नन्दकिशोरका कारण विद्या भण्डारीलाई सक्रिय राजनीतिमा फर्कने बाटो खुला

काठमाडौँ । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ औपचारिक रूपमा नेकपा माओवादी केन्द्रको सक्रिय राजनीतिमा फर्किएका छन् । उनी सक्रिय राजनीतिमा फर्किएसँगै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि एमालेको राजनीतिमा फर्किन बाटो खुला भएको विश्लेषण हुन थालेको छ ।
माओवादी केन्द्रको गत पुस २३ गते सम्पन्न केन्द्रीय समिति बैठकको निर्णय अनुसार पासाङ आर्थिक उत्पादन संयन्त्रको विशेष जिम्मेवारीमा फर्केका छन् । केही महिना यता माओवादी उपाध्यक्षकै हैसियतमा पार्टीको आन्तरिक बैठकहरूमा सहभागी हुँदै आएका पासाङ माघ २७ बाट भने पार्टीको जिम्मेवारीमा औपचारिक रूपमै फर्किएका हुन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङले यही माघ २७ गते जारी गरेको आन्तरिक परिपत्रमा पुनलाई आर्थिक उत्पादन संयन्त्रको इन्चार्जका रूपमा पार्टीले विशेष जिम्मेवारी दिएको उल्लेख छ ।
पासाङले माओवादी पार्टीमा जिम्मेवारी पाएसँगै एमालेकी पूर्वउपाध्यक्ष समेत रहेकी पूर्वराष्ट्रपति भण्डारीलाई पनि सक्रिय राजनीतिमा फर्किन बाटो खुलेको चर्चा भइरहेको छ ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापा पूर्वराष्ट्रपति भण्डारीले चाहे सक्रिय राजनीतिमा फर्कन कुनै समस्या नरहेको बताउँछन् ।
‘उहाँले चाहेको खण्डमा एमालेको सक्रिय राजनीतिमा फर्कन कुनै समस्या छैन’, थापाले रातोपाटीसँग भने, ‘उहाँको चाहना र आवश्यकता भयो भने असम्भव छैन ।’
त्यसो त विगतको पृष्ठभूमि केलाउँदै थापाले मदन भण्डारीको हत्यापश्चात विद्या भण्डारी पदीय आकांक्षाभन्दा पनि आवश्यकताका आधारमा सांसद, मन्त्री, उपप्रधानमन्त्री हुँदै राष्ट्रपतिजस्तो उच्च पदसम्म पुगेको दाबी गर्छन् ।
‘हरेक मानिसको राजनीतिक पृष्ठभूमि फरकफरक हुन्छ । नेकपा एमालेको राजनीतिमा विद्या भण्डारीको आगमनका साथै नेतृत्वमा पुगेको फरक खालको पृष्ठभूमि छ’, थापाले भने, ‘अहिलेसम्म विद्या भण्डारी आफ्नो इच्छाले राजनीतिमा आएको स्थिति होइन ।’
मदन भण्डारीको हत्या पश्चात विद्या भण्डारीले पहिलो पटक सेतो सारीमा काठमाडाँै निर्वाचन क्षेत्र नम्बर १ बाट उपनिर्वाचन लडेकी थिइन् । त्यसपछि उनी राष्ट्रिय राजनीतिमा प्रभाव बढाउन सफल हुँदै गइन् ।
२०५४ सालमा नेपालगञ्जमा भएको एमालेको छैटौँ महाधिवेशनदेखि एमालेको केन्द्रीय समिति सदस्यमा रहेर काम गरेकी उनी २०६५ मा बुटवलमा भएको आठौँ र त्यसपछि काठमाडौँमा भएको एमालेको नवौँ महाधिवेशनमार्फत उपाध्यक्ष बनेकी थिइन् ।
२०७२ सालदेखि २०७९ साल फागुनसम्म नेपालको दोस्रो राष्ट्रपति तथा प्रथम महिला राष्ट्रपतिको जिम्मेवारीमा भण्डारीले भूमिका निर्वाह गरेकी थिइन् ।
संयोग नै मान्नुपर्छ, दुई ठुला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र पृष्ठभूमिबाट वामपन्थी राजनीतिमा सक्रिय रहेका भण्डारी र पासाङ एउटै कार्यकालमा सात वर्ष राष्ट्रपति र उपराष्ट्रपति भएका थिए । भण्डारी राष्ट्रपतिको जिम्मेवारीमा रहेकै समयमा नेकपाभित्रको विवाद र नेताहरूमा बढेको दुरी कम गर्न हस्तक्षेपकारी भूमिका खेलेकी थिइन् । त्यसक्रममा भण्डारीले नेताहरूलाई राष्ट्रपति कार्यालय शीतल निवासमै बोलाएर छलफल गरेकी थिइन् । यद्यपि त्यसबेला उनको त्यो प्रयासले नेकपा विभाजन रोकिएन ।
- कोशीपछि कता जाँदैछिन् भण्डारी ?
गत वैशाख यता भण्डारी एमालेको सक्रिय राजनीतिमा आउने चर्चा भएको थियो । त्यस्तो चर्चा भइरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमै भण्डारीको सक्रियता र नेताहरूको उक्साहटबारे धेरै नबोल्न सचेत गराएका थिए ।
यही चर्चाकाबिच गत वैशाख १० गते एमालेले भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मानित गरेको थियो ।
कम्युनिस्ट पार्टी स्थापनाको ७५औँ वर्ष पूरा भएको अवसरमा गोदावरीमा आयोजित विशेष कार्यक्रममा एमालेले भण्डारीलाई सम्मान गरेर पार्टीभन्दा माथि रहेको सन्देश दिए पनि भण्डारीले राजनीतिक भेटवार्ता र सक्रिय कम गरिन्न् । त्यो भेटवार्ता आफ्नै निवास बुढानीलकण्ठ होस् वा विभिन्न जिल्लाकै हकमा किन नहोस्, उनले आफूलाई कतै न कतै सक्रिय राजनीतिमा आउने झल्को दिन भ्याइन् ।
‘विद्या भण्डारी आफैँ महत्त्वाकांक्षी व्यक्ति हुन्, उनले माओवादीको निर्णय कुर्नै पर्दैन’ । राजनीतिक शास्त्रका प्राध्यापक डा. लोकराज बराल भन्छन्, ‘तर भण्डारीले मर्यादा कायम राख्न सकेको देखिएन ।’
बराल भण्डारीलाई एमालेको सक्रिय राजनीतिमा आउन कानुनी रूपमा बाधा नभए पनि नैतिकता देखाएर सक्रिय राजनीतिमा फर्कन नहुने सुझाव दिन्छन् । ‘राष्ट्रको सम्मानित पदमा पुगेको व्यक्ति फेरि पार्टी राजनीतिमा सक्रिय हुनु नैतिक रूपमा राम्रो हुँदैन । उहाँ एमालेमा आउँछु भनेपछि ओलीले छेक्न सक्नु हुन्न । पछि के हुन्छ, अहिले भन्न सकिँदैन तर यो गलत नजिर स्थापित हुने भयो’, बरालको भनाइ छ ।
भण्डारीको विभिन्न जिल्ला भ्रमण पनि सक्रिय राजनीति गर्ने चाहना अन्तर्गत नै भएको बरालको बुझाइ छ । गत माघ १४ गते विराटनगर पुगेकी भण्डारी एक साता त्यहाँ बिताएर माघ २२ गतेमात्रै काठमाडौं फर्किइन् ।
माघ १४ गते बेलुका बिराटनगर विमानस्थल ओर्लिएकी उनलाई मोरङका अग्रज महिला तथा पार्टी नेताहरूले विमानस्थलमै स्वागतमात्र गरेनन्, विराटनगरमा रहँदा एमाले कार्यकर्ताहरूसँग बाक्लो भेटघाट र संवादमा पनि जुटिन् । विराटनगरमा रहँदा भण्डारीले सञ्चारकर्मीहरूसँग समेत अन्तरसंवाद गर्न भ्याइन् ।
सञ्चारकर्मीले सक्रिय राजनीतिबारे सोधेको प्रश्नमा उनले आफू अहिले पनि सक्रिय राजनीतिमा रहेको जवाफ दिएकी थिइन् । राष्ट्रिय राजनीतिमा सक्रिय रूपमा आउने कि नआउने भन्ने कुराचाहिँ के हो त ? भन्ने प्रश्नमा उनले भनेकी थिइन्, ‘म राष्ट्रिय राजनीति मै सक्रिय छु भनेर भनिसकेँ त !’
उनको यो जवाफले पनि उनी पार्टीको जिम्मेवारीमा फर्कन आतुर छन् भन्ने बुझ्न कठिन छैन ।
त्यतिमात्र होइन, भण्डारीले आफू एमालेकै कारण राष्ट्रपतिसम्मको उच्च पदमा पुगेकाले आफू जिम्मेवारीसहितको राजनीतिमा फर्कंदा एमालेमै फर्कने समेत बताएकी थिइन् । कोशीअघि भण्डारीले गण्डकीका कास्की र स्याङ्जा जिल्लाका विभिन्न स्थानको भ्रमण गरेकी थिइन् ।
पुस २ गते पोखरा पुगेकी भण्डारी त्यहाँ केही दिन बिताएर स्याङ्जासम्म पुगेर आफ्ना समर्थक र शुभचिन्तकहरूको मनोभावना बुझ्न भ्याइन् ।
पुस ५ गते पोखराबाट स्याङ्जा पुगेकी भण्डारीले कालीगण्डकी गाउँपालिकामा अवस्थित प्रसिद्ध धार्मिकस्थल आलमदेवीको दर्शन तथा अवलोकन गरेपछि उनलाई स्याङ्जा र कास्कीको सीमाना फेदीखोलादेखि पुतलीबजार, भीरकोट, वालिङ, गल्याङ र कालीगण्डकीमा स्थानीय र एमाले कार्यकर्ताहरूले स्वागत गरेका थिए ।
विद्या भण्डारी निकटस्थहरूका अनुसार कोशीपछि भण्डारी मधेस र लुम्बिनी प्रदेशका जिल्ला भ्रमण जाने तयारीमा छन् । ‘चाँडै नै मधेस र लुम्बिनीका जिल्लामा जाने कुरा भएको छ तर निश्चित भने भइसकेको छैन’, भण्डारीको सचिवालय स्रोतले भन्यो, ‘फागुन या चैत महिनामा मधेस र लुम्बिनीका केही जिल्लाको भ्रमण हुनसक्छ ।’
- ओलीले रोक्लान् कि गर्लान् स्वागत ?
नेकपा एमालेमा भण्डारी सक्रिय राजनीतिमा आइदिउन् भन्नेहरूको कमी छैन । २०७८ सालमा एमाले विभाजन भएपछि उक्त पार्टीमा अध्यक्ष ओलीको एकलौटी चल्दै आएको छ । ओलीको एकलौटी रोक्न पनि भण्डारी एमालेको सक्रिय राजनीतिमा आउनुपर्ने एक पक्षको भनाइ रहँदै आएको छ भने अर्को पक्षले भण्डारी आए माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र माओवादीसमेत एक ठाउँमा ल्याएर बलियो कम्युनिस्ट पार्टी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।
‘भण्डारी एमालेको सक्रिय राजनीतिमा आए माधव, झलनाथदेखि भीम रावलसम्म र प्रचण्ड नेतृत्वको माओवादीसम्म पुनः एक ठाउँमा आउने र शक्तिशाली कम्युनिस्ट पार्टी बन्ने सम्भावना रहन्छ’, एमालेका एक पदाधिकारी भन्छन्, ‘किनभने माधव, प्रचण्डहरूले ओलीको नेतृत्वमा पार्टी एकता नगर्ने भनिसकेको अवस्थामा आवश्यकताका आधारमा भोलि विद्या भण्डारी आउनुपर्ने हुन्छ ।’
नेताहरूको यस्तो मूल्यांकन र अनुमान भए पनि अध्यक्ष ओली भण्डारीप्रति त्यति सकारात्मक देखिएका छैनन् ।
तर भण्डारी निकट मानिएका एमाले नेता कृष्ण राई अध्यक्ष ओली र भण्डारीबिचको सम्बन्ध बाहिर प्रचार भएजस्तो खटपटपूर्ण नभएको दाबी गर्छन् ।
‘बाहिर सम्बन्ध राम्रो छैन भनेर जसरी प्रचार भइरहेको छ, त्यसमा सत्यता छैन’, राईले रातोपाटीसँग भने, ‘हामीले देख्दा उहाँहरूबिचको सम्बन्ध राम्रै देखिन्छ ।’
राईले भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किएको खण्डमा पनि ओलीको सहमतिमै फर्कने संकेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोर्खा ट्रेल ब्लेजरको उपाधि लिम्बू र सेर्मालाई
-
प्रतिनिधिसभाको चैत १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार
-
आरुको बोट
-
आज राति १२ बजदेखि स्ववियु निर्वाचनका लागि मौन अवधि सुरु हुँदै, प्रचार प्रसार गर्न नपाउने
-
वीरगञ्ज भन्सारद्वारा एक खर्ब नौ अर्ब राजस्व सङ्कलन
-
प्रतिस्थापन विधेयकलाई सदनमै छलफल गरेर अगाडि बढाउने प्रतिनिधिसभाको तयारी