई राजीनामा गराउन खोजिएको छ । उच्च स्रोतका अनुसार एआईजी बुद्धि गुरुङ र कुवेर कडायतलाई राजीनामा गराएर अरू दुई जनालाई एआईजीको फुली उपहार दिन लागिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप