चिनियाँ ठेकेदार कम्पनीबाट भइरहेको अवैध उत्खननको अनुगमन गर्न समिति गठनको माग
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद चन्दा चौधरीले चिनियाँ ठेकेदार कम्पनीबाट सिराहा जिल्लामा भइरहेको अवैध उत्खननको अनुगमन गर्न संसदीय समिति गठनको माग गरेकी छिन् ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौधरीले अवैध उत्खनन गर्दा स्थानीय प्रहरीले एकजना चिनियाँ नागरिकलाई पक्राउ समेत गरेको बताइन् । उनले सिराहाबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरूले चुरे क्षेत्रमा भइरहेको अवैध उत्खनन रोक्नका लागि चासो नदिएको आरोप पनि लगाइन् ।
कांग्रेस सांसद चौधरीले भनिन्, ‘खुट्टी खोला आसपासका बस्तीहरू गम्भीर जोखिममा परेका छन् । कृषिकार्य गरेर जीविका चलाउने सामान्य किसानको जीवन गम्भीर रुपमा प्रभावित भएको छ ।’
‘राजमार्ग आसपास बसोबास गर्ने ठुलो जनसङ्ख्या स्वच्छ अक्सिजन लिनबाट वञ्चित छ’, उनले भनिन्, ‘स्थानीय, प्रदेश र सङ्घीय सरकारको यस विषयमा ध्यानाकर्षण गराउन चाहन्छु ।’
‘मधेशको लाईफलाईन चुरे क्षेत्र हो । डोजर लगाएर उत्खनन हुने क्षेत्रको संसदीय अनुगमनको लागि आग्रह गर्दछु । सांसदहरूले अनुगमन गर्न जरुरी छ’, उनले भनेकी छिन् ।
सांसद चौधरीले भनिन्, ‘सन् २०२० देखि महेन्द्रराजमार्ग अन्तर्गतको कमला–कञ्चनपुर सडक खण्डको स्तरोन्नति कार्य भइरहेको छ । महेन्द्र राजमार्गको १ हजार २७ किलोमिटर सडक स्तरोन्नति गर्न चाइना रेलवे टु ईञ्जिनियरिङ ग्रुप भन्ने कम्पनीले नेपाल सरकारसँग ग्लोबल टेन्डरमा भाग लिएर ठेक्का पारेको थियो । चार वर्षदेखि निर्माण कार्य गर्दै आएको छ ।’
‘चाइना रेलवे टु भन्ने कम्पनीले सिराहाको कर्जन्हा नगरपालिका, मिर्चैया नगरपालिका, नरहा गाउँपालिका, गोलबजार नगरपालिका, गढीमाई नगरपालिका क्षेत्रमा पर्ने नदीहरूमा अवैध र व्याप्त उत्खनन गरेको तथ्यहरूप्रति गम्भीर ध्यानाकर्षण भएको छ’, उनले भनिन् ।
चौधरीले भनिन्, ‘२०७९ चैत ११ गते लहान नगरपालिका दुई वर्षको लागि ठेक्का सम्झौता गरेको छ । सम्झौतामा चाइना रेल्वे टुले स्काभेटर वा डोजरको प्रयोग गरी उत्खनन गर्न पाउने छैन भनेर उल्लेख गरिएको छ ।’
‘खुट्टी र सरायु खोलाको संगमस्थलदेखि उत्तरतर्फ विभिन्न वफर जोन नेपाल सरकारले संरक्षित क्षेत्र भनेर घोषणा गरेको छ’, उनले भनिन्, ‘त्यसमा समेत चाइना रेलवे टु कम्पनीले गैह्रकानूनी रुपमा डोजर र स्काभेटरको प्रयोग गरी उत्खनन गरेको राष्ट्रिय मिडियामा समाचार आएका छन् ।’
‘२०८१ मंसिर ३ गते सर्वोच्च अदालतमा रिट समेत दर्ता भएको छ । चिनियाँ नागरिक गैह्रकानूनी रुपमा उत्खनन गरेको अभियोगमा पक्राउ परेका छन्’, सांसद चौधरीले भनिन्, ‘तैपनि सम्बन्धित निकायको ध्यानाकर्षण भएको छैन ।’
उनले भनेकी छिन्, ‘नेपाल अहिले क्लाइमेट चेञ्जका लागि विश्वस्तरमा आवाज उठाइरहेको छ । हाम्रा हिमनदीमा प्रतिकूल असर परेकोमा चिन्तित छौँ । हाम्रो चिन्ता जायज पनि छ । संवेदनशील पर्वत चुरे रहेको छ ।’
‘पूर्वदेखि पश्चिमसम्म ८ सय किलोमिटरमा तन्किएको यो क्षेत्रले देशको १३ प्रतिशत भू–भाग ओगटेको छ । यो भागमा आधी जनसङ्ख्या बसेको छ’, उनले भनिन् ।
‘मधेशका अधिकांश जनताको लागि खानेपानीको मुख्यमाध्यम भनेको चापाकल नै रहेको छ । जसको मुख्य स्रोत भनेको जमीनमुनिको पानी हो’, सांसद चौधरीले भनिन्, ‘पहिला ३०र४० फिटमा पानी आउँथ्यो । अहिले ३ सय फिटमा पनि आउन सक्दैन । चुरेको रिचार्ज सिस्टम नै ध्वस्त भइसकेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौँ लाभान्वित
-
माधवनारायणको पूजासँगै एक महिने स्वस्थानी व्रत समापन (तस्बिरहरू)
-
'एक्टिङ स्टार'काे प्रि-जजमा २२२ जनाले देखाए अभिनय कला
-
बीपी राजमार्गको क्षतिग्रस्त खण्डको मर्मत सुरु
-
आज ८ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
‘साइबर अपराध नियन्त्रणमा मेटा र टिकटक सहयोगी, अरूको बेवास्ता’