एउटा समूहले चोरेको मोबाइल अर्को समूहले लुट्न खोज्दा युवकको हत्या
![एउटा समूहले चोरेको मोबाइल अर्को समूहले लुट्न खोज्दा युवकको हत्या](https://npcdn.ratopati.com/media/news/chabel_vSHHPpb4Z9.jpg)
काठमाडौँ । चाबहिलमा सञ्चालित दोहोरी साँझ र डान्सबारबाट निस्कनेहरूको निगरानीमा थिए ३ जना युवक । माघ २७ मा बिहान ३ जनाले डान्सबारबाट निस्केकाहरूको एउटा मोबाइल चोरे । मोबाइल चोरी गर्नेमा सिन्धुपाल्चोक घर भएर गोकर्णेश्वर बस्ने २० वर्षीय विशाल तामाङ र झापा घर भएर गोकर्णेश्वर बस्ने क्षितिज कार्की संलग्न थिए । चोरीमा संलग्न अर्का एक जना फरार छन् ।
उनीहरूले मोबाइल चोरेको युनिक लामा भन्ने नुर्बु शेर्पा र काभ्रे घर भएका अमृत भन्ने सङ्घर्ष कार्कीले देख्छन् । त्यसपछि उनीहरूले चोरीको मोबाइल लुट्ने योजना बनाएर ३ जनालाई पछ्याए । चाबहिलबाट पछ्याउँदै काठमाडौँ महानगरपालिका–७ स्थित कुमारीगालमा पुगेपछि उनीहरूको बिचमा झडप भयो । झडप हुँदा क्षितिज कार्कीले छुरा प्रहार गरेर काभ्रेको धुलिखेल घर भएर गोकर्णेश्वर बस्ने २३ वर्षीय अमृत कार्की ‘सङ्घर्ष’को हत्या गरेर जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
हत्यामा संलग्न आरोपमा प्रहरीले दोलखा घर भएर कपन बस्दै आएका २२ वर्षीय नुर्बु शेर्पा, २० वर्षीय विशाल तामाङ र क्षितिज कार्कीलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । प्रहरी वृत्त गौशालाका डीएसपी सुकदेव खनाल नेतृत्वको टिमले हत्या भएको केही घण्टामा नै आरोपीहरूलाई पक्राउ गर्न सफल भएको थियो ।
हत्यामा संलग्न क्षितिज कार्की घाइते भएका थिए । उपचारपछि डिस्चार्ज एका कार्की र अन्य आरोपीहरू विरुद्ध प्रहरीले ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । हत्यामा प्रयोग भएको छुरा प्रहरीले बरामद गरेको छ ।