बुधबार, ३० माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पश्चिम नवलपरासीमा वर्षौँदेखि खानेपानीका ५० वटा योजना अधुरै

मङ्गलबार, २९ माघ २०८१, २१ : ४७
मङ्गलबार, २९ माघ २०८१

बर्दघाट सुस्ता पूर्व (नवलपरासी) । पश्चिम नवलपरासीमा वर्षौदेखि निर्माण सुरु भएका ५० वटा खानेपानी योजना अझै अधुरै छन् । संघ र प्रदेश सरकारको लगानीमा निर्माण भइरहेका ७२ योजनामध्ये २२ वटा मात्रै सञ्चालनमा छन् भने अन्यको काम सम्पन्न हुन सकेको छैन । तीमध्ये सनई, रगरगञ्ज, गेरमी, पाल्ही, हरपुर खानेपानीलगायतका योजना चार वर्षभन्दा लामो समयदेखि करिब अलपत्र अवस्थामा छन् । 

पाल्हीनन्दन–६ का स्थानीय धरेन्द्र यादवले निर्माणाधीन योजनाका बाँकी काम सम्पन्न गर्न बजेट अभाव हुँदा थप काम अगाडि बढ्न नसकेको जवाफ पाइने गरेको गुनासो गरे । जसकारण आफूहरू आर्सनिकयुक्त चापाकलको पानी पिउन बाध्य भएको उनले दुखेसो पोखे ।  

सरावल गाउँपालिका–५ का वडाध्यक्ष लक्ष्मणप्रसाद चौधरीले योजनामा धेरै लगानी भइसकेकाले तीनै तहका सरकारको समन्वयनमा योजनाको बाँकी कायम चाँडै अगाडि बढाउनुपर्ने बताए । वर्षौदेखि काम सम्पन्न नहुँदा यहाँका नागरिक आर्सनिकयुक्त चापाकलको पानी पिउन बाध्य भएको उनको गुनासो छ । 

सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले योजना निर्माण सुरु भएको १० वर्षसम्म पनि धेरैजसो योजना बजेट अभावका कारण अधुरै रहेका बताए । उनले आफ्नो क्षेत्रमा पनि दुई वटा खानेपानी योजना भौतिक पूर्वाधार निर्माण भइसकेको अवस्थामा पाइप तथा विद्युतीकरणको काम बाँकी रहेकाले सञ्चालनमा आउन नसकेकाे बताए । 

नवलपरासी बर्दघाट सुस्ता पूर्वखानेपानी तथा सरसफाइ कार्यालयका प्रमुख प्रकाश न्यौपानेका अनुसार यहाँ संघीय सरकारका २५ योजनामध्ये १२ वटा सञ्चालनमा छन् भने १३ वटा अझै निर्माणकै अवस्थामा रहेका छन् ।

यस्तै, प्रदेश सरकारका ४७ योजनामध्ये १० वटा सञ्चालनमा छन् भने ३७ वटा योजना अझै सम्पन्न भएका छैनन् । 'संघीय सरकारले कार्यान्वयन गरिरहेका योजनामा समग्रमा तीस प्रतिशत काम बाँकी छ । यसका लागि रु ३५ करोड बजेट भए योजना सम्पन्न हुन्छन्', उनले भने, 'प्रदेश सरकारअन्तर्गतका योजनाको ६० प्रतिशत काम बाँकी छ । यसमा रु ७० करोड अझै आवश्यक छ । त्यसैले बजेट अभावकै कारण योजनाको काम करिब ठप्प छ ।'

पाल्हीनन्द गाउँपालिका–४ का वडाध्यक्ष रवीन्द्र सहानीले सरकारको ठूलो रकम खर्च भइसकेपछि बाँकी रकम पनि व्यवस्थापन गरेर योजना अगाडि बढाउनुपर्ने बताए । सरकारले आवश्यक बजेटको व्यवस्था गरे स्थानीवासीले श्रमदान गर्ने अवस्था स्थानीय तहले निर्माण गर्ने उनको भनाइ छ । 

निर्माणाधीन अधिकांश योजनामा पाइपलाइन, ट्या‌की, विद्युतीकरणलगायत काम बाँकी छन् । चालु आर्थिक वर्षमा खानेपानीका लागि रु ११ करोड सात लाख ९२ हजार विनियोजन भएकाले केही योजना सम्पन्न हुने अपेक्षा गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप