बुधबार, ३० माघ २०८१
ताजा लोकप्रिय

दुई दलीय चक्रव्यूहमा मौलाएको यथास्थिति

बुधबार, ३० माघ २०८१, ११ : ०३
बुधबार, ३० माघ २०८१

यथास्थिति भन्नाले मूलतः परिवर्तनको विरोध गर्ने तथा वर्तमानको अवस्थालाई विभिन्न बहानामा जस्ताको तस्तै राख्ने प्रवृत्ति हो । खासगरी यस्तो प्रवृत्ति अर्थराजनीति, प्रशासन, परराष्ट्र नीति तथा सामाजिक रूपान्तरणको विविध क्षेत्रमा प्रत्यक्ष वा परोक्ष, औपचारिक तथा अनौपचारिक वा सांकेतिक रूपमा देखिन्छ । जुन आज आम नेपालीले अनुभूति गरिरहेका छन् ।

यसलाई सन्दर्भगत रूपमा बुझ्न सकिन्छ—  राजनीतिक सन्दर्भमा विद्यमान समाजको संरचनालाई परिवर्तन नगरी यथास्थितिमा राख्ने; समाजशास्त्रीय सन्दर्भमा समाजमा रहेका वर्ग, संरचना, परम्परा वा संस्कृतिलाई यथावत् कायम राख्ने; अर्थशास्त्रीय सन्दर्भमा मुलुकको सिंगो आर्थिक प्रणालीलाई यथावत राख्ने; कूटनीतिक सन्दर्भमा अन्तर्राष्ट्रिय सम्बन्धमा परिवर्तन नगर्ने नीति लिने तथा प्रवृत्ति देखाउने । 

मानिस प्रकृतिको सबभन्दा उन्नत सृष्टि हुनुका साथै जन्मजात स्वतन्त्र र उच्च महत्त्वाकांक्षा बोक्ने प्राणी हो । मानवअधिकार, कानुनी राज्य, लोककल्याणकारी राज्यको अवधारणा, समुन्नत लोकतन्त्र, विश्वव्यापीकरणको असर र प्रभाव, एआईको तीव्र विकासजस्ता कारणले उसको चेतनाको स्तर झनै उन्नत बन्नुको साथै नागरिक अधिकारप्रति पनि उत्तिकै सचेत छ । अझ एआईको विकास र पहुँचका कारण मानिसले चौबिसै घण्टा विश्वसँग साक्षात्कार गरिरहेको हुन्छ । विश्वका करिब आठ अर्ब मानिसमध्ये आफू एक भएको ठान्छ । आफ्नो समाजलाई समकालीन विश्वको सर्वश्रेष्ठ नत्र समानस्तरको समाज भएको हेर्न चाहन्छ । विडम्बना, नेपाली समाज दलतन्त्रको दलदल हुँदै यतिखेर दुई दलीय यथास्थिथिको चक्रव्यूहमा फसेको छ । 

परिवर्तन भएको खण्डमा आफ्नो सान–सौगात, हैसियत गुम्ने तथा आफू शक्तिमा हुँदा गरेको कुकर्म मा दण्डित हुने भयबाट यथास्थितिवादीहरू गुज्रेका हुन्छन् । परिवर्तनको कठिन बाटो हिँड्ने दृष्टिकोण र साहस उनीहरूमा हुँदैन । कुवाभित्रको भाले भ्यागुतो बन्ने प्रवृत्ति हाबी हुन्छ ।

यथास्थिति प्रकृति, गति, समाज विकास तथा परिवर्तन व्यवस्थापनको नियमको जहिले पनि विरुद्धमा हुन्छ । क्रान्ति, सुधार तथा प्रगतिको विरुद्धमा हुन्छ । परिवर्तन भएको खण्डमा आफ्नो सान–सौगात, हैसियत गुम्ने तथा आफू शक्तिमा हुँदा गरेको कुकर्म मा दण्डित हुने भयबाट यथास्थितिवादीहरू गुज्रेका हुन्छन् । परिवर्तनको कठिन बाटो हिँड्ने दृष्टिकोण र साहस उनीहरूमा हुँदैन । कुवाभित्रको भाले भ्यागुतो बन्ने प्रवृत्ति हाबी हुन्छ । समुद्रतर्फ जाने जोखिम लिन चाहँदैनन् । दुनियाँमा परिवर्तनभन्दा बाहेक सबै चिज परिवर्तनशील छ । तर विश्वव्यापी लोकतन्त्रको मूल्य र मान्यता विपरीत बनेको दुई ठुला दलको सरकार र यसले सिर्जना गरेको चक्रव्यूहमा यथास्थितिवाद मौलाउँदै गएको छ । यस नेतृत्वको भिजन, मिसन र एक्सन अनि आमनागरिकको आवश्यकता, इच्छा, चाहना र चेतनाको स्तरका बिचमा ठुलो खाडल रहेको छ । 

नागरिकहरू हरिणजस्तो दौडिन चाहन्छन्, नेतृत्व भने गोहीजस्तो घस्रिन चाहन्छ; अझ उखान टुक्का, बहाना, आरोप–प्रत्यारोप, गुटबन्दी, विभाजनजस्ता गैरजिम्मेवारी, गैरराजनीतिक विषयलाई कारण र बहाना बनाएर यथास्थितिमा रमाउन चाहन्छन् । यथास्थितिमा रमाउनु भनेको नयाँ अवसर, विकास र समृद्धिबाट टाढिनु हो । उर्लंदो नदीलाई बाँध बाँधेर छेक्ने दुष्प्रयास गरेजस्तै समाज विकासको गतिलाई रोक्ने दुष्कर्म गर्नु हो । जुन दूरदर्शी राजनेताले गर्दैनन् । किनकि समाज विकासको गति छिटो वा ढिलो हुन सक्छ, तर रोकिँदैन । 

अर्कातर्फ अधिकांश राजनीतिक दलहरूको दस्ताबेजको टाउकोमा अग्रगामी परिवर्तनलाई संकेत गर्ने टाटुहरू भने प्रशस्त खोपेका छन् । यस्तै कम्युनिस्टले साम्यवादको, काङ्ग्रेसले प्रजातान्त्रिक समाजवादको, मधेसवादी दलहरूले समाजवादी र मधेसको अधिकारको, राप्रपाले राष्ट्रवाद र राजतन्त्रको, नयाँ भनिएका दलहरूले ‘नो नट एगेन’ र प्रियतावादको इत्यादि टाटु खोपेका छन् । तर जब उनीहरू सत्ताको खेललाई ‘म्युजिकल चेयर’ ठान्दै सत्तामा पुग्छन् अनि व्यवहारबाट पुष्टि हुन्छ, उनीहरू त सबै एउटै ड्याङका साना–ठुला गाजर मात्र रहेछन् भनेर । सायद सत्ताको मलले यस्तो भएको हुन सक्छ । जनता र नयाँ समाजको टाटु भने कसैले खोपेको देखिँदैन ।

यावत् घटनाहरूको शृंखलाले के पुष्टि गर्छ भने जनता इमानदार छन् तर नेतृत्व इमानदार छैनन् । त्यस कारण जनताले धोका पाएका हुन् । दर्जनौँ भ्रष्टाचारका काण्डहरू, ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित मुद्दाले पुष्टि गरेको छ । सत्ता र शक्तिको आडमा पाएका उन्मुक्तिहरूको फेहरिस्त पनि निकै लामो छ । सर्वसाधारण आम नागरिक त्यस्ता कुनै अपराधमा मुछिएका छैनन् । अझ पछिल्लो चरणमा त लोकतन्त्रको विश्वव्यापी मान्यताविपरीत पहिलो र दोस्रो ठुला दलहरूले सरकार बनाएर सिंगो मुलुकलाई नै दुई दलीय चक्रव्यूहमा फसाउँदै यथास्थितिको पक्षपोषण गरेको सर्वत्र आभास हुन थालेको छ । मधेसको भूगोलमा एउटा भनाइ चर्चित छ— ‘गइल भैँस पाइन मे पडुँ सहित’ (भैँसी त पानीमा गयो गयो, पाडोलाई समेत सँगै लग्यो) ।

नयाँ समाजका निर्माता सर्वशक्तिमान नागरिकहरूले जब यथास्थितिका विरुद्ध धावा बोल्छन्, तब मौजुदा प्रणाली र त्यसका नाइकेहरूको सँगै अवशान हुन्छ । इतिहास साक्षी छ, राणाशासनको अन्त्यसँगै श्री ३ को अवशान भयो । पञ्चायती व्यवस्थाको अन्त्य सँगै एक प्रकारले पञ्च र राजतन्त्रको अन्त्य भयो । दुई दलीय चक्रव्यूहले राजनीतिक, प्रशासनिक तथा परराष्ट्र नीतिको विश्वासनीयता गुमाउँदै लगेको छ । 

प्रदेश र संघको निर्वाचनमा थ्रेसहोल्ड बढाएर अघोषित रूपमा दुई दलीय सिन्डिगेट कायम गर्न खोज्दै छ । प्रदेशलाई अधिकार सम्पन्न बनाउने र प्रशासनिक क्षेत्रको मियो ऐनका रूपमा रहेको संघीय निजामती सेवा ऐन जारी गर्ने सरकारको प्राथमिकतामा हालसम्म परेको छैन । संसदको हिउँदे अधिवेशन बोलाउने समयमा अपारदर्शी ढंगले दुई दलीय सहमतिमा दर्जनौँ अध्यादेश जारी गरिन्छ । चालु आवको बजेटको आकारलाई समेत करिब दुई खर्बले घटाएर बजेट संशोधन गर्ने तयारी गर्नुको अर्थ अर्थतन्त्र धराशायी बन्दै गएको पुष्टि हुँदै छ । बेरोजगारी समस्या र शिक्षामा भएको माफियाकरणले देश युवाविहीन बन्दै गएको छ । जनशक्ति अभाव र परम्परागत कृषि प्रणाली कायम रहेका कारणले गर्दा अधिकांश जग्गा बाँझिएका छन् । यसरी कृषि उत्पादन घटेकाले गर्दा कृषिप्रधान देशले खाद्यान्न विगत केही समयदेखि आयात गर्नुपरेको छ । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्र निःशुल्क हुनुको सट्टा माफियाकरणको कारणले गर्दा सर्वसाधारण नागरिकले उपचार नै गर्न नसक्ने गरी महँगो छ । अधिकांश खोलाहरू नेता वा दलालका झोलामा छन् । 
राजनीतिक नियुक्तिहरू योग्यता, दक्षता र विज्ञताका आधारमा गर्नुको सट्टा कार्यक्रताहरूको भर्ती केन्द्र बनेका छन् । ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण तथा नीतिगत भ्रष्टाचारका अनगिन्ती काण्डहरू ‘ओपन सेक्रेट’का रूपमा छन् । मानव तस्करीसँग जोडिएको भुटानी शरणार्थी काण्ड त मुलुकको राजनीतिक र प्रशासनिक इतिहासमा कलंकको रूपमा दर्ज भएको छ । समग्रमा समृद्ध राष्ट्र सुखी नेपालीको नारा आफैँ लज्जित बन्दै गएको छ । 

अब आमनेपाली जनतासँग दुईवटा मात्र विकल्प छन् । पहिलो : यस्तै यथास्थितिलाई स्वीकार गरिरहने । यावत विकृतिहरूको सिकार बन्दै जाने । चाहे विश्वको सबभन्दा गरिब र कंगाल मुलुक र नागरिक बन्न किन नपरोस् । तर ‘आई लभ यु बा’ र ‘दाजु, भाउजु, र डन्टवरी दाइ’ भन्न नछाड्ने । 

दोस्रो : यथास्थितिबाट मुक्ति र नयाँ राष्ट्रको निर्माता बन्ने । आमनागरिकहरू जहिले पनि सार्वभौम अधिकार सम्पन्न र सर्वशक्तिमान हुन्छन् । नेतृत्वमा नभए पनि नेतृत्वको चयन भने उनीहरूले आफ्नो मताधिकारबाट गर्छन् । तसर्थ नयाँ राष्ट्र निर्माण गर्ने हो भने आफ्नो जस्तो चाहना भएको नेतृत्व चयन गर्नुपर्छ । जसका लागि सर्वप्रथम यथास्थितिवादको चंगुलमा फसाउने दलहरूको माकुरी जालोबाट मुक्त हुँदै नयाँ राष्ट्रको निर्माता बन्नुपर्छ । जसरी विकसित मुलुकका नागरिक नयाँ तथा समृद्ध राष्ट्रको निर्माता बन्न सफल भए । यसका लागि नागरिकमा ग्लोबल थिङकिङको विकास हुनुपर्छ । सफल र समुन्नत राष्ट्रहरूको अनुभवबाट सिक्नुपर्छ । किनकि यथास्थितिबाट मुक्ति र नयाँ राष्ट्रको निर्माण गर्न बहुआयामिक दृष्टिकोण हुनुपर्छ । जसका लागि अर्थराजनीति, प्रशासनिक, वैदेशिक, कूटनीतिक तथा प्राविधिक जस्ता पक्ष र प्रणालीमा आमूल परिवर्तन गर्नुपर्छ । 

नेतृत्वसँग मौजुदा समाजको गहिरो ज्ञान र विश्लेषण हुनुका साथै नयाँ राष्ट्रको खाका बृहत् जनविमर्शद्वारा तय गरिनुपर्छ । वस्तुगत र स्वतन्त्र विचार, सिर्जनात्मक चिन्तन, नवप्रवर्धनमा जोड, विश्व व्यवस्था प्रणाली अनुरूपको आर्थिक नीतिहरू तय गरिनुपर्छ । सामाजिक न्याय र समान अवसरमा जोड दिनुपर्छ । कानुनी शासनलाई मजबुत बनाउनुपर्छ । दण्डहीनताको अन्त्य हुनुपर्छ । युग विपरीतको चिन्तन, आचरण र संस्कार बोकेका राजनीतिक नेतृत्वबाट नागरिकहरू बेलैमा मुक्त हुनुपर्छ । नत्र नागरिकको पनि भुल हुनेछ । मौजुदा अपूर्ण लोकतन्त्रको मोहमा नफसी अझ उन्नत लोकतन्त्रको शंखघोष गर्नुपर्छ । लोकतन्त्रमा पोलिटिकल स्पेस व्यापक हुन्छ । नागरिकहरूले त्यो स्पेसभित्र जिमनास्टिक खेल्न सक्नुपर्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

केशव खतिवडा
केशव खतिवडा
लेखकबाट थप