मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय
आईसीसी च्याम्पियन्स ट्रफीको इतिहास

न्युजिल्याण्डलाई च्याम्पियन बनाएको दोस्रो संस्करण

मङ्गलबार, २९ माघ २०८१, १६ : ००
मङ्गलबार, २९ माघ २०८१

काठमाडौँ । च्याम्पियन्स ट्रफीको दोस्रो संस्करण पनि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को एसोसिएट्स सदस्य राष्ट्रले नै आयोजना गर्ने अवसर पाएको थियो । प्रतियोगिता सन् २००० को अक्टोबर ३ देखि अक्टोबर १५ तारिखसम्म केन्यामा सञ्चालन भएको थियो । 

पहिलो संस्करणजस्तै च्याम्पियन्स ट्रफीको दोस्रो संस्करण पनि ‘आईसीसी नकआउट ट्रफी’ कै नामबाट आयोजना गरिएको थियो । क्रिकेटको बढ्दो लोकप्रियता र एसोसिएट्स राष्ट्रबिचको प्रतियोगितामा उत्कृष्ट प्रदर्शनलाई ध्यानमा राखी केन्यालाई दोस्रो संस्करण आयोजनाको अधिकार दिइएको थियो । 

च्याम्पियन्स ट्रफीको दोस्रो संस्करणमा टोलीको संख्या बढाएर ११ पुर्‍याइएको थियो । खेल तालिका सार्वजनिक गर्दा पाँचवटा टोलीले सिधै प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश पाएका थिए । बाँकी ६ वटा टोलीले भने प्रि–क्वार्टरफाइनल खेल खेल्नु परेको थियो । 

अस्ट्रेलिया, पाकिस्तान, जिम्बाबे, दक्षिण अफ्रिका र न्युजिल्याण्डले सिधै क्वार्टरफाइनलमा प्रवेश पाएका थिए । आयोजक केन्या, भारत, श्रीलंका, वेस्ट इन्डिज, बंगलादेश र इङ्ल्यान्डले भने प्रि–क्वार्टरफाइनल चरणमा भिडन्त गर्नुपरेको थियो ।

प्रि–क्वार्टरफाइनल खेलमा भारतले केन्यालाई आठ विकेटले, श्रीलंकाले वेस्ट इन्डिजलाई एक सय आठ रनले र इङ्ल्यान्डले बंगलादेशलाई आठ विकेटले पराजित गरेका थिए । जितसँगै भारत, श्रीलंका र इङ्ल्यान्ड क्वार्टरफाइनल चरणमा पुगेका थिए । 

प्रतियोगिताको पहिलो क्वार्टरफाइनलमा भारतले अस्ट्रेलियालाई २० रनले र दोस्रो क्वार्टरफाइनलमा पाकिस्तानले श्रीलंकालाई नौ विकेटले हराएका थिए । तेस्रो क्वार्टरफाइनलमा न्युजिल्याण्डले जिम्बाबेलाई ६४ रनले र चौथो क्वार्टरफाइनलमा दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई आठ विकेटले हराएका थिए ।   

icc champions trophy 2000 final

यसैगरी, प्रतियोगिताको सेमिफाइनलमा न्युजिल्याण्डले पाकिस्तानलाई चार विकेटले र भारतले दक्षिण अफ्रिकालाई ९५ रनले पराजित गरेका थिए । प्रतियोगिताको फाइनल खेलमा न्युजिल्याण्डले भारतलाई चार विकेटले हराउँदै दोस्रो संस्करणको उपाधि चुमेको थियो । 

फाइनल खेलमा भारतले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर दुई सय ६४ रन बनाएको थियो । भारतका लागि सौरभ गांगुलीले एक सय १७ रन बनाएका थिए । जवाफी ब्याटिङमा ओर्लिएको न्युजिल्याण्डले ४९.४ ओभरमा ६ विकेट गुमाएर विजय लक्ष्य पुरा गरेको थियो । न्युजिल्याण्डको जितमा क्रिस क्रेन्सले अविजित एक सय दुई रनको योगदान गरेका थिए ।

icc champions trophy 2000

च्याम्पियन्स ट्रफीको दोस्रो संस्करणमा भारतका सौरभ गांगुलीले सर्वाधिक रन बनाएका थिए । उनले चार खेलमा कुल तीन सय ४८ रन बनाएका थिए । यस क्रममा उनले दुई शतक र एक अर्धशतक पनि हिर्काएका थिए । उनको उच्च स्कोर भने अविजित एक सय ४१ रन थियो ।

सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा पाकिस्तानका सइद अनवर दोस्रो स्थानमा रहे । उनले दुई खेलमा दुई सय नौ रन बनाएका थिए । यस क्रममा उनले दुईवटा शतक प्रहार गरेका थिए । उनको उच्च स्कोर अविजित एक सय पाँच रन रहेको थियो । 

zaheer khan

यसैगरी, सर्वाधिक विकेट लिने बलरको सूचिमा भारतका वेंकटेश प्रसाद पहिलो स्थानमा रहेका थिए । उनले चार खेलमा कुल आठ विकेट लिएका थिए । दोस्रो स्थानमा रहेका पाकिस्तानका अजहर महमुद र तेस्रो स्थानमा रहेका भारतका जहिर खानले सात–सात विकेट हात पारेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप