बुधबार, ३० माघ २०८१
ताजा लोकप्रिय
फिल्म

‘मलाई प्रेम प्रस्ताव राख्न आँट गर्दैनन्’

मङ्गलबार, २९ माघ २०८१

पूर्वमिस नेपाल नम्रता श्रेष्ठका दिन केही समययता मिडियासँग बित्ने गरेको छ । उनले मिडियासँग दिन बिताउनुको कारण हो– फिल्म ‘रंगी’ । 

‘रंगी’ उनको डेब्यु फिल्म हो । यसैको प्रचारप्रसारका लागि उनी दैनिक मिडियासम्म पुगिरहेकी छन् । फिल्म राम्रो बनेकाले सफलताको लागि प्रचार गर्नुपर्ने उनले बताइन् ।

फिल्म आगामी फागुन २ गतेबाट प्रदर्शनमा आउँदैछ । आफूलाई ठुलोपर्दामा हेर्न आतुर छिन् उनी । फिल्मको प्रदर्शन मिति जति नजिकिन्छ, उनको धड्कन बढ्न थालेको छ । दर्शकले फिल्म रुचाउँछन्, कि रुचाउँदैनन् भन्ने डर छ । ‘छायांकन समय फिल्ममा कसरी आफूलाई प्रस्तुत गरिन्छ भन्ने डर थियो’, उनले भनिन् ‘ट्रेलर सार्वजनिक भएपछि त्यो हट्यो ।’ अहिले यो फिल्मले अर्को प्रोजेट दिलाउँछ कि दिलाउँदैन भन्ने डर भएको उनले सुनाइन् ।

‘रंगी’ बाबुछोरीको कथामा बनेको फिल्म हो । फिल्ममा बाबुको भूमिकामा अभिनेता सलोन बस्नेत र छोरीको भूमिकामा आयुशी ढकाल छिन् । फिल्ममा आफ्नो भूमिका भने उनले खुलाइनन् । फिल्ममा पढेलेखेको, एक दयालु छोरी मान्छेको चरित्र आफ्नो रहेको भने उनले खुलाइन् ।

‘फिल्ममा म मुख्य पात्र सलोन र आयुशीको वरिपरि हुन्छु’, उनी भन्छिन्, ‘सबै कुरो अहिले खोल्यो भने फिल्म हेर्न मज्जा आउँदैन ।’

नम्रताको फिल्ममा देखिने सानैदेखिको रहर थियो । तर, आउने आँट थिएन । जब उनी मिस नेपाल हँुदै कमेडी रियालटी शोको होस्ट बनिन्, तब, उनमा आँट पनि पलाउँदै गयो । ‘रंगी’को विषय पनि राम्रो लागेकोले अभिनयमा होमिएँ’, उनले अर्को कारण खोलिन्, ‘अभिनयमा फरक–फरक चरित्र पनि बाँच्न पाइन्छ ।’ ‘रंगी’ अभिनय  रमाइलो अनुभव भएको उनले सुनाइन् । ‘भर्खर यात्रा सुरु गर्दैछु । कति धेरैचोटि लड्न बाँकी होला । उठ्न बाँकी होला’, उनले थपिन् । 

namarata  (2)

नम्रता २०२० की मिस नेपाल हुन् । मिस नेपाल भएपछि उनलाई फिल्मका केही अफरसमेत आएका थिए । त्यति बेलाका सबै अफर रिजेक्ट गरेको उनी बताउँछिन् । ‘रंगी’ भने आफैले फलो गरेर अभिनय गरेको उनको भनाइ छ । ‘त्यति बेला म अभिनयका लागि प्रिपिएर थिइनँ । चरित्र जस्टिफाई गर्न सक्दिनँजस्तो लाग्यो’, उनी भन्छिन्, ‘अहिले गर्न मन लाग्यो ।’ फिल्मको कथा साथीभाइको माध्यमबाट सुन्दा आफ्नै लागि बनेको जस्तो लागेर कुरा गरेको उनले बताइन् । 

प्रायः नवअभिनेत्री डेब्यु गर्दा स्टार कलाकारको साथ खोज्छन् । यसले चर्चा र सफलता प्राप्त गर्न सजिलो हुने उनीहरूले नै बताउँदै आएका छन् । तर, उनले भने अभिनेता सलोन बस्नेत रोजिन्, किन ?

‘पहिले म पनि त्यही सोच्थेँ । मिस नेपाल भएपछि फिल्मको लाइन लाग्छ । किनभने, पहिले अभिनयमा कि कलाकार हुन्थे कि मिस नेपाल’, उनी भन्छिन्, ‘म त्यस्तो समयमा मिस नेपाल भएँ, जुन समय सोसल मडियाको जगजगी थियो, हरेक एकाउन्टमा एक कलाकार भेटिन्थे ।’ चर्चित कलाकारसँग काम गर्नुभन्दा कलाकारसँग काम गर्नु ठिक रहेछ भनेर बुझेँका कारण डेब्युमा सलोन रोजेको उनले खुलाइन् । 

‘सलोनसँग धेरै फिल्म गरेको अनुभव छ । म धेरै कुरा सिक्न सक्थेँ’, उनले भनिन्, ‘उहाँले निर्माण गर्ने अन्य केही प्रोजेट पनि छन् । जसमा म फेरि जोडिन पाउँछु ।’

अभिनय अगाडि कमेडी

namarata photo (2)

नम्रता पछिल्लो समयको चर्चित कमेडी सो ‘कमेडी दरबार’की होस्ट हुन् । उनले अभिनय तयारीका लागि होस्ट रोजेको बताइन् । कमेडी सोबाट समेत धेरै कुरा सिक्न पाएको उनको अनुभव छ । 

कमेडीमा आएपछि कतिपयले मिस नेपालको शाख गिरेको टिप्पणी गरेका पनि उनी बताउँछिन् । कार्यक्रममा उनीमाथि पनि व्यंग्य हुने गरेका थिए । तर, उनी यो मान्न तयार छैनन् । कार्यक्रममा आफूमाथि रमाइलो हिसाबले मात्र व्यंग्य भएको उनी बताउँछिन् । 

‘कमेडीमा मलाइ उडेकै पैसा दिएका हुन् । कमेडी दरबारको सुरुको च्वाइस नै म थिएँ । फम्र्याट पनि थाहा थियो’, उनी थप्छिन्, ‘रोस्ट गर्छौँ, होच्याउने हिसाबले गर्दैनौँ भनेका थिए ।’ आफूले जीवनमा आफूमाथि हिलो छ्याप्ने काम नगरेको उनी बताउँछिन् । 

‘कमेडी दरबार’को सुरु भागदेखि नै होस्ट गर्दै आएकी उनले अब भने सो छोड्ने भएकी छन् । निर्माण संस्थासँगको एग्रिमेन्ट सकिएको र बाहिरी कामको व्यस्तता बढेकाले उनले यो सो छोड्ने निर्णय गरेकी हुन् । ‘अहिले फिल्म तथा बाहिरका प्रोजेक्टहरुको काम धेरै छ । त्यसैले ‘कमेडी दरबार’ का लागि समय दिन सक्दिनँ’, उनले भनिन् ।

प्रेमका कुरा

namarata photo (1)

मिस नेपालहरूका प्रेम र ब्रेकअफका विषय मिडियामा बेला–बेलामा आइरहन्छन् । नम्रता भने यो मामिलामा पछि छिन् । प्रेम नभएको हो, कि मिडियाले थाहा नपाएको हो ? प्रश्नमा उनी भन्छिन्, ‘मेरो फोकस अहिले करिअरमा छ ।’

प्रेम प्रस्ताव भने उनलाई स्कुल पढ्दादेखि नै आउने गरेको थियो रे । कक्षा ७ र १० मा पढ्दा सिनियरले लेटर दिएको उनीसँग अनुभव छ । ‘मसँग केटाहरू डराउँथेँ , हच्किन्थे । म छुच्ची देखिन्छु’, उनले भनिन्, ‘त्यसैले मन पराए पनि प्रेम प्रस्ताव गर्न आँट गरेनन् ।’

प्रेम नभए पनि विवाहको योजना त होला नि ? प्रश्न राख्न नपाउँदै उनले जवाफ फर्काइन्, ‘३ वर्षपछि विवाह गर्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया