सन्तान सम्बन्धको आँसु !
![सन्तान सम्बन्धको आँसु !](https://npcdn.ratopati.com/media/news/blog_lsog3NHF6n.jpg)
उपत्यकादेखि नजिकैको पहाड, नाङेचौर र सोला भन्ज्याङको सिरानमा घामको प्रकाश ढल्किसकेको छ। नारायण ( कृष्णप्रसाद) बा र आमा (हजुरबुवा र हजुरआमा) डाँडाघरको आँगनमा बसिरहनुभएको छ। छोराछोरी विदेश गएर एक्लो बस्नु पर्दा उहाँहरूको मनमा सदाझैँ अँध्यारो छाएको हुन्छ । अनि त्यस्तो अनिद्राको ऐँठन दिने विषय हुन्छ; सन्तान सम्बन्ध ।
भन्नलाई त, ४ छोराहरूसहितको ठुलो परिवार छ। तर बाध्यता वा रहरले, जेठा, माइला र साइँला छोरा र उनीहरूको सिङ्गो परिवार परदेशमा छन् । अपितु, तिनै सन्तान हुर्काएका बुढ्यौली हातहरू आज रित्ता छन् ।
कान्छा छोराको परिवार देशमा छ । यही एउटा परिवार त छ, जसले हप्ता दश दिनमा हात समाएर नारायण बा र आमाको हालखबर सोध्छ। औषधी मुलो खाए नखाएको जानकारी लिन्छ र अस्पताल जाने कि भनेर दोहोर्याउँछ। उसकै जहान छिन्, जसले घरको आँगन बढार्छिन् । घरबारीको सागसब्जी खनजोत गर्छिन् अनि घडी हेर्दै शिक्षाको उज्यालो छर्न चार गाँस टिप्न नभ्याउँदै बाटैमा कपाल सम्याउँदै कुद्छिन् ।
नारायण बाको झ्याल छेउमा रहेको रिडुवा (रेडियो) मा घन्किने जनगायक, जीवन शर्माको पुरानो भाका ‘सिमली छायामा बसी’ सुनेर भावुक हुँदै मास्टर छोरो भन्छ– ‘बा, यो गीत तपाईँका लागि नै लेखिएको जस्तो लाग्छ है ? बदलामा नारायण बा बिस्तारै ओठ टोक्नुहुन्छ अनि टोलाउँदै डाँडामाथि अस्थाउन लागेको घाम हेर्नुहुन्छ । साँच्चि, त्यो स्तब्ध र निर्दोष आँखामा कति पीडा । चोट र निराशा लुकेको होला ?
उसो त नारायण बाले आफ्नो जेठो सन्तानलाई यो संसारबाट गुमाउनुपरेको पीडा व्यहोर्नुभएको छ । तर, अहिले आफ्ना जीवित सन्तानहरूबाट पनि वर्षौँसम्म टाढिएर बस्नुपर्दा उहाँको मनमा अनिन्द्रामै ऐँठन उत्पन्न हुन्छ ।
२०४० सालमा जेठा छोराको निर्मम हत्या भए पनि आफूले आफैलाई सम्हाल्नुभएका उहाँले परिवारलाई सही दिशा दिनुभयो र बडो दुखले आफ्ना सन्तानहरू हुर्काउनुभयो ।
बाल्यकालमा नै आफ्नी ममतामयी आमाको देहान्तपछि उहाँको एक मात्र सहोदर भाइ पनि ५० वर्षसम्म मुग्लान भासिनुभयो । सानैदेखि आफन्तहरूबाट बिछोडिएर बस्नुको पीडा नारायण बाले राम्ररी बुझ्नुभएको छ। यस्तो अवस्थामा सन्तान सम्बन्ध र आफन्तको मायाले उहाँलाई भनिरहेको छ– ‘नसोध मलाई, कहाँ दुख्छ घाउ ?’
सहरको भिडभाड, चिल्ला बाटा र आधुनिक जीवनशैली अनि अनेक मिठा सपनाले मात्रै नपुगेर सुनौलो भविष्य देखेर बिदेसिएका सन्तानका भित्तामा झुन्ड्याइएका तस्बिर, यदाकदा आउने अडियो/भिडियो कल, अनि पायक पर्दा पठाइने केही नयाँ लुगा र पैसा मात्रले उहाँले सम्झन्छन् । बस्, यति हुन्, नारायण बासँग रहेका सन्तानका सम्झनाका थैलीहरू । बाँकी त उही बूढाबूढीको गन्थन, एकलासे घर र चरीको चिरबिर उफ् !
छिमेकी घर आँगनमा साना नानीबाबु देख्नासाथ नारायण बा र आमा सम्झनुहुन्छ आफ्ना सन्तानको बालापन । र त दिनदिनै निलो फ्रकमा सजिएर दुई चुल्ठी बाटेकी मगरदाइको छोरालाई नारायण बा बोलाएर मलिन अनि मायालु स्वरमा भन्नुहुन्छ – ‘रामरी पढेस् है बा आमालाई दुःख नदिएस् । भोलिपर्सि ठुलो मान्छे भएसी आमालाई छोडेर टाढा नजानु है?’ जब कान्छो हस् भन्दै खुर्र दौडन्छ, अनि बग्छन् बाका परेली र खुइय गर्दै मझेरीतिर लाग्नुहुन्छ । आँगनमा खेल्दै गर्दा लडेर घुँडाको हड्डी दुखेर आएका सन्तानका आँसु, पहिलो पटक पार्वती स्कुल जाँदाको डर र अटेरीपन, आमाको हात समाएर सलाँदु खोला तरेको सम्झना सबै झलझल्ती घुम्छन् बा–आमाका आँखामा मानौँ कुनै सिनेमाको रिल दौडिरहेको छ एकनासले ।
सुखसयलका सपना खोज्दै आफ्नो कोखबाट जन्मिएका सन्तान परदेशी भूमिमा छन् । तर यी दुई बुढा मन त्यही डाँडाघरको छानोमुनि आफ्ना सन्तानको पर्खाइमा ओइलाइरहेका छन्।
नारायण बा र आमाको मनमा वेदना भरिएको छ, बुढ्यौलीले पनि होला पिर परेको धेरै छ तर पोख्ने कता ? कतै छचल्किने पो हो कि ? यसरी आफ्ना मुटुका टुक्राहरू टाढा भएपछि अब यो जीवनमा बाँकी छ त मात्रै तिनीहरूका स्मृतिहरू र तिनीहरूलाई दिने माया अनि आशीर्वाद !
एउटा पाँच वर्षको बालकले आमा बुबाबाट जति मात्रमा स्नेहको माग गर्दछ । त्यस्तै आफ्ना सन्तानलाई हुर्काएर डाँडाकाँडा पुर्याएका आमा बुवालाई पनि सोही स्नेह चाहिन्छ । आफ्ना सन्तानसँग समय बिताउन नाति नातिनासँग खेल्न रमाउन र सन्तानलाई बुढेसकालको सहारा बनाउन खोज्छन् ।
नारायण बाका सन्तति अहिले ठुला सपना देखेर परदेशमा छन्। उनी आफ्ना सन्तति स्वदेशकै माटोमा रमेको हेर्न चाहन्छन्। आज नेपाली माटोको बास्ना बिर्सेर विदेशी अत्तरको सुगन्धमा रमाउन बाध्य भएका नारायण बाका जस्ता सन्तति हाम्रा समाजमा धेरै छन्। जसको पीडा अहिले नारायण बा जस्तै धेरै बाले भोग्नु परेको छ। अहिलेका सन्तानलाई कहाँ समय छ र आफ्ना बुबा आमासँग बस्न ?
साँच्चि! नारायण बा र आमाका सन्तान पनि परदेशमा यी दुई डाँडामाथिका घामझैँ सम्झिइरहेका होलान् त बा र आमा? के ती पनि यी दुई झैँ बर्सन्छन् होला त कहिलेकाहीँ? सम्झन्छन् होला त तिनीहरू डाँडाघरको परिवेश र आफ्नो बाल्यकाल? त्यो उनीहरूकै बाध्यता र विवशता होला तर यता सदाझैँ ८० को दशकमा रहेका नारायण बालाई आफ्नो चूलो माथिको दियारमा साँझ बत्ती बाल्नुपर्ने रीतिको झझल्कोको ऐँठन कसले पो बुझिदिने ?
बुढ्यौलीका सहारा छोराबुहारी, नातिनातिना जन्मघरमा नहुनुले कति रात अनिदै रहनु भएको होला नारायण बा अनि आमा ! कसले बुझिदिने! तर पनि अझै कति आँट कति साहस छ नारायण बा आमामा, छोराहरुले गरेको प्रगतिभन्दा नातिनातिनाको प्रगति सुन्दा फलैँचामा बसेर पार्थलीको डाँडो हेर्दै बाउबाजेको छाला नासोको रुपमा सन्तानको लागि कुर्दै हुनुहुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणी नदीमा हामफालेकी महिलाको सकुशल उद्धार
-
विवादास्पद अभिव्यक्तिका कारण ‘इन्डियाज गट् लेटेन्ट’को एपिसोड युट्युबमा ब्लक
-
नेपाल अडिटर्स एसोसिएसनको सातौँ महाधिवेशनको मिति तोकियो
-
पत्रकार उपाध्यायको ‘आमा म आउँदैछु’ कविता सङ्ग्रह विमोचन
-
धम्की नदिन कृष्णमूर्तिलाई पोखराका वडाध्यक्षको चेतावनी
-
सम्बन्धविच्छेदको मुद्दा टुंगिएसँगै एलिनाले लेखिन्– प्रिय विष्णु हाम्रो सम्बन्ध अल्पायु मै पूर्णविराम लाग्यो