पछिल्लो आठ पालीमा एक शतक, ६ अर्धशतक र पाँच सयभन्दा बढी रन
![पछिल्लो आठ पालीमा एक शतक, ६ अर्धशतक र पाँच सयभन्दा बढी रन](https://npcdn.ratopati.com/media/news/nez_tzmk7IDxuq.png)
काठमाडौँ । विश्व क्रिकेटमा न्युजिल्यान्डलाई अभागी टोलीका रुपमा लिइन्छ । पहिलो संस्करणदेखि नै आईसीसी एकदिवसीय विश्वकपमा सहभागिता जनाउँदै आए पनि न्युजिल्यान्डले हालसम्म उपाधि चुम्न सकेको छैन ।
न्युजिल्यान्डको टोली दुईपटक एकदिवसीय विश्वकपको फाइनलमा पुगेर पनि उपाधिबाट चुकेको छ । सन् २०१५ को विश्वकपको फाइनलमा न्युजिल्यान्डको टोली अस्ट्रेलियासँग सात विकेटले पराजित भएको थियो ।
त्यसलगत्तै, सन् २०१९ मा सम्पन्न एकदिवसीय विश्वकपमा पनि न्युजिल्यान्ड फाइनलसम्म पुगेको थियो । तर, त्यो विश्वकपको फाइनलमा पनि न्युजिल्यान्डको टोली दूर्भाग्यपूर्ण तरिकाले इङ्ल्यान्डसँग पराजित हुन पुग्यो ।
यसैगरी, न्युजिल्यान्डको टोलीले टी–२० विश्वकपमा पनि पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आएको छ । तर, हालसम्म न्युजिल्यान्डको टोलीले टी–२० विश्वकपको उपाधिसमेत उचाल्न सकेको छैन ।
सन् २०२१ मा सम्पन्न टी–२० विश्वकपको फाइनलमा पुगेर पनि न्युजिल्यान्ड उपाधिबाट विमुख भएको थियो । त्यो विश्वकपको फाइनलमा न्युजिल्यान्डलाई आठ विकेटले हराउँदै अस्ट्रेलियाले उपाधि चुमेको थियो ।
यसैगरी, न्युजिल्यान्डले विश्वकपछिको सबैभन्दा ठुलो प्रतियोगिता आईसीसी च्याम्पियन्स ट्रफीमा पनि पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आएको छ । तर, च्यापिम्यन्स ट्रफीमा भने न्युजिल्यान्डले एकपटक उपाधि चुमेको छ ।
न्युजिल्यान्डले सन् २००० मा सम्पन्न च्याम्पियन्स ट्रफीको फाइनलमा भारतलाई चार विकेटले हराउँदै उपाधि चुमेको थियो । त्यसपछि सन् २००९ मा पनि न्युजिल्यान्ड च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको थियो । तर, फाइनलमा अस्ट्रेलियासँग ६ विकेटले पराजित भएको थियो ।
न्युजिल्यान्डले च्याम्पियन्स ट्रफीको उपाधि चुम्न नसकेको २५ वर्ष बितिसकेको छ । तर, यसपटक न्युजिल्यान्डलाई च्याम्पियन्स ट्रफीको बलियो दाबेदारका रुपमा हेरिएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि न्युजिल्यान्डले अब्बल प्रदर्शन गर्दै आएको छ ।
खासगरी टोलीका अनुभवी खेलाडी केन विलियम्सनबाट यसपटक च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्डका समर्थकले निकै आशा गरेका छन् । पछिल्लो समय टेस्टसँगै एकदिवसीय प्रतियोगितामा पनि उनको प्रदर्शन उत्कृष्ट देखिन्छ ।
त्यसैले पनि आगामी च्याम्पियन्स ट्रफीमा उनीबाट न्युजिल्यान्डले निकै आशा गरेको छ । ३४ वर्षीय यी अनुभवी ब्याटिङ अलराउन्डरले अन्तर्राष्ट्रिय क्रिकेटको पछिल्लो आठ पालीमा एक शतक र ६ अर्धशतक प्रहार गरिसकेका छन् ।
विलियम्सनले हाल पाकिस्तानमा जारी त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको दक्षिण अफ्रिकाविरुद्धको खेलमा पनि उत्कृष्ट शतक बनाए । टोलीलाई जित दिलाउन उनले अविजित एक सय ३३ रनको योगदान गरे । उनले केवल एक सय १३ बलमा दुई छक्का र १३ चौका पनि प्रहार गरे ।
विलियम्सनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पछिल्लो आठ पालीमा कुल पाँच सय ५० भन्दा बढी रन बनाइसकेका छन् । एकदिवसीयको पछिल्लो आठ पालीमा एकपटक मात्र उनी ५० भन्दा कम रन बनाउँदै पेभेलियन फर्किएका छन् ।
यसअघि खेलिएको च्याम्पियन्स ट्रफीमा पनि विलियम्सनको प्रदर्शन उत्कृष्ट देखिन्छ । च्याम्पियन्स ट्रफीमा विलियम्सनले हालसम्म ६ पाली खेल्दै कुल तीन सय ४५ रन बनाएका छन् । उनले हालसम्म च्याम्पियन्स ट्रफीमा ६९ को औसतले रन बनाएका छन् ।
उनले च्याम्पियन्स ट्रफीमा हालसम्म एक शतक र तीन अर्धशतक प्रहार गरेका छन् । च्याम्पियन्स ट्रफीमा उनले हालसम्म चार छक्का र ३१ चौका प्रहार गरेका छन् । च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा उनले स्टिफन फ्लेमिङको कीर्तिमान तोड्ने सम्भावना पनि छ ।
फ्लेमिङ च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्डका लागि सबैभन्दा बढी रन बनाउने खेलाडी हुन् । फ्लेमिङले च्याम्पियन्स ट्रफीको १३ पालीमा कुल चार सय ४१ रन बनाएका छन् । आगामी च्याम्पियन्स ट्रफीमा ९७ रन बनाएमा विलियम्सले फ्लेमिङको कीर्तिमानलाई उछिन्ने छन् ।
विलियम्सनले न्युजिल्यान्डका लागि हालसम्म एक सय ६७ एकदिवसीय अन्तर्राष्ट्रियको एक सय ५९ पालीमा कुल सात हजार एक रन बनाएका छन् । यस क्रममा उनले १४ शतक र ४६ वटा अर्धशतक प्रहार गरिसकेका छन् ।
एकदिवसीय अन्तर्राष्ट्रियमा उनको उच्च स्कोर भने एक सय ४८ रन हो । यसका अतिरिक्त उनले एकदिवसीय अन्तर्राष्ट्रियमा ३७ विकेट पनि लिएका छन् । त्यसैले पनि आगामी च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्डका समर्थकले विलियम्सनबाट उत्कृष्ट प्रदर्शनको आशा गरेका छन् ।
च्याम्पियन्स ट्रफीको नवौँ संस्करण फेब्रुअरी १९ तारिखदेखि पाकिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई) मा सुरु हुँदैछ । यसपटक च्याम्पियन्स ट्रफीमा आठ टोलीको सहभागिता रहने छ । न्युजिल्यान्डसँगै भारत, पाकिस्तान र बंगलादेश प्रतियोगिताको समूह ‘ए’ मा परेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा न्युजिल्यान्डले आयोजक पाकिस्तानको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नन्दकिशोरका कारण विद्या भण्डारीलाई सक्रिय राजनीतिमा फर्कने बाटो खुला
-
नारायणी नदीमा हामफालेकी महिलाको सकुशल उद्धार
-
विवादास्पद अभिव्यक्तिका कारण ‘इन्डियाज गट् लेटेन्ट’को एपिसोड युट्युबमा ब्लक
-
नेपाल अडिटर्स एसोसिएसनको सातौँ महाधिवेशनको मिति तोकियो
-
पत्रकार उपाध्यायको ‘आमा म आउँदैछु’ कविता सङ्ग्रह विमोचन
-
धम्की नदिन कृष्णमूर्तिलाई पोखराका वडाध्यक्षको चेतावनी