कोही पनि सुरक्षित नहुने चेतावनी दिएका अर्थमन्त्रीले हटाए भन्सार र राजश्वका महानिर्देशक
![कोही पनि सुरक्षित नहुने चेतावनी दिएका अर्थमन्त्रीले हटाए भन्सार र राजश्वका महानिर्देशक](https://npcdn.ratopati.com/media/news/bbb_5sBV6igW1l.jpg)
काठमाडौँ । राजश्व प्रशासनका मुख्य दुई निकाय आन्तरिक राजश्व विभाग र भन्सार विभाग नेतृत्वविहीन भएको छ । सरकारले सोमबार दुवै विभागसहित १७ जना सहसचिवलाई सरुवा गरेसँगै दुवै विभाग खाली भएको हो ।
मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय बमोजिम सरुवा भएका १७ जना सहसचिवको विवरण सार्वजनिक गरेको छ । यस अनुसार आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यलाई संघीय मामिला मन्त्रालयमा तथा भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ ।
त्यस्तै, मन्त्रालयको संस्थान समन्वय महाशाखा हेर्ने दीर्घराज मैनालीलाई राष्ट्रिय सूचना आयोगमा वित्तीय क्षेत्र हेर्ने महाशाखा प्रमुख नारायणप्रसाद रिसाललाई गृह मन्त्रालयमा सरुवा गरिएको हो।
यसरी अर्थ मन्त्रालय सरुवा भएर गएका तीन सहसचिवको ठाउँमा तीन जनालाई मन्त्रालय तानिएको छ । जसमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी रहेका तीर्थराज चिलुवाल र महिला आयोगकी पार्वती अर्याल र संघीय मामिला मन्त्रालयका श्रीचन्द्र साह रहेका छन् । साह सूचना प्रविधि विज्ञ हुन् ।
उता राष्ट्रिय सूचना आयोगका कमल प्रसाद भट्टराईलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाइएको छ । योजना आयोगका यज्ञराज कोइरालालाई कृषि तथा पशुपंक्षी मन्त्रालयमा पठाइएको छ ।
त्यस्तै, परराष्ट्र मन्त्रालयका सहसचिव उदय बहादुर रानालाई बाग्मती प्रदेश मुख्यमन्त्री कार्यालयको सचिव बनाइएको छ । इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहेतालाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ ।
संघीय मामिला मन्त्रालयकै इञ्जिनियरिङ सेवातर्फका सहसचिव पुष्कर प्रसाद पोखरेल र राजकुमार गोइतलाई सहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।
यता, राष्ट्रिय किताब खानाका उपमहानिर्देशक युवराज पौडेललाई शिक्षा मन्त्रालय, संघीय मामिला मन्त्रालयका सूचना प्रविधि विज्ञ आदेश खड्कालाई सञ्चार मन्त्रालयमा पठाइएको छ ।
यसैगरी, संघीय मामिला मन्त्रालयका सूचना प्रविधि विज्ञ राजकुमार गोइतलाई सहरी विकास मन्त्रालय, पुष्कर प्रसाद पोखरेललाई सहरी विकास मन्त्रालय तथा कोशी प्रदेश मुख्यमन्त्री कार्यालयका प्रेमकुमार सिंहलाई भौतिक पूर्वाधार मन्त्रालय र लुम्बिनी प्रदेश भूमि मन्त्रालयकी सचिव नम्रता सिंहलाई संघीय मामिला मन्त्रालयमा सरुवा गरिएको छ ।
दुई महिना अघि अर्थमन्त्री विष्णु पौडेलले कर्मचारीहरूलाई राजश्व लक्ष्य पुर्याउन नसके कोही पनि सुरक्षित नहुने चेतावनी दिएका थिए । उनीहरूलाई गत भदौमा विभाग पठाइएको थियो । ६ महिना नपुग्दै उनीहरूलाई सरुवा गरिएको हो । अहिले भन्सार र आन्तरिक दुवै राजश्व बढे पनि लक्ष्य पूरा हुन भने सकेको छैन ।
अब मन्त्रालय अन्तर्गत रहेका सहसचिव मध्येबाट दुवै विभागको महानिर्देशक पठाउने सम्भावना छ । यसका लागि महेश भट्टराई र मदन दाहालको सम्भावना धेरै रहेको बताइन्छ ।
उता बजेट निर्माण सुरु हुन लागेकोले यही सेटबाट पौडेलले बजेट निर्माणको टिम समेत बनाउँदै छन् । मन्त्रालय अन्तर्गत आएका सहसचिवको जिम्मेवारी मन्त्रीस्तरीय निर्णयबाटै हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र भारतबिच अन्तरदेशीय प्रसारण लाइन निर्माणको ‘मोडालिटी’मा सहमति
-
जलवायु परिवर्तनका कारण नेपालले ठुलो क्षति व्यहोरिरहेको छ: मुख्यमन्त्री लामा
-
काठमाडौँ महानगरपालिकाका प्रमुखको इजलासबाट ८०.०६ प्रतिशत विवाद निरूपण
-
भन्सार प्रमुखको सरुवा भएकोमा अर्थ समितिका सभापतिको गुनासो
-
बक्स अफिसमा राम्रो कमाइ गर्दै रि-रिलिज गरिएको ‘सनम तेरी कसम’
-
कीर्तिपुर स्थित बीपी कोइराला स्मृति प्लानेटरियममा विज्ञान सम्बन्धी प्रदर्शनी सुरु (तस्बिरहरू)