क्यान्टोनमेन्टमा माओवादीले घोटाला गरेको छ : सांसद रिजाल
![क्यान्टोनमेन्टमा माओवादीले घोटाला गरेको छ : सांसद रिजाल](https://npcdn.ratopati.com/media/news/1739270784-a73bh_AImlwK7bWb.jpg)
काठमाडौँ । नेकपा एमाले सांसद ईश्वरबहादुर रिजालले क्यान्टोनमेन्टमा घोटाला नभएको कुरा प्रमुख प्रतिपक्ष दलको नेताको बोलीबाट विश्वास गर्न नसकिने बताएका छन्। मंगलबारको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै रिजालले क्यान्टोनमेन्टमा गएर आफ्ना लडाकुहरूलाई राज्यले पैसा दिने र त्यसको केही खर्च राखेर अरू विद्रोहको लागि राख्नु भनेर बोल्ने कुराले भ्रष्टाचार भएको पुष्टि हुने जिकिर गरे ।
उनले नेकपा (माओवादी केन्द्र) को जिम्मेवार व्यक्तिबाट चीनका व्यापारीसँग पैसा मागेको कुरा पनि सुनिएको भन्दै भ्रष्टाचारमा माओवादी नेताहरू चोखो नरहेको बताए । उनले भने, ‘हाम्रो सम्माननीय नेता, प्रतिपक्ष दलको नेता, पूर्वप्रधानमन्त्री क्यान्टोनमेन्टमा जानुहुन्छ । क्यान्टोनमेन्ट मा गएर त्यहाँ आफ्ना लडाकुहरूलाई आफ्नो विद्रोहको तयारी गर्दैछौँ भन्नुहुन्छ, सेनाको संख्या घट्यो तपाईंहरु भन्नुहुन्छ त्यहाँ । होइन सेनाको संख्या बढाएका छौँ । हामी सबैलाई थाहा छ । हामी युद्धको बेलामा सात हजार थियौँ भन्नुहुन्छ । तर हामीले शान्ति प्रक्रियामा आइसकेपछि ३५ हजार पुर्याऔँ भन्नुहुन्छ । अनि ३५ हजारको भेरिफिकेसन १९ हजारमा आयो भन्नुहुन्छ । अहिले हामी ७ हजारबाट १९ हजार भयौँ । राज्यले पैसा दिन्छ, केही लिनुहोला खर्चको रूपमा अरू पैसाहरू सबै विद्रोहको रूपमा तयार गरिन्छ भन्नुहुन्छ । यो शब्द प्रमाण होइन र ?’
उनले थपे, ‘कि त प्रमुख प्रतिपक्ष दलको नेता बोलेको होइन भनेर पुष्टि हुनुपर्छ । होइन भने उहाँले बोलेको कुराका आधारमा क्यान्टोनेमनमा भ्रष्टाचार भएको थिएन भनेर कसरी पत्याउने ? यो भ्रम र भ्रान्ति दिने काम नगरौँ । हामीले अरू पनि कुरा सुनेका छौँ । चीनतिरको व्यापारीसँग फोन सम्पर्क गरेको कुराहरू । यति पैसा, उति पैसा चाहियो भन्नेहरू नेकपा (माओवादी केन्द्र) को अत्यन्तै जिम्मेवार व्यक्तिबाट हामीले सुनेका छौँ । आफू सबै कुराबाट शुद्ध अरूलाई मिथ्या ढंगले आरोपित गर्न मिल्दैन ।’