बुधबार, ३० माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यस्तो छ गोलरक्षक एञ्जिला अभिनीत फिल्म ‘अञ्जिला’को टिजर

मङ्गलबार, २९ माघ २०८१

काठमाडौँ । आगामी फागुन २९ गते रिलिज हुने नेपाली चलचित्र ‘अञ्जिला’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा घरभित्रबाट बाहिर निस्कन गरेको सङ्घर्षदेखि कप्तान बन्दा सम्मको कथा छ ।

टिजरमा यो एउटा सङ्घर्षशील सपना देख्नेहरूको कथा रहेको भनिएको छ भने रेडियोमा बजाइएको आवाजमार्फत ‘अन्तर्राष्ट्रिय रूपमा पनि देशलाई प्रतिनिधित्व गर्ने निष्कलङ्क एउटा विधा छ भने त्यो खेल नै हो’ भन्ने भाष्यलाई स्थापित गर्दै टिजर अघि बढाइएको छ । टिजरमा एञ्जिला आफैँ प्रमुख भूमिकामा छन् भने अभिनेता दयाहाङ राई र अभिनेत्री सृजना सुब्बा उनका माता पिताको भूमिकामा देखिएका छन् ।

निर्देशक मिलन चाम्सले एञ्जिलाको विगतका छायाबाट, भविष्यका लागि गरेको सङ्घर्षसम्म रहेको बताउँदै एञ्जिलाको वास्तविक कथामा आधारित चलचित्र रहेको बताए ।

चलचित्रमा एञ्जिला आफैँ मुख्य भूमिकामा छन् भने सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ र बुद्धि तामाङले पनि अभिनय गरेका छन् । निर्माता प्रेम कुमार श्रेष्ठले पनि चलचित्रमा प्रमुख भूमिका निर्वाह गरेका छन् । 

चलचित्रको छायाङ्कन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौँमा गरिएको छ । चलचित्रको छायाङ्कन सुदीप बरालले गरेका छन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् भने टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया सह(निर्माता हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया