लगातार दुई दिन वर्षाले खेल बिथोलेपछि दुवै टोलीलाई विजेता घोषित गरिएको तेस्रो संस्करण
दोस्रो संस्करण अफ्रिकामा आयोजना भएपछि आईसीसी च्याम्पियन्स ट्रफीको तेस्रो संस्करण फर्किएर दक्षिण एसियामै आइपुगेको थियो । त्यसअघि प्रतियोगिताको पहिलो संस्करण पनि दक्षिण एसियाली राष्ट्र बंगलादेशमा आयोजना भएको थियो ।
प्रतियोगिताको तेस्रो संस्करण भने सन् २००२ को सेप्टेम्बर १२ देखि सेप्टेम्बर ३० तारिखसम्म श्रीलंकामा सञ्चालन भएको थियो । तेस्रो संस्करणको एउटा विशेषता पनि थियो । यसअघिका दुई संस्करणको नाम ‘आईसीसी नकआउट ट्रफी’ राखिएको थियो ।
तर, तेस्रो संस्करणमा आएर प्रतियोगिताको नाम परिवर्तन गरी ‘आईसीसी च्याम्पियन्स ट्रफी’ राखिएको थियो । सुरुमा तेस्रो संस्करण भारतमा आयोजना गर्ने तय भएको थियो । तर, पछि विविध कारणले प्रतियोगिता श्रीलंकामा सारिएको थियो ।
तेस्रो संस्करणमा पनि टोलीको संख्या थप गरिएको थियो । अघिल्लो संस्करणमा ११ टोलीले भाग लिएका थिए भने तेस्रो संस्करणमा १२ वटा टोलीले सहभागिता जनाएका थिए । प्रतियोगितामा आयोजक श्रीलंकाका अतिरिक्त आईसीसीका १० वटै पूर्णकालीन सदस्य राष्ट्र सहभागी थिए ।
यसका अतिरिक्त, नेदरल्यान्ड्सको पनि सहभागिता रहेको थियो । नेदरल्यान्ड्सले सन् २००१ को आईसीसी ट्रफी हुँदै च्याम्पियन्स ट्रफीमा स्थान पक्का गरेको थियो । तेस्रो संस्करणमा आएर प्रतियोगिताको ढाँचामा पनि परिवर्तन गरिएको थियो ।
प्रतियोगितामा सहभागी १२ टोलीलाई चार समूहमा विभाजन गरिएको थियो । प्रारम्भिक चरणको खेलपछि चारवटै समूहबाट एक–एक टोली सेमिफाइनलमा पुग्ने प्रवधान राखिएको थियो । यसअघिका दुईवटा संस्करण भने नकआउटका आधारमा खेलिइएको थियो ।
तेस्रो संस्करणको समूह ‘ए’ मा अस्ट्रेलिया, न्युजिल्यान्ड र बंगलादेश रहेका थिए । यी तीनवटै टोलीले एक–अर्कासँग एक–एक खेल खेलेका थिए । उक्त समूहबाट दुईवटै खेल जितेको अस्ट्रेलिया आठ अंकसहित पहिलो हुँदै सेमिफाइनलमा पुगेको थियो ।
यसैगरी, भारत, इङ्ल्यान्ड र जिम्बाबे समूह ‘बी’ मा थिए । उक्त समूहबाट दुईवटै खेल जितेको भारत आठ अंकसहित सेमिफाइनलमा प्रवेश गरेको थियो । समूह ‘सी’ मा दक्षिण अफ्रिका, वेस्ट इन्डिज र केन्या रहेका थिए । उक्त समूहबाट आठ अंकसहित दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको थियो ।
यसैगरी, समूह ‘डी’ मा श्रीलंका, पाकिस्तान र नेदरल्यान्ड्स रहेका थिए । उक्त समूहबाट दुईवटै खेल जितेको श्रीलंका आठ अंकसहित पहिलो हुँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । सेमिफाइनलमा भारतले दक्षिण अफ्रिका र अस्ट्रेलियाले श्रीलंकालाई प्रतिद्वन्द्वीका रूपमा पाएका थिए ।
पहिलो सेमिफाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई १० रनले हराएको थियो । दोस्रो सेमिफाइनल खेलमा भने श्रीलंकाले अस्ट्रेलियालाई सात विकेटले पाखा लगाएको थियो । फाइनलमा खेल सेप्टेम्बर २९ तारिखमा खेलिने कार्यक्रम रहेको थियो ।
फाइनलमा श्रीलंकाले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर दुई सय ४४ रन बनाएको थियो । जवाफी ब्याटिङमा भारतले दुई ओभरमा कुनै विकेट नगुमाई १४ रन बनाएपछि वर्षाका कारण खेल रद्द भएको थियो । त्यसपछि फाइनल खेल सेप्टेम्बर ३० तारिखका लागि सारिएको थियो ।
सेप्टेम्बर ३० तारिखमा खेलिएको फाइनल खेलमा श्रीलंकाले पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा सात विकेट गुमाएर दुई सय २२ रन बनाएको थियो । जवाफमा भारतले ८.४ ओभरमा एक विकेट गुमाएर ३८ रन बनाएपछि वर्षा सुरु भएको थियो ।
त्यसपछि वर्षाका कारण खेल स्थगित हुन पुग्यो । लामो समय वर्षा नरोकिएपछि त्यो फाइनल खेल पनि रद्द भएको थियो । दोस्रो दिन खेलिएको फाइनल पनि वर्षाका कारण प्रभावित बनेपछि श्रीलंका र भारत दुवै टोलीलाई संयुक्त रूपमा विजेता घोषित गरिएको थियो ।
च्याम्पियन्स ट्रफीको इतिहासमा पहिलो पटक दुईवटा टोली संयुक्त रूपमा विजेता बनेका थिए । तेस्रो संस्करणमा भारतका वीरेन्द्र सेहवाग सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा पहिलो स्थानमा रहेका थिए । उनले पाँच खेलमा कुल दुई सय ७१ रन बनाएका थिए । यस क्रममा उनले एक शतक र एक अर्धशतक प्रहार गरेका थिए ।
सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा श्रीलंकाका सनथ जयसूर्या दोस्रो स्थानमा थिए । उनले पाँच खेलमा एक शतक र एक अर्धशतकको मद्दतले कुल दुई सय ५४ रन बनाएका थिए । तेस्रो स्थानमा रहेका दक्षिण अफ्रिकाका हर्सेल गिब्सले तीन खेल खेल्दै दुई शतकको मद्दतले कुल दुई सय ४० रन बटुलेका थिए ।
यसैगरी, तेस्रो संस्करणमा सर्वाधिक विकेट लिने बलरको सूचिमा श्रीलंकाका मुथैया मुरलिधरन पहिलो स्थानमा थिए । उनले पाँच खेलको तीन पालीमा कुल १० विकेट लिएका थिए । दोस्रो स्थानमा आसीन अस्ट्रेलियाका ग्लेन म्याग्रा, तेस्रो स्थानमा आसीन जिम्बाबेका डगलस होन्डो र चौथो स्थानमा आसीन भारतका जहिर खानले आठ–आठ विकेट लिएका थिए ।
तेस्रो संस्करणमा जिम्बाबेका ब्याट्सम्यान एन्डी फ्लावर एउटै पालीमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानका रूपमा दरिएका थिए । फ्लावरले कोलम्बोमा खेलिएको भारतविरुद्धको खेलमा एक सय ४५ रन बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कटल्यान्डमा ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’ हुने
-
गुगल म्यापमा आउन थाल्यो ‘गल्फ अफ अमेरिका’
-
यातायातबाट प्राप्त हुने उपलब्धिलाई आर्थिक विकाससँग जोड्न जरुरी छ : मन्त्री दाहाल
-
प्रभावित क्षेत्रमा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाले गर्यो १७ करोड खर्च
-
रवि लामिछाने कहिले फर्किन्छन् पार्टी जिम्मेवारीमा ?
-
प्रादेशिक आमसञ्चार विधेयक सहमति मै पारित हुन्छ : मुख्यमन्त्री कार्की