बुधबार, ३० माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आधार भूमिबाट प्रचण्डको सन्देश

‘बाँचुञ्जेल समाजवादी क्रान्तिका लागि लड्छु’

विद्यार्थी चुनावको असर कर्णालीमा पनि, नेताहरू अलमलमा
मङ्गलबार, २९ माघ २०८१, २१ : ३६
मङ्गलबार, २९ माघ २०८१

सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश कमिटीको सातौँ पूर्ण बैठक सोमबार र मंगलबार प्रदेश राजधानी वीरेन्द्रनगरको शुभ होटेलमा चल्यो । पार्टी अध्यक्ष प्रचण्ड सहभागी हुने उक्त बैठकमा धेरैको चासोको विषय थियो—विद्यार्थी संगठनको चुनावमा देखिएको गुटको प्रतिस्पर्धा । 

माओवादीको आधार इलाका र त्यसमा पनि माओवादी उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ को गृहप्रदेश भएकाले उक्त विषयबारे चिन्ता, चासो हुनु स्वाभाविक पनि थियो । शर्माले अध्यक्ष प्रचण्डलाई अर्थात् ‘हेडक्वार्टर’लाई चुनौती दिएको भन्दै प्रचार भइरहेका बेला कर्णाली प्रदेशका नेताहरू भने उक्त विषयमा रनभुल्लजस्तै छन् । 

प्रदेश कमिटी बैठकमा पनि ‘हेडक्वार्टर’ र ‘शर्मा’ भन्ने विषयले चर्चा पाएको बैठकमा सहभागी एक नेताले बताए । सोमबार जिल्लाका इन्चार्जहरूले रिपोर्टिङ गर्ने क्रममा उक्त विषयबारे गम्भीर रूपमा प्रश्न उठेको बैठकमा सहभागी ती नेताले रातोपाटीलाई बताए । 

माओवादी मुगुका जिल्ला संयोजक सुकवीर बुढाले त ‘हेडक्वार्टर’ बाहेक अरूलाई मुगुमा प्रवेश नै गर्न नदिने चेतावनी दिए । 

विद्यार्थी चुनावमा अध्यक्ष प्रचण्डले गृहप्रदेश कर्णाली नै भएका उपमहासचिव शक्ति बस्नेतलाई अघि सारेको र दुई उपमहासचिवद्धय बस्नेत र शर्माबिच गुटको प्रतिस्पर्धा कर्णालीमा झन् धेरै हुने आकलन गरिएको छ । 

आन्तरिक रूपमा यसअघि नै प्रदेशमा शर्मा र बस्नेतबिच गुटबन्दी थियो । यद्यपि, शर्मा भने बलिया थिए । यसअघि शर्मा पक्षमै रहेका कतिपय ठुला नेताहरू विद्यार्थी चुनावपछि पार्टी हेडक्वार्टरको लाइन भनेर उभिएका स्रोतको भनाइ छ ।

एक नेताका अनुसार पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायत नेताहरूले पार्टी ‘हेडक्वार्टर’ लाई नै सघाउने भनिसकेका छन् । 

‘अहिले पार्टीमा गुटको कुरा गर्ने हैन, पार्टी एकताबद्ध भएर अगाडि बढाउनुपर्छ, जनार्दनजीले चाहिनेभन्दा धेरै गर्न थाल्नुभयो,’ शाहीको भनाइ उद्धृत गर्दैै स्रोतले रातोपाटीसँग भन्यो । यसअघि शर्माकै जोडबलमा शाही पहिलो मुख्यमन्त्री बनेका थिए । यद्यपि, विद्यार्थी चुनावमा प्रचण्डले शाहीलाई फोन नै गरेर ‘प्रभाकरले प्यानल नै खडा गरिसके, अरूमा जे भए पनि अध्यक्षमा हाम्रो साथीलाई जिताउनेगरी लाग्नुस्’ भनेर भनेका थिए । 

नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेका शाही त्यहाँबाट फिर्ता भएर वीरेन्द्रनगरस्थित पार्टी कार्यालयमा भएको मतदानमा विद्यार्थीहरूलाई विजय सापकोटा (प्रचण्डपक्ष) को पक्षमा मतदान गर्न ‘कभिन्स’ गरेका थिए । त्यो बेला सापकोटको पक्षमा शाही र जनार्दन शर्मानिकट हेमन्त राईको पक्षमा गोपाल शर्माले ‘लबिङ’ गरेका थिए । गोपाल शर्मानिकट नेता हुन् । 

पछिल्लो समय कर्णालीमा पूर्वमुख्यमन्त्री शाहीको प्रभाव बलियो छ । शाहीले नै उपमहासचिव शर्माको विपक्षमा लबिङ गरेपछि नेताहरूमा दोधारेपना आएको अर्का एक प्रदेशस्तरीय नेताले रातोपाटीलाई बताए । यस्तै प्रदेश इन्चार्ज कालीबहादुर मल्लपनि ‘हेडक्वार्टर’ लाइनमै उभिएको बताइएको छ ।

‘माओवादीको आधार इलाका भनेको कर्णाली नै हो, विद्यार्थीको चुनावले पार्टीभित्र अनेक प्रश्नहरू खडा भए,’ बैठकमा सहभागी ती नेताले भने, ‘प्रभाकर हाम्रो प्रदेशको नेता हो, अध्यक्ष प्रचण्ड पनि हाम्रै नेता हो । गुटबन्दीले नेता, कार्यकर्तामा अलमल सिर्जना ग¥यो ।’

सोमबार र मंगलबारको दुईदिने बैठकमा उपमहासचिव जनार्दन शर्मा भने सहभागी भएनन् । अर्का उपमहासचिवद्धय शक्ति बस्नेत मंगलबारको बैठकमा अध्यक्ष प्रचण्डसँगै सहभागी भए ।

‘कित्ता ‘क्लियर’ गर्नुपर्छ’

pp

मंगलबार बैठकलाई सम्बोधन गर्न आएका प्रचण्डले गुटको विषयमा के भन्छन् ? भन्ने चासो थियो । प्रचण्डले बैठकमै भनिदिए–‘तपाईँहरूले आफ्नो कित्ता ‘क्लियर’ गर्नुपर्छ भनिसकेको छु ।’

पार्टी लाइनको पक्षमा हो वा अराजकताको हो भनेर कित्ता ‘क्लियर’ गर्न भनिसकेको प्रचण्डले बैठकमा भनेका थिए ।

‘म बाँचुञ्जेल समाजवाद र क्रान्तिको लागि लडाइँ लड्ने हो, म सम्पूर्ण रूपले होमिइसकेको छु,’ प्रचण्डले गुटको विषयलाई लक्षित गर्दै भने, ‘तपाईँहरू आफूले आफ्नो कित्ता ‘क्लियर’ गर्नुपर्छ, तपाईं पार्टीको पक्षमा हो वा स्वार्थ समूहको ? पार्टी लाइनको पक्षमा वा अराजकतावादको पक्षमा ? लिडरसिपको पक्षमा हो वा या त्यसका विरुद्ध ?’

उक्त विषयमा सबैले फैसला गर्ने दिन आउन थालेको पनि प्रचण्डको उद्घोष थियो । उनले थपे, ‘त्यसैले कमरेडहरू ! हाम्रो अगाडि राम्रो अवसर पैदा भएको छ, त्यसलाई गुम्न दिनु हुँदैन ।’ 

उक्त कुरा प्रचण्डले माओवादीप्रति दिनप्रतिदिन आशा बढेकाले समाजवादी क्रान्तिको बाटोमा अघि बढ्न पार्टीको आधिकारिक निर्णयलाई साथ दिनेसँग सम्बन्धित रहेर भनेका थिए । ‘हाम्रो सानो चित्त, गुटबन्दी, संकीर्णता र व्यक्तिगत स्वार्थले यो महान् कर्मबाट विमुख हुन् हामी कोहीलाई छुट छैन,’ उनले भने, ‘म तपाईँहरूलाई अपिल गर्न चाहन्छु र सबैतिर भनेको पनि छु कि बाँकी कति वर्ष बाँचिन्छ थाह छैन, जति वर्ष बाँचिन्छ, समाजवाद र क्रान्तिका निमित्त बाँच्छु ।’

गुटबन्दीको कुराले दिक्क मानिरहेको सङ्केत गर्दै प्रचण्डले आफूलाई व्यक्तिगत रूपमा धेरै गर्नु केही नभएको बताए । भने, ‘व्यक्तिगत रूपमा भन्ने हो भने तीन पटक प्रधानमन्त्री भइसकेँ, बाँकी के चाहियो ?’ तर यो देशका मजदुर, किसान, उत्पीडित वर्ग, समुदाय र राष्ट्रका हितका निम्ति, समाजवादका लागि एउटा नयाँ लडाइँ लडेर मर्न मन भएको प्रचण्डको भनाइ छ ।

यसअघिको एक बैठकमा पनि प्रचण्डले कर्णालीभित्र गुटबन्दी मौलाएको र आफू दिक्क भएको भनेका थिए ।

प्रदेशका नेताहरूले के भने ?

सह–इन्चार्जको जिम्मेवारी पाएका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हिजोदेखि पार्टी हेडक्वार्टरलाई कर्णालीले सहयोग नै गरेको र अहिले पनि आधिकारिक निर्णयलाई नै सहयोग गरिने बताए । उनले भने, ‘हिजो जनार्दन, शक्ति मातृकादेखि कालीबहादुर मल्ल प्रदेशको इन्चार्ज हुँदा र म जिम्मेवारीमा नुहँदा पनि काम गरेको हो ।’ मुख्य कुरा जिम्मेवारी भन्दा पनि नेतृत्वलाई सहयोग गरेर जानुपर्ने उनको भनाइ थियो । 

पूर्वमुख्यमन्त्रीसमेत रहेका नेता राजकुमार शर्माले पार्टीमा गुटबन्दीको समस्याबारे कुरा राखेका थिए । जनार्दन शर्मानिकट नेता शर्माले पार्टी हेडक्वार्टरको पछिल्लो जिम्मेवारी बाँडफाँटप्रति नै प्रश्न उठाए । 

जिम्मेवारी बाँडफाँटमा सन्तुलन नमिलेको उनको भनाइ थियो । ‘जिम्मेवारी आग्रह– पूर्वाग्रह तरिकाले दिएको देखियो,’ शर्माले भने । 

साथै उनले प्रचण्डलाई भने,‘तपाईं यो उमेरमा जुन तरिकाले खटन–पटन गरिरहनुभएको छ, त्यो प्रशंसनीय छ । तर, एक्लै दौडिएर समाजवादी क्रान्ति सम्भव होला त ?’ योज्ञता र क्षमताअनुसार टिम परिचालनमा हेडक्वार्टर चुकेको शर्माको भनाइ थियो । 

उपमहासचिव शक्ति बस्नेतले हेडक्वार्टरमाथि शंका गर्नुपर्ने ठाउँ नभएको र विश्वस्त भएर अगाडि बढ्नुपर्ने बताए । 

केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज झकबहादुर मल्लले प्रशिक्षणले कर्णालीको माओवादी पार्टी प्रचण्डले लिएको संकल्पमा एक पटक फेरि लागेर समाजवादी क्रान्तिमा लाग्नुपर्छ भन्ने सन्देश दिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप