मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय

टीकापुरमा ‘भ्यालेन्टाइन–डे’का दिन गुलाफका १० हजार बिरुवा रोपिने

मङ्गलबार, २९ माघ २०८१, १२ : ०२
मङ्गलबार, २९ माघ २०८१

धनगढी । कैलालीको टीकापुर नगरपालिकालाई गुलाफको सहर बनाउने अभियान थालिएको छ । भ्यालेन्टाइन–डे अर्थात् फेब्रुअरी १४ देखि यो अभियान थालनी गर्ने योजनाका साथ तयारी भइरहेको हो ।

टीकापुर नगरप्रमुख रामलाल डंगौरा थारुले अभियान अन्तर्गत नगरपालिका तथा वडा कार्यालय परिसर, नगरपालिकास्थित ६ लेन सडकको मेडियन, चिल्डे«न पार्क, सरकारी तथा गैरसरकारी कार्यालय परिसर, सार्वजनिक स्थललगायतका स्थानमा गुलाफका बिरुवा रोपिने जानकारी दिए ।

यसैबिच टीकापुरको जमरा पुलदेखि बसपार्कसम्म रहेको झण्डै दुई किलोमिटर सडकको दुवैतर्फ ग्रीन लेनमा पनि तालजाली लगाइएको छ । नगर प्रमुख थारुले ‘भ्यालेन्टाइन–डे’का दिन नगरवासी, जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीलगायतको सहभागितामा १० हजार गुलाफको बिरुवासहित अन्य फलफूलका बिरुवा, मौसमी तथा बेमौसमी सजावटका बिरुवा रोप्ने बताए ।

नगर प्रमुख थारुले अर्को वर्ष भ्यालेन्टाइन–डेकै दिन संसारभरिकै मानिसलाई टीकापुरमा गुलाफ अवलोकन गर्न आमन्त्रण गरेर पर्यटन प्रवर्द्धन गर्ने योजना रहेको सुनाए । टीकापुरमै कर्णाली नदीको तटमा टीकापुर बृहत् उद्यान पार्क छ, जहाँ विभिन्न ३६ प्रजातिका गुलाफ पाइन्छन् । तिनै गुलाफका बिरुवालाई रोप्दै जाने र एक वर्षमा गुलाफको सहर बनाउने पालिकाको परिकल्पना छ ।

नगरपालिकाले यो अभियानका लागि १० लाख बजेट विनियोजन गरेको छ ।

के भन्छन् सरोकारवाला ?

नेपाली कांगे्रसका स्थानीय नेता नवराज रावलले समयमा सोच नपु¥याउँदा अहिले गुलाफ रोप्ने ठाउँका ढुङ्गा उठाउन ठुलो श्रमदान गर्नुपरेको बताए । गुलाफको सहर बनाउने भनेर टीकापुरको प्रचारप्रसार भइरहेकाले यसलाई सफल बनाउनुपर्ने उनको भनाइ छ ।

टीकापुरका पर्यटन व्यवसायी टीकाराम जैसीले एक पटक अभियानका रूपमा लाग्दा बिरुवा रोप्न सकिए पनि जोगाउन कठिन हुने भएकाले पानीको व्यवस्था मिलाइदिएर संघ–संस्थालाई जिम्मा दिनुपर्ने सुझाव दिए ।

नागरिक समाज टीकापुरका संयोजक भीमराम चपाईले गुलाफको सहर बनाउन ठुलो लगानी चाहिने भएकाले नगरपालिकाले यसतर्फ ध्यान दिनुपर्ने बताए । बिरुवा हुर्काउन धेरै मेहनत चाहिने भन्दै उनले सिँचाइका लागि स्थायी जनशक्ति व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

कृषि विज्ञ कृष्ण न्यौपानेले जंगली गुलाफलाई हाइब्रिड बनाएर ४५ डिग्रीसम्म तापक्रम थेग्न बनाउन सकिने र त्योभन्दा बढी तापक्रम भए गुलाफका लागि उपयुक्त नहुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप