बिहीबार, २९ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महासचिव शंकर पोखरेलका कारण कांग्रेस सशङ्कित !

मङ्गलबार, २९ माघ २०८१, १५ : ३८
मङ्गलबार, २९ माघ २०८१

काठमाडौँ । ‘७ बुँदे सहमतिको जगमा बनेको वर्तमान सत्ता समीकरणबाट विचलित भएका अस्थिरतावादका हिमायतीहरू सहकार्यका विरुद्धमा अनेक प्रकारका भ्रम र अफवाहको खेती गरिरहेका छन्’, एमाले महासचिव शंकर पोखरेलले सोमबार राति आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘उनीहरूले सत्ता समीकरणका विरुद्धमा जस्तोसुकै कुप्रयास गरेपनि तिनको अभिष्ट पुरा हुने छैन, हुन दिइने छैन ।’

महासचिव पोखरेलले कांग्रेस एमालेको सहकार्य वर्तमान राजनीतिक परिस्थितिको उपज भएको पनि बताएका छन् । 

पोखरेलको यो स्ट्याटस आउनुका पछि उनकै अघिल्लो स्ट्याटसको निरन्तरता थियो । 

किनभने पोखरेलले आइतबार राति पनि एक स्ट्याटस लेखेका थिए । त्यसमा उनले माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनसँगको संवादको प्रसङ्ग उल्लेख गरेका थिए । 

माओवादी केन्द्रका नेता पुनले शनिबार गुल्मीमा भएको एक कार्यक्रममा एमाले महासचिव पोखरेलले आफूलाई फोन गरेर अध्यादेशमा साथ दिन आग्रह गरेको बताएका थिए । 

पुनले शनिबार सार्वजनिक रूपमै पोखरेलले अध्यादेशमा साथ दिन भन्दै टेलिफोन गरेको बताएपछि त्यसको खण्डन गर्न पोखरेलले आइतबार ‘बर्षमानजीसँगको फोनको कुरा’ भन्दै लामो प्रस्टीकरण दिनुपरेको थियो । 

त्यसमा पोखरेलले नेताहरूका बिचमा शिष्टाचारवश हुने कुराकानीलाई वर्षमानले ‘एमाले महासचिवको याचना’ भनेर प्रचारबाजी गरेको आरोप लगाए । 

‘अव त उहाँसँग अनौपचारिक कुराकानी गर्न पनि सचेत हुनुपर्ने पो देखियो । पार्टीको जिम्मेवार नेताले कतिपय सवालमा समय समयमा आवश्यक ठानिएका व्यक्ति र पक्षसँग अनौपचारिक रूपमा कुरा गर्दछ’, पोखरेलले भनेका छन्, ‘अनौपचारिक रूपमा गरिएका कुरा सार्वजनिक खपतका विषय नहुन सक्दछन् । त्यस्ता कुराकानीलाई सार्वजनिक गर्नु उचित मानिँदैन ।’

पोखरेलले पुनले के उद्देश्यले त्यसरी आन्तरिक कुरा खोलेको हो भन्ने स्पष्ट रहेको भन्दै त्यसले उहाँलाई र उहाँको पार्टीलाई नै नोक्सान हुने चेतावनी दिएका छन् । 

‘जहाँसम्म वर्षमानजीलाई फोन गरेकै कारणले बलियो राष्ट्रिय शक्ति निर्माणको आवश्यकता र औचित्य खण्डित भएको माओवादीका नेता कार्यकर्ताको प्रचारबाजी वचकनापन बाहेक केही होइन । त्यस प्रकारको विचारप्रति सहानुभूति मात्र प्रकट गर्न सकिन्छ’, पोखरेलको भनाइ छ । 

पोखरेलको यो भनाइबाट एमाले र माओवादीबिच सहकार्यका लागि छलफल र संवाद भइरहेको छ भन्ने संकेत गर्छ । एकातिर नेपाली कांग्रेससँगको सत्ता सहकार्य अर्कोतिर विपक्षी माओवादी केन्द्रसँगको यस्तो हिमचिमका कारण नेपाली कांग्रेस सशङ्कित हुन पुगेको चर्चा हुन थालेको छ । 

महासचिव पोखरेलको अभिव्यक्तिबारे नेपाली कांग्रेसका नेताहरूले सभापति शेरबहादुर देउवालाई भेटेर बास्तविकताबारे सोध्ने तयारी नै गरेका छन् । 

नेपाली कांग्रेसका प्रमुख सचेतक समेत रहेका नेता श्याम घिमिरेले सभापति शेरबहादुर देउवासँग छलफल गरेपछिमात्र पोखरेलको संकेतबारे प्रस्ट हुने बताए । त्यसका लागि उनले सभापति देउवासँग बुधबार भेटेर कुरा गर्ने रातोपाटीलाई बताए । 

‘शंकरजीले किन र के प्रसङ्गमा माओवादीसँगको सहकार्यको कुरा गर्नुभयो त्यो उहाँले नै जवाफ दिनुहोला’, घिमिरेले रातोपाटीसँग भने, ‘यसले आशंका बढाउने नै भयो । तर नेपाली कांग्रेससँग सहकार्य भइरहेका बेला सार्वजनिक रूपमा व्यक्त नगरेको भए राम्रो हुन्थ्यो ।’

घिमिरेले सभापति देउवासँग यसबारे बुधबार छलफल गर्ने समेत बताए । ‘यसबारेमा सभापतिजीसँग बुधबार भेटेर छलफल हुन्छ’, घिमिरेको भनाइ छ । 

नेपाली कांग्रेसका अर्का नेता मीन विश्वकर्माले एमाले महासचिव पोखरेलले माओवादी नेता पुनसँग प्रधानमन्त्री केपी शर्मा ओलीकै सहमतिमा अध्यादेशलगायतका विषयमा ‘साइड टक’ गर्न खोजेको हुनसक्ने बताए । 

‘अध्यादेश, विधेयक लगायत धेरै कुराहरू छन् । त्यसमा प्रधानमन्त्रीले दोस्रो तेस्रो तहका नेताहरूसँग साइड टकका लागि नेताहरूलाई भनेको हुनसक्छ र त्यही अनुसार पोखरेलले पुनसँग कुराकानी गर्न खोजेको हुनसक्छ भन्ने मेरो बुझाई छ’, विश्वकर्माले भने, ‘बाँकी कुरा नेताहरूसँग छलफल भएपछि खुल्दैजाला ।’

संसद् नभएका बेला सरकारले ३१ वटा कानुन संशोधन गर्न ६ वटा अध्यादेश ल्याएको थियो । उक्त अध्यादेश संसदमा पुगेपनि निर्णयार्थ पेस हुन सकेको छैन । राष्ट्रिय सभामा सत्तापक्षको स्पष्ट बहुमत नभएकाले माघ २४ गते नै निणयार्थ पेस हुन लागेको अध्यादेश रोकिएको थियो । त्यसका लागि सत्तापक्षले जसपा नेपाललाई सहयोगका लागि मनाउने प्रयास गरिरहेको छ ।तर जसपा नेपालले भूमिसम्बन्धी अध्यादेशमा समर्थन गर्न नसक्ने जवाफ दिइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप