बुधबार, ३० माघ २०८१
ताजा लोकप्रिय
साइबर सुरक्षा

‘साइबर अपराध नियन्त्रणमा मेटा र टिकटक सहयोगी, अरूको बेवास्ता’

बुधबार, ३० माघ २०८१, ०८ : २४
बुधबार, ३० माघ २०८१

काठमाडौँ । हामीले चलाउने सामाजिक सञ्जालमध्ये साइबर सुरक्षाको दृष्टिकोणले कुन सामाजिक सञ्जाल बढी सुरक्षित छ त ? हामीले इन्टरनेट प्लेटफर्ममा विभिन्न सामाजिक सञ्जालको प्रयोग गरिरहेका हुन्छौँ । ती सञ्जाल प्रयोग गर्ने क्रममा उत्तिकै साइबर आक्रमण, ह्यारेसमेन्ट एवं ठगीहरू हुने सम्भावना बढ्दै गएको छ । 

सामाजिक सञ्जालमार्फत हुने यस्ता घटना गर्ने व्यक्तिको विवरण सम्बन्धित सामाजिक सञ्जाल सञ्चालक कम्पनीसँग हुने गर्छ । त्यस्तो अवस्थामा साइबर ब्युरो लगायत निकायले सम्बन्धित कम्पनीसँग तथ्याङ्क मागेर सोही आधारमा अपराधमा संलग्न हुनेमाथि कारबाही गर्दै आएको छ । 

तर, सबै सामाजिक सञ्जालले उत्तिकै सहयोग गर्नसक्ने अवस्था नभएको साइबर केन्द्रले जनाएको छ । केन्द्रकी निरीक्षक दीपा भट्टराईका अनुसार अहिले मेटा कम्पनीका सामाजिक सञ्जालले अपराध अनुसन्धानमा सहयोग गर्ने गरेको जानकारी दिइन् । टिकटक बन्द भएर फेरि खुलेपछि टिकटकले समेत यसका लागि सहयोग गर्न थालेको उनले बताइन् । यी दुई बाहेक अन्य सामाजिक सञ्जाल प्लेटफर्मले भने कुनै रेस्पोन्स नगर्ने गरेकोले त्यस्ता सञ्जालबाट हुने अपराधमा अपराधीको पहिचान र कारबाही जटिल रहेको उनको भनाइ छ । 

सामाजिक सञ्जालमार्फत हुने अपराधमा फेसबुक नै अगाडि

त्यसो त अपराधको मात्रामा पनि फेसबुक प्लेटफर्म नै अगाडी रहेको देखिन्छ । ब्युरोका अनुसार आर्थिक वर्ष २०८०-८१ मा १९ हजार ७३० उजुरी दर्ता भएकोमा १६ हजार ९६ उजुरी फेसबुकसँग सम्बन्धित रहेको ब्युरोकी भट्टराईले जानकारी दिइन् । 

यो वर्ष भने यसको हिस्सा केही घटेको छ । माघ अन्तिमसम्म आइपुग्दा १० हजार हाराहारीमा उजुरी दर्ता भएकोमा फेसबुकसँग सम्बन्धित उजुरी करिब ५४ सय रहेको भट्टराईले जानकारी दिइन् । अहिले फेसबुकले तथ्याङ्क उपलब्ध गराउन दुईदेखि तीन साता समय लगाउने गरेको उनको भनाइ छ । 

साइबर अपराधको विषयमा अन्य विभिन्न निकायसँग निर्भर हुनुपर्दा अनुसन्धानमा समस्या रहेको पाइएको छ । सामाजिक सञ्जाल मात्रै नभएर दूरसञ्चार सेवा प्रदायक, बैंक तथा वित्तीय संस्था, इन्टरनेट सेवा प्रदायक लगायतसँग सूचना प्राप्त गर्नुपर्ने भएकोले यसमा जटिलता रहेको ब्युरोले जनाएको छ । यद्यपि नेपाल टेलिकम, एनसेल तथा बैंक तथा वित्तीय संस्थाबाट पनि धेरै हदसम्म यसका लागि सहयोग पाइरहेको ब्युरोले जनाएको छ । 

यद्यपि साइबर अपराधमा सूचना प्रवाह गर्दा व्यक्तिगत गोपनीयताको विषयलाई समेत ध्यान दिनुपर्ने भएकोले यसमा जटिलता रहेको सरोकारवालाहरू बताउँछन् ।  नेपाल राष्ट्र बैंकका निर्देशक कृष्णराम ध्वजु बैंक तथा वित्तीय संस्थाले पर्याप्त आधार र कानूनबिना व्यक्तिगत जानकारी दिन नसक्ने भएकोले यस्ता जानकारी उपलब्ध गराउँदा सचेत हुनुपर्ने आवश्यकता रहेको बताए । यो विषयलाई समेत बिचार गरेर तथ्याङ्क उपलब्ध गराउन राष्ट्र बैंकले सहजीकरणका लागि काम गरिरहेको उनको भनाइ छ । 

खासगरी वित्तीय अपराधमा केसमा पुरुष र यौनजन्य हिंसा र ह्यारेसमेन्टको केसमा महिला तथा बालबालिका बढी पीडित रहेको तथ्याङ्क रहेको ब्युरोले जनाएको छ । ब्युरोले आव २०८०-८१ मा १०३ वटा मुद्दा दर्ता गरेको थियो । चालु आवको हालसम्म ५३ वटा मुद्दा दर्ता भएको छ । 

केही समय अघि मात्रै ल्याएको सर्कुलरमा बैंकलाई वित्तीय अपराध भएको छ भन्ने लागेमा कसैको खाता २४ घण्टासम्मका लागि रोक्का राख्नसक्ने व्यवस्था गरिएको भन्दै तत्काल हुने क्षति रोक्न यस्तो व्यवस्था गरेको जानकारी दिए ।

खासगरी अहिले फिसिङ, सोसल इञ्जिनियरिङ गरेर व्यक्तिलाई प्रलोभनमा पार्ने र बैंक तथा वित्तीय संस्थामार्फत् कारोबार गराउने गरेको पाइन्छ । वास्तविक अपराधी नचिन्ने बनाउनको लागि म्युल खाता सञ्चालन गर्ने गरिएको समेत पाइन्छ । साइबर सुरक्षासम्बन्धी मेसमा पुरुष र महिला बराबरजस्तै पीडित भएको व्युरोको तथ्याङ्क छ । 

खासगरी वित्तीय अपराधमा केसमा पुरुष र यौनजन्य हिंसा र ह्यारेसमेन्टको केसमा महिला तथा बालबालिका बढी पीडित रहेको तथ्याङ्क रहेको ब्युरोले जनाएको छ । ब्युरोले आव २०८०-८१ मा १०३ वटा मुद्दा दर्ता गरेको थियो । चालु आवको हालसम्म ५३ वटा मुद्दा दर्ता भएको छ । 

अहिले साइबरसम्बन्धी अपराधमा उजुरीका लागि ३५ दिनको हदम्याद तोकिएको छ । यो समय अपर्याप्त भएकोले ३ महिना पुर्याउन लागिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । अहिले मन्त्रालयले साइबर सुरक्षासम्बन्धी विधेयकको मस्यौदा तयार गरी कानुन मन्त्रालयमा पठाएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप