मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय

अमेरिकामा के छ भारतीय प्रधानमन्त्री मोदीको एजेन्डा ?

मङ्गलबार, २९ माघ २०८१, १५ : ०७
मङ्गलबार, २९ माघ २०८१

वासिङ्टन डिसी । फ्रान्समा आफ्ना कार्यक्रमहरू सकिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी १२ र १३ फेब्रुअरीमा अमेरिकाको भ्रमणमा जानेछन् । यस क्रममा मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्नेछन् । 

भारतीय प्रधानमन्त्रीको यो भ्रमणले आफैँमा ठुलो महत्त्व राख्छ । हालैका वर्षहरूमा ट्रम्पले यस्ता धेरै निर्णयहरू लिएका छन् जसको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भारतमा प्रभाव परेको छ । यति मात्र होइन, ट्रम्पले भारतबाट हुने व्यापार र आप्रवासनको मुद्दामा पनि धेरै अभिव्यक्ति दिएका छन्, जसको गहिरो अर्थ छ । 

यसले पनि मोदीको अमेरिका भ्रमण धेरै महत्त्वपूर्ण मानिएको छ । अमेरिकामा हुने धेरै महत्त्वपूर्ण छलफलहरूमा प्रधानमन्त्री संलग्न हुने अपेक्षा गरिएको छ । यसबाहेक, अमेरिका र ट्रम्पसँगको मित्रता बढाउनुका साथै उनले भारतलाई असर गर्ने मुद्दाहरूमा पनि उनले प्रत्यक्ष कुरा गर्ने ठानिएको छ ।

 यस्तो अवस्थामा, मोदीको अमेरिका भ्रमणको एजेन्डा के के होला ? अमेरिकामा भर्खरै कार्यभार सम्हालेका राष्ट्रपति ट्रम्पलाई भेट्ने मोदी विश्वका तेस्रो नेता हुनेछन् । मोदीभन्दा पहिले ट्रम्पले ह्वाइट हाउसमा  इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र जापानका शिगेरु इशिबालाई स्वागत गरेका थिए ।

भेटमा मोदीलाई ट्रम्पले आफ्ना मन्त्रिपरिषद्का सदस्यहरूसँग पनि परिचय गराउने बताइएको छ । यसबाहेक, खर्बपति व्यापारी तथा ट्रम्पका नजिकका साथी एलन मस्कले पनि  मोदीलाई भेट्न सक्ने आशा गरिएको छ । यस अवधिमा, टेस्ला, स्टारलिङ्क र अन्य कम्पनीहरूको व्यवसाय भारतमा ल्याउनेबारेमा दुई जनाबिच वार्ता हुन सक्नेछ । भेटघाटको क्रममा ट्रम्प र मोदीले बङ्गलादेशको मुहम्मद युनुस सरकार र यस क्षेत्रमा अमेरिकी हितका बारेमा पनि छलफल गर्न सक्नेछन् । 

  • व्यावसायिक सम्बन्ध

मोदी र ट्रम्पबिच हुने छलफलको सबैभन्दा ठुलो विषय व्यापारसम्बन्धी मुद्दा हुनेछन् । पछिल्ला केही महिनाहरूमा, ट्रम्पले अतिरिक्त महसुलको सवालमा भारतलाई धेरै पटक घेरेका छन् । यति मात्र होइन, उनले समान व्यापारको बारेमा कुरा गरेर यसो गरिएन भने आयात शुल्क लगाउने धम्की पनि दिएका छन् । ट्रम्पले पहिलो पटक तीन देश मेक्सिको, क्यानडा र चीनमाथि कर लगाउने घोषणा गरेदेखि नै भारतमा उनको अडानप्रति आशङ्का व्यक्त गरिएको छ । यी मध्ये दुई देशले ट्रम्पको निर्णयबाट छुट पाएका छन् तर अतिरिक्त महसुलको पासोबाट चीनले मुक्ति पाएको छैन । 

मोदीसँगको भेटमा ट्रम्पले अमेरिकी निर्यातमा थप आयात शुल्कबारे भारतलाई दबाब दिन सक्ने विश्वास गरिएको छ । अमेरिकाबाट मोटरसाइकल र अन्य विलासी उत्पादनहरूको निर्यात बढाउन उनीहरूले विशेषगरी भारतलाई शुल्क घटाउन आग्रह गर्न सक्ने मानिएको छ । ट्रम्पको धम्कीका बिचमा भारतले पहिले नै आयातित हेभी बाइक (१६०० सीसीभन्दा माथिका मोटरसाइकल)मा लगाइएको भन्सार शुल्क ५० प्रतिशतबाट घटाएर ३० प्रतिशत झारिसकेको छ । साथै, साना इन्जिन भएका बाइकहरूमा यो शुल्क घटाएर ४० प्रतिशत गरिएको छ । 

  • रक्षा सहयोग

सञ्चार माध्यमहरूमा आएका खबरलाई विश्वास गर्ने हो भने ट्रम्पले मोदीसँग रक्षा सहयोगबारे पनि कुरा गर्नेछन् । यस बैठकमा प्रधानमन्त्री मोदीले अमेरिकाबाट युद्धवाहन र लडाकु विमान इन्जिन खरिद गर्ने सम्झौतालाई अन्तिम रूप दिनेछन् भने ट्रम्पले उनलाई सकेसम्म धेरै अमेरिकी रक्षा उपकरणहरू किन्न आग्रह गर्नेछन् । गत महिना मात्र ट्रम्पले भारतलाई सकेसम्म धेरै अमेरिकी सुरक्षा उपकरणहरू किन्न आग्रह गरेका थिए । यसरी ट्रम्प दुइपक्षीय व्यापारमा सन्तुलन सिर्जना गर्न चाहन्छन् । 

  • प्रविधि र ऊर्जा क्षेत्रमा सहयोग : कृत्रिम बुद्धिमत्ता

मेरिका जानुअघि मोदीले फ्रान्समा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सम्बन्धी शिखर सम्मेलनको सह–अध्यक्षता गर्नेछन् । यसमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँ पनि उनीसँगै हुनेछन् । अमेरिकी उपराष्ट्रपति जेडी भान्स, चिनियाँ उपप्रधानमन्त्री झाङ गुओकिङ र ओपनएआई र गुगल जस्ता कम्पनीका सीईओहरूले पनि यसमा भाग लिनेछन् । 

प्रधानमन्त्री मोदीले अमेरिकाको डोनाल्ड ट्रम्प सरकारसँग सम्मेलनमा तय गरिएका रोडम्यापबारेमा थप कुरा गर्ने र यस क्षेत्रमा पनि अमेरिका–भारत सहयोगलाई अगाडि बढाउने दिशामा काम गर्ने विश्वास गरिएको छ ।

  • ऊर्जा सम्बन्धी सम्झौता

अमेरिकी राष्ट्रपतिले केही दिन अघि ‘ड्रिल बेबी ड्रिल’ नीति घोषणा गरेका थिए । यसअन्तर्गत, अमेरिकी सरकारले अब देशभित्रै तेल उत्पादनमा ध्यान केन्द्रित गर्नेछन् । अमेरिका चाँडै नै तेल र ग्यासको प्रमुख निर्यातकर्ताहरू मध्ये एक हुने ट्रम्प आफैंले भनेका थिए । यस्तो अवस्थामा, अहिलेसम्म अमेरिकी तेलको ठुलो खरिदकर्ता नभएको भारत पनि भविष्यमा तेल खरिद गर्ने सम्झौताको छलफलमा सामेल हुन सक्छ ।

  • आप्रवासन र भिसा नीति

भ्रमणमा मोदीले ट्रम्पसँग एच१बी भिसाको संख्या बढाउनेबारे कुरा गर्नेछन् । ट्रम्पका समर्थकहरूले आप्रवासन रोक्ने सम्बन्धमा धेरै उत्तेजक बयान दिएका छन् । त्यसबेलादेखि, अमेरिकी सरकारले एच१बी भिसाको संख्या घटाउने डर छ । तर, ट्रम्प आप्रवासन मुद्दामा कडा भए पनि देशमा दक्ष कामदारहरूलाई थप अवसरहरू प्रदान गर्न चाहने अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकी मिडियाले दाबी गरेका छन् । यस्तो अवस्थामा मोदीले एच१बी  भिसाको संख्या बढाउने विषयलाई उठाउन सक्नेछन् । 

  • आप्रवासन र निर्वासनको मुद्दा

अमेरिकामा अवैध रूपमा बसोबास गर्ने भारतीयहरूलाई ‘डिपोर्ट’को मुद्दा पनि मोदीले उठाउन सक्नेछन् । ट्रम्पको आप्रवासन नीति अन्तर्गत, अमेरिकी सुरक्षा बलहरूले अवैध आप्रवासीहरूलाई डिपोर्ट गरिरहेका छन् । यही नीतिअनुसरा अमेरिकाले करिब १८ हजार भारतीयलाई डिपोर्टको तयारी गरिरहेको छ । गत हप्ता मात्र अमेरिकी सेनाको विमानमा १०४ जना अवैध भारतीय आप्रवासीलाई भारत ल्याइएको थियो । यसरी ल्याउने भारतीयहरूको हात खुट्टामा सिक्री र नेलले बाँधिएको थियो । 

यो विषयले भारतमा हंगामा भएको थियो । विपक्षीहरूको चर्को विरोधपछि विदेशमन्त्री एस. जयशंकरले संसदमा पनि स्पष्टीकरण नै दिनु परेको थियो । पछिल्लो १६ वर्षमा अमेरिकाले १५ हजार भारतीयलाई देश निकाला गरेको थियो । ट्रम्पको पुनरागमनपछि यो संख्यामा ठुलो परिवर्तन हुने सम्भावना छ । ट्रम्पसँगको छलफलका क्रममा मोदीले भारतीयहरूमाथिको दुर्व्यवहार र उनीहरूलाई फिर्ता पठाउन अपनाइएको सावधानीको मुद्दा उठाउने विश्वास गरिएको छ । 

  • चीन र ब्रिक्स

मोदी । ट्रम्पबीचको छलफलमा चीनको मुद्दा उठ्ने निश्चित छ । एसियाली क्षेत्र र ताइवानमा चीनको बढ्दो प्रभुत्वले अमेरिकाको चिन्ता बढाएको छ । यसबाहेक, चीनले नौसेना क्षेत्रमा पनि आफ्नो क्षमतालाई द्रुत गतिमा बलियो बनाइरहेको छ । यस्तो अवस्थामा अमेरिकाले इन्डो–प्यासिफिक नीति अन्तर्गत भारतसँग सहयोग बढाउने कुरा गर्न सक्छ । दुई देशका नेताहरूबिच रक्षा र विदेश नीतिमा सम्झौताहरू चीनलाई ध्यानमा राखेर गरिनेछ ।

यसबाहेक, मोदी र ट्रम्पबिच ब्रिक्स गठबन्धनको बारेमा छलफल हुने सम्भावना छ । ट्रम्पले ब्रिक्स देशहरूमा १०० प्रतिशतसम्म कर लगाउने धम्की दिएका छन् ।  ब्रिक्स देशहरूले आफ्नै मुद्रा लागू गरेर डलरको प्रभुत्व समाप्त गर्न चाहनेमा ट्रम्प विश्वस्त छन् । यस कारणले गर्दा, उनीहरूले ब्रिक्स राष्ट्रहरूबिचको व्यापार रोक्न शुल्क लगाउने धम्की दिइरहेका छन् । ट्रम्प र मोदीबिच यो विषयमा छलफल हुन सक्ने विश्वास गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप