पत्रकारिताको विश्वसनीयतामा सङ्कट र अस्तित्वमा चुनौती
![पत्रकारिताको विश्वसनीयतामा सङ्कट र अस्तित्वमा चुनौती](https://npcdn.ratopati.com/media/news/rajendra-panthi_aNw8e2DwiB.jpg)
नेपालमा संस्थागत पत्रकारिताको इतिहास लामो छैन । हामीकहाँ परम्परागत रूपमा कटुवालप्रथा थियो, तोकिएका एक व्यक्तिले घरघरमा खबर पुर्याउँथे । यस्तै चिठीका माध्यमबाट खबर तथा सूचना पुर्याइन्थ्यो । गाउँगाउँमा गाउँदै हिँड्ने गन्धर्वहरुको गीतबाट पनि मानिसले कुनै अर्को ठाउँको घटना–विवरण थाहा पाउँथे ।
नेपालमा पत्रकारिताको संस्थागत विकास १९५८ वैशाख २४ मा गोरखापत्रको प्रकाशनसँगै भएको हो । गोरखापत्रदेखि आजसम्म आउँदा नेपाली पत्रकारितामा विभिन्न परिवर्तन देखिएका छन् । प्रजातन्त्रको प्राप्ति र पुनः स्थापना हुँदै गणतन्त्रसम्म आइपुग्दा नेपाली पत्रकारिताको अमूल्य योगदान छ । यतिखेर पत्रकारितालाई राष्ट्रको चौथो अङ्ग मानिन्छ । संविधानमा पत्रकारितालाई चौथो अङ्ग नभनिए पनि आम जनमानस र राज्यले नै चौथो अङ्गका रूपमा स्विकार्ने र विश्वास गर्ने परम्परा छ ।
हाम्रो संविधानले प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गर्दै धारा १९ मा सञ्चारको हक र धारा २७ मा सूचना हकको व्यवस्था गरेको छ । हाम्रो संविधान र कानुनमा पत्रकारितालाई अत्यन्तै महत्त्वपूर्ण स्थान दिएको देखिन्छ । पत्रकारिता भनेको पेसा, व्यवसाय एवं उद्योग हो । पत्रकारिता जनसरोकारको विषय हुनाले यसलाई आमसञ्चार पनि भनिन्छ । जनतालाई सही सूचना सम्प्रेषित गर्ने प्रमुख भूमिका पत्रकारिताकै हुन्छ । पत्रकारिता आम जनताको आवाज पनि हो । जनताको आवाजलाई राज्यसँग पुर्याउने र राज्यबाट गरिएका कमी–कमजोरीको पर्दाफास गर्ने एउटा महत्त्वपूर्ण माध्यम पत्रकारिता हो । पत्रकारिता कुनै एक व्यक्तिले एक्लै गर्न सक्दैन । पत्रकारिताका अनिवार्य तत्त्व भनेका आम जनसमुदाय, सञ्चारमाध्यम, पत्रकार हुन् । पत्रकारिताका मूल तीन सिद्धान्त वा सूत्र छन्— एबीसी अर्थात् सत्यता, सन्तुलन र विश्वसनीयता ।
पत्रकार आचारसंहिता (२०७३) मा पत्रकार र सञ्चार–माध्यमका कर्तव्यको व्यवस्था गरिएको छ । जसमा पेसागत मर्यादा, वस्तुनिष्ठ, विश्वनीय र मर्यादित समाचारको सम्प्रेषण, गोपनीयताको सम्मान, गल्ती सच्याउने तत्परता आदि छन् । मूल्य–मान्यता र सिद्धान्त बिनाको पत्रकारितामा सत्यता, सन्तुलन विश्वसनीयताको समन्वय हुँदैन र तिनले जनतालाई सही समाचार सम्प्रेषित गर्न सक्दैनन् । पत्रकारिता हुन पत्रकारिताका न्यूनतम मापदण्ड पूरा र पालना गर्नैपर्छ ।
नेपालको आमसञ्चारको विकासमा पछिल्लो चरणमा गुणात्मकभन्दा संख्यात्मक पत्रकारिताले उछिनेको देखिन्छ । आज नेपालमा मिडियाको जुन गति र रफ्तारमा संख्यात्मक विकास भइरहेको छ, त्यो गतिमा गुणात्मकताको विकासमा भने क्रमशः ह्रास आइरहेको देखिन्छ । कतिपय कहलिएका पत्रकारकै कलम र प्रस्तुतिमा नौटंकी र जादुगरका शैली र प्रस्तुति देखिन्छन् । समाचारका नाममा हेडलाइन बनाइएका छन् तर त्यसमा न समाचार हुन्छ, न त कुनै सन्दर्भ वा विषयको गहिराइ नै । ती केवल समाचारका लागि मात्र समाचार बनिरहेका हुन्छन् । कतिपय नाम कहलिएका टेलिभिजन टक सोहरूमा अध्ययन बिनाका जबर्जस्त प्रश्नहरू सोधिन्छन् । तिनमा विषयको गहिराइ र गाम्भीर्यता हुँदैन । वरिष्ठ पत्रकार भनिँदाहरू नै भ्युज र भीडका पछाडि दगुरेर भाइरल समाचार खोज्न तत्पर हुन्छन्, र त्यसलाई समाचारमा प्राथमिकता दिइरहेका हुन्छन् । वास्तवमा यस्ता किसिमका भाइरल समाचारले समाजलाई सुसूचित गर्नुको सट्टा भ्रमित र खण्डित बनाउँछ; पत्रकारिताको अस्तित्व र विश्वसनीयतामाथि नै ठुलो सङ्कट पैदा हुन्छ ।
राजनीतिभन्दा अर्काे विषय नै छैन जस्तो गरी हामीकहाँ पत्रकारिता चलिरहेको देखिन्छ । नेपालको तरल र अस्थिर राजनीतिको प्रभाव नेपाली पत्रकारितामा परेको छ । पत्रकारितालाई चलाउने एउटा महत्त्वपूर्ण स्रोत राजनीतिक पार्टी हुनाले नेपाली पत्रकारितामा दलको गुणगान र प्रशंसा ज्यादा भएको देखिन्छ ।
आमसञ्चार भनेको समाजको ऐना मात्र नभएर वाच–डग (पहरेदार) पनि हो । समाजको चरित्र र स्वरूपको प्रतिरूप मिडियामा प्रतिबिम्बित हुनुपर्छ । देशमा समानता, सुशासन, न्याय र समृद्धिका लागि मिडियाको महत्त्वपूर्ण योगदान हुन्छ ।
सञ्चार–माध्यमका मूलमन्त्र सत्य, सन्तुलन र विश्वसनीयता हो, यसैका आधारमा जनताले सञ्चारमाध्यममाथि विश्वास गर्ने हुन् । संसारको परिवर्तन गर्नुछ भने सबैभन्दा छिटो चल्ने हतियार भनेको पत्रकारिता नै हो भनिन्छ । पत्रकारितामा समाज बनाउने वा हल्लाउने यति ठुलो तागत वा शक्ति हुन्छ कि क्षणभरमै त्यसले उथलपुथल पार्न सक्छ । समाजलाई कुन गतिमा कता लैजाने भन्ने कुरामा पत्रकारिताको पनि महत्त्वपूर्ण हात हुन्छ ।
पत्रकारिताभित्रको सकारात्मक सन्देशले समाज परिवर्तन गर्न वा सामाजिक चेतना र जागृति फैलाउन निकै ठुलो भूमिका निर्वाह गरेको हुन्छ । मिडिया भनेको निकै संवेदनशील अङ्ग पनि हो । समाचारभित्र समाचार नै हुनुपर्छ । मिडियामा समाचार बन्न ‘फाइभ–डब्लु वन–एच’ हुनैपर्छ । सिद्धान्त बिनाका समाचारले समाजलाई भ्रमित पारेर विखण्डनतिर धकेल्छन् ।
नेपालमा पछिल्ला केही वर्षमा मिडियामाथि अविश्वसनीयता बढिरहेको छ । मिडियाका हेडलाइन टिकाउभन्दा पनि बिकाउ प्रकृतिका देखिन्छन् । आजका सामाजिक सञ्जाल केन्द्रित केही मिडियामा समाजकेन्द्रित भन्दा पनि लाइक, सब्क्राइभ र भ्युज केन्द्रित समाचार देखिन्छन् । सामाजिक संयन्त्रलाई मिलाउनेभन्दा भत्काउने प्रकृतिका समाचारले प्राथमिकता पाइरहेका देखिन्छन् ।
अहिले नेपाली मिडियाले राजनीतिलाई अत्यन्तै प्राथमिकता दिइरहेको हुनाले पनि पत्रकारितामा केही अस्थिरता र विचलन आएको देखिन्छ । मानौँ राजनीतिभन्दा अर्काे विषय नै छैन जस्तो गरी हामीकहाँ पत्रकारिता चलिरहेको देखिन्छ । नेपालको तरल र अस्थिर राजनीतिको प्रभाव नेपाली पत्रकारितामा परेको छ । पत्रकारितालाई चलाउने एउटा महत्त्वपूर्ण स्रोत राजनीतिक पार्टी हुनाले नेपाली पत्रकारितामा दलको गुणगान र प्रशंसा ज्यादा भएको देखिन्छ । किसानका समस्या, असहाय र अपाङ्गका समस्या, दुर्गमका कुरा, विभेदका कुरा र भुइँमान्छेका आधारभूत आवश्यकता कुरालाई प्राथमिकताका साथ हेडलाइन बनाएर सम्प्रेषित गर्ने हो भने वा जनताका समस्या बारम्बार हेडलाइन बन्ने हो भने राज्य सोच्न बाध्य हुन्न र ? राज्य संयन्त्र चलाउन बसेकाहरू सतर्क र सचेत हुन्नन् र ?
नेपालमा वर्षाैंदेखि भ्रष्टाचारका काण्डका चाङ लागिरहेका छन् । भनिन्छ, यी कुरामा मिसन पत्रकारिता र खोज पत्रकारिताले आफ्नो धर्म नछोडी निरन्तरता दिओस् त राज्य एक दिन चुकेरै छाड्दैन र ? राज्यलाई खबरदारी गर्ने पत्रकारिताको धर्म होइन र ? यहाँ त कस्तो छ भने काण्ड भनेर एक दिन ब्यानर न्युज आउँछ अनि खोज्दै जाँदा कुनै खास दलको मान्छे पर्छ अनि मिसन पत्रकारिता भनिएको कुरा गुपचुप पत्रकारितामा थन्किन्छ र सेलाउँछ ।
आमसञ्चार भनेको पुलिस र न्यायाधीश दुवै होइन । वास्तविक सत्य र तथ्य घटनालाई देखाइदिने र सम्बन्धित निकायमा पुर्याउने पत्रकारिताको धर्म हो । कसैलाई सिध्याउन र उसको छवि नै बिगार्न पत्रकार एकोहोरो लाग्नु पनि हुँदैन ।
असत्य घटनालाई सत्य भनेर बारम्बार हेडलाइन बनाइरहने हो भने पनि आम जनमानसमा सत्य भन्ने भ्रम पैदा हुन्छ, त्यसैले यस्तो समाचारले तत्कालीन रूपमा कोही कसैलाई फाइदा होला तर दीर्घकालीन रूपमा सबैलाई हानि पुर्याउँछ ।
कतिपय अवस्थामा कुनै घटना घटेकै हुँदैन तर न्युज आइसकेको अवस्था देखिन्छ । ज्युँदो मान्छे मरेको हुन्छ र मर्न लागेको मान्छेले सहारा पाएको हुँदैन । त्यसैले समाज वा राज्यलाई सही मार्गमा हिँडाउन पत्रकारिताको महत्त्वपूर्ण भूमिका हुन्छ । पत्रकारिता जस्तो अत्यन्तै महत्त्वपूर्ण र संवेदनशील क्षेत्रमा जो–कोही पनि पत्रकार र जे पनि समाचार हुन सक्दैन । पत्रकार हुनका लागि न्यूनतम मापदण्ड पूरा गर्नैपर्छ । पत्रकारिताको आचारसंहिता भित्र पर्दै नपर्ने व्यक्ति जबर्जस्त पत्रकार बनेर आम जनमानसमा सही सूचना सम्प्रेषण हुन सक्छ र ? अरु जुनसुकै विषयमा विषयविज्ञता हासिल नै गरेको भए पनि पत्रकारिताका लागि त्यो व्यक्ति उपयुक्त हुँदैन । पत्रकारिताका लागि पत्रकार नै हुनुपर्छ । जो कोही लहड वा रहरमा सजिलै पत्रकार बन्न सक्दैनन् । आज नेपालमा कतिपय टीभी, छापा र अनलाइन मिडियामा पत्रकारिताका न्यूनतम मापदण्ड पनि पूरा नगरेका तथाकथित पत्रकारको बिगबिगी देखिन्छ । यसले गर्दा पनि गुणात्मकताप्रति निकै प्रश्न उठिरहेको छ । पत्रकारिता प्रश्नको उत्तर खोज्ने ठाउँ हो । प्रश्न गर्न सम्बन्धित विषयमा धेरै खोज र अध्ययन गर्नुपर्छ । सही प्रश्नलाई आधा उत्तर पनि भनिन्छ ।
किसानका समस्या, असहाय र अपाङ्गका समस्या, दुर्गमका कुरा, विभेदका कुरा र भुइँमान्छेका आधारभूत आवश्यकता कुरालाई प्राथमिकताका साथ हेडलाइन बनाएर सम्प्रेषित गर्ने हो भने वा जनताका समस्या बारम्बार हेडलाइन बन्ने हो भने राज्य सोच्न बाध्य हुन्न र ? राज्य संयन्त्र चलाउन बसेकाहरू सतर्क र सचेत हुन्नन् र ?
अहिलेको विश्व एउटा डिभाइसमा सीमित छ । समय र समाज जहिले पनि नयाँ कुरा खोजिरहेको हुन्छ । पत्रकारिताले पनि समयको गतिसँगै आफ्नो अस्तित्व स्थापित गर्दै समय अनुकूल परिवर्तन हुँदै जानुपर्छ । हिजो वा अस्तिको जस्तो पत्रकारिताले आजको पत्रकारिता चल्दैन । नेपालका कतिपय मिडिया हाउसहरूले हिजो पनि हामी प्रधान थियौँ र आज पनि हामी प्रधान नै हौँ भन्ने तरिकाले हामी जे बोल्छौँ र भन्छौँ, त्यो सबैले स्विकार्नुपर्छ भन्ने तरिकाले नेपाली मिडियाको बजारलाई आफ्नै नियन्त्रणमा लिन खोजिरहेको देखिन्छ । लोकतान्त्रिक युगमा नियन्त्रित वा निरंकुश पत्रकारिता चल्दैन । पत्रकारितामा व्यावसायिकता र जवाफदेहिता अनिवार्य हुन्छ । व्यावसायिक पत्रकारिताको नाम दिएर गुदीरहित भँगेरा टाउके शीर्षक मात्र बनाएर वा जनतालाई भ्रममा पार्न प्रश्नबिनाका उत्तर मात्र पस्केर पत्रकारिता र समाचार हुन सक्दैन । मिडिया, पत्रकार र समाचार हुनका लागि निश्चित व्यावसायिक र कानुनी मापदण्ड पूरा गर्नुपर्छ । अहिले सबैको हातहातमा डिभाइस र इन्टरनेटको पहुँच पुगेको हुनाले जसले पनि समाचार भनेर सम्प्रेषित गर्न सक्छ, त्यो वास्तविक समाचार हुनै सक्दैन । राज्यको चौथो अङ्ग आमसञ्चारलाई सही मार्गमा अगाडि बढाउन र अस्तित्व जोगाउन राज्यले नियन्त्रण होइन, नियमन गर्न जरुरी देखिन्छ ।
(भर्जिनिया, अमेरिका)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षित इन्टरनेट दिवस मनाइयो
-
नसर्ने रोगको निःशुल्क परीक्षण कहाँ गराउने ?
-
नेपालमै अध्ययन गरी देश निर्माणमा लाग्न युवाहरूलाई सिंहको आग्रह
-
प्रहरीमाथि कुटपिट गर्नेलाई तत्काल कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन
-
कप्तानको उत्कृष्ट शतकसँगै श्रीलंकाले अस्ट्रेलियालाई दियो २१५ रनको लक्ष्य
-
युक्रेनमा शान्ति स्थापना : राष्ट्रपति सीको भूमिका चाहन्छन् ट्रम्प, सघाउला त चीनले ?