माओवादीको प्राथमिकतामा परेन एकता वार्ता समिति
काठमाडौँ । माओवादी घटकबिचको एकता तत्कालका लागि टरेको छ । पुस २३ मा सम्पन्न नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले विचार मिल्ने वामपन्थी दलहरूसँग एकता र ध्रुवीकरणका लागि उच्चस्तरीय वार्ता समिति गठन गर्ने निर्णय गरेको थियो ।
पार्टी एकताको प्राथमिकतामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा) र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा) थिए । माघ २१ गते सम्पन्न माओवादीको पदाधिकारी बैठकले वार्ता समिति गठनबारे कुनै निर्णय नै गरेन ।
माओवादीले आइतबार जारी गरेको परिपत्रमा उच्चस्तरीय वार्ता समिति गठन गरिएकोबारे कुनै जानकारी गराइएको छैन । प्रवक्ता अग्निप्रसाद सापकोटाले उच्चस्तरीय समिति गठन सम्बन्धमा पार्टीले कुनै निर्णय नगरेको जानकारी दिए । यद्यपि बैठकमा यसबारे छलफल भएको उनले बताए ।
पार्टी एकता सम्बन्धमा अर्को बैठकले निर्णय गर्न सक्ने सापकोटाको भनाइ छ । ‘पदाधिकारी बैठकमा उच्चस्तरीय वार्ता समिति गठन गर्नेबारे छलफल भएको थियो तर निर्णय भएको छैन । सायद अर्को बैठकले यसबारे निर्णय गर्ला,’ उनले भने ।
अहिले समाजवादी मोर्चालाई नै सक्रिय बनाउने गरी तयारी गरेको सापकोटाले रातोपाटीलाई बताए ।
माओवादीसँग एकता गर्नका लागि एक वर्षअघि नै पार्टीबाट निर्णय गराएका विप्लवले प्रचण्डको चाहना नभएकाले एकता प्रक्रिया निष्कर्षमा नपुगेको आरोप लगाएका छन् । गतवर्ष वैशाखमा सम्पन्न नेकपाको केन्द्रीय समिति बैठकले माओवादीसँग एकता गर्ने निर्णय गरेको थियो ।
गत चैत ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी र नेसपाबिच एकता गर्नेबारे ४ बुँदे सहमति भएको थियो ।
अब यी दुई पार्टीबिच तत्काल एकताको सम्भावना नरहेको माओवादीका एक पदाधिकारीले बताए । अन्य पार्टीसँग एकताभन्दा पनि आन्तरिक रूपमा माओवादीलाई बलियो बनाएर लैजाने विषयमा निष्कर्ष निकालिएको ती नेताको भनाइ छ ।
‘अध्यक्षले महरा (कृष्णबहादुर) कमरेडको नेतृत्वमा वार्ता समिति गठन गर्ने प्रस्ताव गर्नुभएको थियो । यसबारे छलफल भयो तर निर्णय हुन सकेन,’ ती नेताले भने ।
अहिले अन्य पार्टीसँग एकताभन्दा पनि पार्टीलाई नै आन्तरिक रूपमा बलियो बनाएर लैजानु पर्नेमा धेरैको सुझाव आएको उनको भनाइ थियो । यद्यपि यसो भन्दैमा एकताको ढोका बन्द नभएको उनले प्रस्ट पारे । अहिलेका लागि समाजवादी मोर्चालाई नै बलियो बनाएर लैजानुपर्नेमा धेरैको सुझाव आएको उनले जानकारी दिए ।
गत वर्ष माओवादी र नेसपाबिच भएको सहमतिमा एकीकृत पार्टीको नामका सन्दर्भमा आगामी महाधिवेशनमा टुङ्गो लगाउने निर्णय गरिएको थियो ।
पार्टी एकताका लागि वैचारिक एकरूपता र संगठनात्मक तयारी गर्न कार्यदल गठन गरिएको थियो । कार्यदलमा माओवादी तर्फबाट महासचिव देवप्रसाद गुरूङ र उपमहासचिव जनार्दन शर्मा तथा नेपाल समाजवादी पार्टीका तर्फबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव थिए ।
नेसपाका महासचिव यादवले माओवादीसँग पार्टी एकता टरेको बताए । माओवादीले पार्टीको नाम परिवर्तन नभएसम्म एकता नहुने उनले स्पष्ट पारे ।
‘हामीले सुरुदेखि नै एकताका लागि माओवादी नाम परिवर्तन गर्नुपर्ने प्रस्ताव गरेका थियौँ । प्रचण्डजीले पार्टीको नाम परिवर्तन गरी नेकपा(समाजवादी) राख्ने सहमति गर्नुभएको थियो । तर अहिलेसम्म नाम परिवर्तनको सम्बन्धमा कुनै निर्णय गर्नुभएको छैन,’ उनले भने । माओवादी नाम कायमै राखेर पार्टी एकता नहुने उनले प्रस्ट पारे ।
यादवले माघ २ गते बसेको मोर्चाको बैठकले पनि हतारमा पार्टी एकता गर्नुभन्दा मोर्चालाई नै विस्तार गर्दै लैजाने सहमति गरेको बताए । नेकपा एकीकृत समाजवादीलाई पनि एकता प्रक्रियामा ल्याउने तयारी भइरहेको उनले बताए ।
‘तत्काल पार्टी एकता नगर्ने र मोर्चालाई नै प्रभावकारी बनाएर अभ्यास गर्दै जाने सहमति भएको छ । त्यस अनुरुप चैत २ गते हुने मधेस केन्द्रित सभाको तयारीका लागि हामी जनकपुर आएका छौँ,’ यादवले भने, ‘माधवजीलाई पनि मनाउने जिम्मा मोर्चाको बैठकले महिन्द्रजीलाई दिएको छ । अहिले मोर्चालाई नै विस्तार गर्ने तयारी साथ अगाडि बढेका छौँ ।’
सहअध्यक्ष गंगा श्रेष्ठले पार्टी एकतासम्बन्धमा माओवादीसँग कुनै समस्या नभए पनि अन्य पाटीसँग पनि एकैपटक एकता गर्ने तयारीका कारण ढिलाइ भएको दाबी गरे । यसमा आफ्नो पार्टीबाट भन्दा पनि माओवादीकै कारण विलम्ब भएको श्रेष्ठको तर्क छ ।
‘हामीले एकता गर्ने निर्णय पहिले नै गरिसकेका छौँ । किन ढिला भयो भन्नेबारे माओवादीलाई नै प्रश्न गर्दा उपयुक्त होला । पार्टी एकताका लागि हामी सकारात्मक छौँ’, उनले भने ।
यता नेकपाका स्थायी समिति सदस्य सन्तोष बुढाले पनि अहिले पार्टी एकताको सम्भावना टरेको बताए । ‘प्रचण्डले पार्टी एकता गर्न किन चाहनुभएन, त्यो उहाँहरुको कुरा हो,’ उनले भने, ‘हामी मोर्चाबाट सहकार्य गर्दै जानेगरी आन्तरिक तयारीका साथ अगाडि बढेका छौँ ।’
प्रचण्डलाई आफूहरूले ‘तपाईंको पार्टीभित्रै कुरा मिलेको छैन, अहिले एकता नगरौँ’ भनेको श्रेष्ठले जानकारी दिए ।
मंसिर दोस्रो साता कपिलवस्तुको शिवगढीमा सम्पन्न नेकपाको केन्द्रीय समिति बैठकमा विप्लवले प्रचण्ड नै एकता गर्न इच्छुक नदेखिएको भन्दै असन्तुष्टि पोखेका थिए ।
माघ १५ गते चार दलीय मोर्चाको काठमाडौँमा भएको सभामा समेत पार्टी एकताप्रति ढिलाइ भएकोमा विप्लवले प्रचण्डसँग असन्तुष्टि पोखेका थिए । सभामा प्रचण्ड, विप्लव र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबिच घोचपेच नै चलेको थियो । विप्लव र नेपालले लगाएको आरोपप्रति प्रचण्डको असन्तुष्टि प्रस्ट झल्किन्थ्यो ।
‘पार्टी एकतामा प्रचण्डले अरुचि गर्यो कि भनेजसरी कमरेडहरूले मप्रति ताक्ने गरेका छन्, त्यस्तो होइन । म तत्काल एकता गर्ने पक्षमा छु तर हतारोमा एकता गर्दा नेकपा असफल भएको विगतका अनुभव छन्,’ प्रचण्डले त्यतिबेला भनेका थिए ।
तत्कालका लागि मोर्चा बनाएर नै जाउँ, विचारमा एकमत भएपछि एकता गर्दा दिगो हुन्छ भन्नेमा आफू विश्वस्त रहेको उनले बताएका थिए । ‘यसको मतलब कछुवाको गतिमा वर्षौं लगाउने भन्न खोजेको होइन,’ उनले भनेका थिए ।
पछिल्लो समय अध्यक्ष प्रचण्डले नै एकताप्रति चासो नदिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । माओवादीका अर्का एक पदाधिकारीका अनुसार वार्ता समिति गठन नहुनुमा एकता प्रक्रियामा आउने नेताहरूको व्यवस्थापन पेचिलो बन्दै गएको देखिन्छ । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’लाई उपाध्यक्ष बनाउने गरी कात्तिक २६ प्रचण्डले प्रस्ताव गरेका थिए तर केन्द्रीय समिति बैठकसम्म आइपुग्दा चर्को आलोचना भयो ।
पासाङको पोर्टफोलियो सर्कुलरमै तोक्ने विषयमा अन्तिम समयसम्म सहमतिको प्रयास असफल भयो । अन्ततः उनलाई आर्थिक उत्पादन संयन्त्रको विशेष जिम्मेवारी दिने निर्णय भयो । यसैकारण एकता प्रक्रियामा आएका नेताहरूको पदीय व्यवस्थापन निकै पेचिलो हुने देखिएकाले एकता प्रक्रिया अगाडि बढ्न नसकेको नेताहरूको भनाइ छ ।
यद्यपि, माओवादी पदाधिकारी बैठकले एकता प्रक्रियामा आएका नेताहरूलाई साबिक पार्टीसरहकै जिम्मेवारी दिने निर्णय गरिसकेको छ ।
‘पार्टी संगठन अहिले नै भद्रगोल छ । पासाङजीलाई जिम्मेवारी दिने विषयमा निर्णय हुन सकेको छैन । भर्खर नेताहरूको जिम्मेवारी तोकिएको छ,’ माओवादी केन्द्रका एक नेताले भने, ‘यसमा पनि धेरै साथीहरूको चित्त बुझेको छैन ।’
अन्य पार्टीसँग एकता गर्नुभन्दा पनि पार्टी आफैँ बलियो हुनुपर्ने, विचारमा स्पष्ट हुनुपर्ने अवस्था रहेको ती नेताले बताए । ‘त्यसपछि मात्र आवश्यकता अनुसार एकता, सहकार्य र ध्रुवीकरण प्रक्रिया अगाडि बढाउन सजिलो हुन्छ’, उनले भने ।
अर्कोतर्फ प्रचण्ड आफैँ अन्य वामपन्थी पार्टीसँग हतारमा एकता गर्नेभन्दा पनि पार्टी संगठनलाई बलियो बनाएर जाने पक्षमा देखिन्छन् । माघ ८ गते खुमलटारमा बसेको पदाधिकारी बैठकमा पनि तत्काल अन्य पार्टीसँग एकताभन्दा आन्तरिक संगठनलाई बलियो बनाएर जानुपर्नेमा उनले जोड दिएका थिए ।
मंसिर १६ गते सम्पन्न स्थानीय तह उपनिर्वाचनमा माओवादीले उल्लेख्य मत र सिट सङ्ख्या बढाएपछि हौसिएका प्रचण्ड अहिले देश दौडाहामा निस्किएका छन् । पूर्व–पश्चिम जहाँ पुग्छन्, उनी स्थानीयसँग घुलमिल हुने, सँगै खाना खाने, मर्निङ वाक गर्ने, गुनासा सुन्ने, सहिद परिवार, बेपत्ता तथा घाइते अपाङ्गता भएका परिवारसँग समय बिताउने गरेका छन् ।
शनिबार नवनिर्वाचित अखिल क्रान्तिकारीका पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ तथा पदभार ग्रहण कार्यक्रममा प्रचण्डले २०६४ मा जस्तै २०८४ को निर्वाचन माओवादीमय हुने बताएका थिए । देश दौडाहामा उत्साहजनक जनसहभागिताले पनि उनी अहिले एकताभन्दा मोर्चाबाटै सहकार्य गर्दै जाने मनस्थितिमा देखिएका छन् ।
‘म पूर्व–पश्चिम जता गए पनि २०६४ को जस्तै माओवादीप्रति लगाव, उभार आकर्षण देखिएको छ । त्यतिबेला म जहाँ गए पनि मलाई बुढाबुढी, युवायुवती, बच्चाबच्चीले छुन पाए हुन्थ्योजस्तो गर्नुहुन्थ्यो । २०७० र २०७४ पछि बिचमा उस्तैउस्तै भयो । सबै उस्तै भनेजस्तो हुन गयो । अहिलेचाहिँ माओवादी नै रहेछ हाम्रो पार्टी भन्ने जनतामा फेरि भएको छ,’ प्रचण्डले भनेका थिए ।
पार्टी एक भएर गएमा २०८४ माओवादीको हुने दाबी गर्दै उनले यसमा कसैले रोक्न नसक्ने बताएका थिए ।
पार्टी पदाधिकारीदेखि सबै केन्द्रीय सदस्यको जिम्मेवारी टुङ्ग्याएको माओवादीले फागुन १२ गतेदेखि मधेसबाट ‘जनतासँग माओवादी अभियान’ सञ्चालन गर्दैछ ।
उपमहासचिव हरिबोल गजुरेलले पनि २०६४ मा पूर्वबाट माओवादीलाई राम्रो मत र सिट आएकाले २०८४ मा पनि पूर्वबाटै ‘कमब्याक’ हुने दाबी गरे ।
‘पछिल्लो समय माओवादीले सत्ताको नेतृत्व गर्दा सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा राम्रो काम गरेकाले हाम्रो पार्टीप्रति जनआकर्षण बढेको छ । अब हाम्रो सम्पूर्ण ध्यान पार्टी निर्माण र समाजवादी विचार संश्लेषणमा हुनुपर्छ’, उनले भने, ‘२०८४ सम्म सत्तामा जान हुँदैन भनेर पार्टीले निर्णय गरेको छ । अब पार्टीको सम्पूर्ण शक्ति जनतामा केन्द्रित रहन्छ ।’
पार्टी बलियो भएपछि वामपन्थी शक्तिसँग एकता र ध्रुवीकरण गर्नुपर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षित इन्टरनेट सेवाबारे सरोकारवालाको छलफल
-
ग्यास लुकाएर अभाव देखाए विभागले जफत गर्ने
-
आइफाको रजत जयन्तीमा निर्देशक राकेश रोशनलाई विशेष सम्मान गरिने
-
भूमिसम्बन्धी अध्यादेशको विरोध गर्नुभनेको भूमिहीन किसानको विरोध गर्नु हो : उपमहासचिव ज्ञवाली
-
प्रभु साहको प्रश्न : शान्तिपूर्ण विरोध सभा गर्ने ठाउँ कहाँ छ ?
-
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा अध्यादेशबारे छलफल