गुटैगुटमा रुमल्लिए राजनीतिक दल
![गुटैगुटमा रुमल्लिए राजनीतिक दल](https://npcdn.ratopati.com/media/news/political-parties_bbKy3n4QZ2.jpg)
काठमाडौँ । भर्खरै सकिएको नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलनले माउ पार्टीमा तरंग ल्याइदियो । निर्वाचन विद्यार्थीको थियो, तर पार्टीको केन्द्रीय तहमा यसको प्रभाव देखियो ।
यसको चुनावी परिणामले माओवादी पार्टी तरंगित हुनुको दुई वटा कारण देखिन्छ । पहिलो, हेडक्वार्टरको नाममा सम्पूर्ण सामर्थ्य लगाउँदा पनि उपमहासचिव जनार्दन शर्मा हाबी हुनु र दोस्रो, अर्का उपमहासचिव शक्ति बस्नेत गुटको उदय हुनु ।
चुनावको प्राप्त परिणामअनुसार शर्मानिकटले २२ पदमा जित हासिल गरेको थियो । ३३ सदस्यीय पदाधिकारीमा अध्यक्षबाहेक महासचिव, पाँच उपाध्यक्ष, सात उपमहासचिव, ६ सचिव र कोषाध्यक्षमा शर्मानिकटले कब्जा जमाए । तीन केन्द्रीय निकायमध्ये निर्वाचन आयोग र अनुशासन आयोगको प्रमुखसमेत शर्माकै बोलबाला देखियो ।
माओवादीभित्र आन्तरिक लोकतन्त्रको पक्षमा उभिएका शर्माले पार्टीभित्रका मात्र नभई यसका भ्रातृ तथा जनवर्गीय संगठनमा प्रत्यक्ष निर्वाचन हुनुपर्ने लिखित अडान राख्दै आएका थिए । उनको त्यही अडानले उनलाई ‘फलिफाप’ नै सिद्ध गरायो ।
- विद्यार्थीको निर्वाचनले देखायो माओवादीभित्र स्पष्ट गुट
साउन २६ गते केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभारसम्बन्धी १४ पृष्ठको प्रस्ताव शर्माले पेस गरेपछि हेडक्वार्टरमा खैलाबैला नै मच्चिएको थियो ।
आफूले पार्टी निर्माण गर्ने उद्देश्यले प्रस्ताव पेस गरे पनि प्रचण्डका सचिवालयले आफूलाई पार्टी विभाजन गराउन खोजेको आरोप लगाएको उनले आन्तरिक बैठकमा तीव्र असन्तुष्टि पोख्दै आएका थिए ।
क्रान्तिकारीको चुनावी परिणामले पार्टीको आगामी महाधिवेशनसम्म पुग्दा शर्माले अध्यक्ष प्रचण्डलाई नै टक्कर दिने तयारी गरेको रूपमा अर्थ्याइएको छ । विद्यार्थीको निर्वाचनसम्म आइपुग्दा माओवादीमा प्रस्ट चार गुट देखिएका छन् । विगतमा श्रेष्ठ, भुसाल–गुरुङ गुटबाहेक ती गुटहरू सबै प्रचण्डनिकट भएर काम गरेका नेताहरूका हुन् ।
तर, विद्यार्थीको चुनावी परिणामलाई मात्रै हेरेर शर्माले प्रचण्डलाई धक्का दिन भने नसक्ने राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेल बताउँछन् । अन्य संगठनमा पनि यस्तै अभ्यास भएर नयाँ पुस्ता नेतृत्वमा आए प्रचण्डको विकल्प तयार हुने उनले केही समयअघि रातोपाटीलाई बताएका थिए ।
अर्का विश्लेषक डम्बर खतिवडा भने प्रचण्डलाई धक्का दिने व्यक्ति अहिलेसम्म माओवादीमा नभएको दाबी गर्छन् । यद्यपि, मोहन वैद्य र बाबुराम भट्टराई पार्टीबाट अलग भएपछि माओवादीमा विचार समाप्त भएको उनको निष्कर्ष छ । अहिले माओवादीभत्रि गुटगत स्वार्थ समूहबिच टसल भएकाले वैचारिक बहस हुन छाडेको खतिवडाको विश्लेषण छ । वैचारिक हिसाबले माओवादीभित्र प्रचण्डका अगाडि गुट उपगुटका नेताहरू सबै पुड्को भएको उनले बताए ।
माओवादीका प्रवक्तासमेत रहेका अग्निप्रसाद सापकोटाले विद्यार्थीको चुनावसम्म आइपुग्दा पार्टीभित्र गुट उपगुट प्रस्ट देखिएको स्विकारिसकेका छन् । उपमहासचिव गजुरेलले पार्टीभित्र विचार समूहको प्रतिस्पर्धा हुनु फाइदाजनक भए पनि गुट उपगुटको टकराबले दुर्घटना बढ्ने खतरा देख्छन् । पार्टीभित्र विचार समूहभन्दा पनि गुटगत स्वार्थ बढ्दै गइरहेको अध्यक्ष प्रचण्ड स्वयंले नै आन्तरिक बैठक तथा सार्वजनिक रूपमा पटक–पटक बोल्दै आएका छन् ।
माओवादीभित्र गुट उपगुट जन्मिनु र भत्किनु कुनै नयाँ विषय होइन । यो पार्टी नजन्मिँदै गुटगत स्वार्थ र शक्ति संघर्षका कारण विभाजित भएको थियो ।
जनयुद्धमा जाने कि नजाने विषयमा तत्कालीन एकता केन्द्रभित्र विवाद हुँदा २०५१ सालमा पार्टी नै विभाजन भयो । त्यतिबेला महामन्त्रीसमेत रहेका प्रचण्ड, वैद्य, भट्टराई, रामबहादुर थापालगायत मूल नेतृत्व दीर्घकालीन जनयुद्धको पक्षमा उभिएका थिए । अहिले वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठ भने विपक्षमा उभिएका थिए । पार्टी विभाजनपछि २०५२ साल फागुन १ गते प्रचण्डको नेतृत्वमा जनयुद्ध सुरु भएको थियो ।
१० वर्षसम्म चलेको सशस्त्र संघर्षमा प्रचण्ड, वैद्य, भट्टराई र थापाबिच अन्तर्संघर्ष उत्कर्षमा पुग्यो । भट्टराई र थापामाथि त कारबाही नै भएको थियो । यद्यपि, त्यतिबेला गुट वा स्वार्थभन्दा पनि विचारको संघर्ष भएको गजुरेल दाबी दाबी गर्छन् ।
‘माओवादी शान्ति प्रक्रियामा नआउँदासम्म पार्टीभित्र वैचारिक, राजनीतिक संघर्ष थियो । चुनबाङ बैठकसम्म आइपुग्दा विचारको संश्लेषण भयो । त्यसले सामन्ती राजतन्त्र ढालेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न मद्दत गर्यो’, उनले भने, ‘तर २०६३ साल भदौमा बालाजु विस्तारित बैठकसम्म आइपुग्दा विचार र सिद्धान्त समाप्त भयो । त्यसपछि पार्टीमा विभिन्न स्वार्थ समूह, गुट उपगुट हाबी हुँदा माओवादी आन्दोलन कमजोर भयो । पुस २३ को केन्द्रीय समिति बैठकसम्म आइपुग्दा नयाँ विचारको संश्लेषण हुन जरुरी छ ।’
शान्ति प्रक्रियामा आएको सात वर्षमै प्रचण्ड र वैद्य अलग्गिए । २०७२ सालको नयाँ संविधान जारी भएपछि भट्टराईसमेत पार्टीबाट गए । २०७९ को निर्वाचनसम्म आइपुग्दा माओवादी कमजोर र शिथिल भइसकेको थियो ।
माओवादीका सचिव राम कार्की पुँजीवादीसँग मिलेर कमिसन खाने र सौदा गर्ने पार्टीहरू रहुन्जेल सांगठनिक सिद्धान्त ध्वस्त हुने टिप्पणी गर्छन् । ‘साँच्ची नै हामीले यो समाजलाई फेर्ने हो र शिक्षा, स्वास्थ्य, कृषिलाई समाजवादी बनाएर जान त्यहीअनुसार पार्टी चाहिन्छ’, उनले भने ।
पार्टीलाई कसरी फेर्ने विषयमा विद्यार्थीले नै बाटो देखाएको कार्कीले जिकिर गरे । भ्रातृ संगठनको अध्यक्ष कसलाई बनाउने विषयमा जुँगा फुलिसकेका नेताहरू बसेर निर्णय गर्न नहुने उनको भनाइ छ ।
ओली–प्रचण्ड संघर्षले नेकपा समाप्त
२०७५ जेठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच एकता भएर ‘नेकपा’ गठन भएको थियो । जुन ऐतिहासिक थियो । उक्त वाम गठबन्धनले संघमा झण्डै दुई तिहाइ मत पनि ल्याएको थियो । तर ओली–प्रचण्डबिच सत्ता स्वार्थ र शक्ति संघर्षका कारण तीन वर्ष नपुग्दै नेकपा समाप्त भयो ।
गुटको संघर्षमा एमाले, अप्ठ्यारोमा ओली
चितवनमा भएको १० औँ महाधिवेशनपछि पार्टीभित्र आफूलाई निर्विकल्प अध्यक्षका रूपमा उभ्याएका केपी शर्मा ओली पछिल्लो समय अप्ठ्यारोमा पर्दै गएका छन् । माधव–झलनाथ समूह अलग भएपछि एमालेमा कुनै गुट उपगुट नभएको भाष्य उनले स्थापित गर्न खोजेका थिए । आफू जिउँदो रहुन्जेल पार्टीभित्र विकल्प नभएको दाबी गर्दै आएका छन् । तर, पछिल्लो समय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा सक्रियताले ओली अप्ठ्यारोमा परेका हुन् ।
मंसिर ३० मा केन्द्रीय कार्यालय च्यासलमा बसेको राष्ट्रिय कार्यशाला ओलीले पूर्वराष्ट्रपतिलाई भण्डारीलाई भेटेर ‘गल नलगाउन’ नेताहरूलाई चेतावनी दिएका थिए । पार्टीभित्र कसैको पनि गुट उपगुट नभएको भन्दै विष्णु पौडेल र शंकर पोखरेल आफ्ना लागि बराबर भएको बताएका थिए ।
‘पूर्वराष्ट्रपतिकहाँ गएर पार्टीमा आइदिनुपर्यो भनेर गल लगाउनुको कुनै तुक छैन । उहाँ सर्वोच्च भइसकेको व्यक्ति हो । आवश्यक पर्दा हाम्रै सल्लाहमा आउनुहुन्छ’, ओलीले चेतावनी शैलीमा भनेका थिए ।
एमालेमा गुट उपगुट नभएको भाष्य स्थापित गर्न खोजिएपछि अहिले ओलीबाहेक वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, पूर्व ‘दशभाइ’ समूहले चिनिएका उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डेलगायत नेताहरूको आ–आफ्नै गुट रहेको चर्चा चलेको छ ।
विगतमा ओलीलाई साथ दिएका ओली क्याम्पकै नेताहरूले पनि ओलीको एकलौटी कार्यशैलीप्रति रुष्ट भएकाले भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन गरिहेका विश्लेषण हुन थालेको छ ।
पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीबाट निकाल्नु र बिन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई ६ महिना निलम्बन गर्नुले पनि पार्टीभित्र ओलीको विकल्प नै खोजिनुपर्ने बेला आएको नेताहरूले बताउन थालेका छन् । पूर्वराष्ट्रपति भण्डारीले समेत आफू सक्रिय राजनीतिमा आउने संकेत दिनु यसको कारण भएको देखिन्छ ।
‘त्यतिबेला माधवजीले फरक मत राख्नेमाथि पार्टीबाट निकाल्नुहुन्थ्यो, उहाँलाई उक्साउने काम ओलीजीले गर्नुभयो,’ पुराना वामपन्थी नेता राधाकृष्ण मैनाली भन्छन्, ‘अहिले ओली पावरमा पुगेपछि नेपाललाई नै पार्टीबाट निकाले ।’
२०५४ सालमा महाकाली सन्धिलाई लिएर वामदेव गौतम, सहाना प्रधान, सीपी मैनालीलगायत ठुलै टिम एमालेबाट अलग भएका थिए ।
- कांग्रेसमा संस्थागत गुट
नेपाली कांग्रेसभित्र पनि गुटको समस्या नभएको होइन । १५ औं महाधिवेशनलाई लिएर पुराना गुट भत्किने र नयाँ बन्ने प्रक्रिया जारी नै छ ।
पार्टीको विधानअनुसार सभापति शेरबहादुर देउवा आगामी महाधिवेशनबाट बाहिरिँदै छन् । उनको उत्तराधिकारीका लागि पुराना र नयाँ पुस्ताबिच हानथाप बढ्दै गएको छ । २०८३ सालमा हुने भनिएको महाधिवेशनका लागि देउवासँग पराजित डा. शेखर कोइराला बलिया दाबेदार हुन् । देउवाको उत्तराधिकारी बन्न महामन्त्री गगन थापाले लबिङ गरिरहँदा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र स्वास्थ्यमन्त्रीसमेत रहेका नेता प्रदीप पौडेलले साथ दिने देखिएको छ ।
कोइराला समूहबाट बीपीपुत्र डा. शशांक कोइराला पनि सभापतिका आकांक्षी छन् । कोइराला समूहकै गिरिजाप्रसाद कोइरालापुत्री सुजाताले १५ औँ महाधिवेशनमा शेखरलाई समर्थन गर्ने बताइसेकी छिन् । यो समूहबाट अहिले शेखर, शशांक, सुजाता, गगन–विश्वप्रकाश गुट अस्तित्वमा छ । कोइराला समूहबाट १३ औं महाधिवेशनमा प्रतिस्पर्धामा उत्रिएका रामचन्द्र पौडेल राष्ट्रपति भएकाले पौडेल समूह अस्तित्वमा देखिएको छैन ।
२०७८ सालमा सम्पन्न १४ औँ महाधिवेशनमा कोइराला समूहकै साथ नपाएपछि पौडेल प्रतिस्पर्धामै उत्रिएका थिएनन् । सुशील कोइरालाको निधनपछि पूर्वमहामन्त्री प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाको छुट्टाछुट्टै गुट अस्तित्वमा छ । तथापि १४ औँ महाधिवेशनमा सिंह गुटले देउवालाई समर्थन गरेको थियो । देउवा समूहबाट विमलेन्द्र निधिको छुट्टै टिम बनेको थियो । कोइराला समूहबाट महामन्त्री थापाले नयाँ गुटको अभ्यास गरेकाले १५ औँ महाधिवेशनमा पनि यो समूह विभाजित हुने प्रस्ट देखिन्छ ।
तर कांग्रेसमा गुट उपगुट कम्युनिस्ट पार्टीको भन्दा फरक मानिन्छ । पार्टी स्थापना कालदेखि नै मात्रिकाप्रसाद कोइराला, बीपी कोइराला, सुवर्ण शमशेर गुट अस्तित्वमा आएको मैनाली बताउँछन् । संस्थापक बीपीको निधनपछि कांग्रेसभित्र विचार समूह समाप्त भएर स्वार्थ समूह हाबी भएको उनको बुझाइ छ ।
‘कांग्रेस जन्मिँदै तीन गुटमा विभाजित थियो । बीपीको निधनपछि विचार समूह समाप्त भयो । स्वार्थ गुट हाबी भयो । २०५१ सालसम्म आइपुग्दा किसुनजी, गणेशमान र गिरिजा गुट प्रस्ट देखियो । स्वार्थ समूहका कारण कांग्रेससँग बहुमत हुँदाहुँदै पनि गिरिजा नेतृत्वको सरकार ढल्यो । अहिले गगन–विश्वप्रकाशसम्म आइपुग्दा गुटकै लडाइँ छ । देउवा, शेखर, गगनबिच केही फरक छैन’, मैनालीले भने ।
२०५९ सालमा पार्टीको कारबाहीमा परेका देउवाले पार्टी विभाजन गरी नेपाली कांग्रेस(प्रजातान्त्रिक) नै गठन गरेका थिए । त्यतिबेला देउवालाई गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विजयकुमार गच्छदार, विमलेन्द्र निधि, बालकृष्ण खाँण, पूर्णबहादुर खड्का बलियो साथ दिएका थिए ।
अपवादबाहेक कम्युनिस्ट पार्टीमा जस्तो कांग्रेसमा टुटफुट र विभाजन देखिँदैन । तर, स्थायी रूपमा जरा गाडेर बसेको गुटगत स्वार्थ समूहका कारण हरेक निर्वाचनमा कांग्रेसले धक्का खाँदै आएको छ । कांग्रेसभित्र गुटको प्रभाव कति छ भन्ने ज्वलन्त उदाहरण कोशी र कर्णाली प्रदेशमा देखिएको सत्ता संघर्षबाट बुझ्न सकिन्छ ।
एकीकृत समाजवादीमा गुटको द्वन्द्व
२०७८ भदौ ९ गते अध्यादेशबाट जन्मिएको नेकपा एकीकृत समाजवादी पनि त्रिपक्षीय गुटको प्रभावमा देखिएको छ । यही असारमा भएको पार्टीको १० औँ महाधिवेशनमा अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालको प्रस्ट गुट देखिएको थियो । एमाले विभाजनको बेला खनालले नेपाललाई साथ दिएका थिए । भुसाल २०७९ को निर्वाचनमा ओलीले टिकट नदिएपछि एकीकृत समाजवादी प्रवेश गरेका थिए । तर महाधिवेशनमा अध्यक्षका दाबेदार रहेका तीनै जनाले आ–आफ्ना गुटलाई सक्रिय बनाएका थिए । अन्तिममा भुसाल खनाल समूहमा विलय भए ।
अहिले नेपाल र खनाल समूहको प्रस्ट दुई गुट सक्रिय छन् । महाधिवेशनमा जबजलाई पार्टीको मार्गदर्शक सिद्धान्त बनाउने कि नबनाउने विषयमा नेपाल–खनालबिच द्वन्द्व चर्किएको थियो । अहिले सरकार, समाजवादी मोर्चा र नेताहरूको कार्यविभाजनलाई लिएर दुई नेताबिच अन्तर्संघर्ष चर्किँदै आएको छ ।
- पार्टी नजन्मिँदै राप्रपा विभाजित
२०४६ सालको राजनीतिक परिवर्तनपछि राजसंस्थाको समर्थनमा जन्मिएको पुरातन पार्टी राप्रपामा त सबैभन्दा बढी गुटको मारमा परेको पार्टी थियो ।
सूर्य थापा र लोकेन्द्रबहादुर चन्दबिच द्वन्द्व हुँदा छुट्टाछुट्टै दल गठन भएका थिए । २०४८ सालको आम निर्वाचनमा राप्रपा चन्द र राप्रपा थापा समूह बनाएर चुनाव लडे । चुनावमा अपेक्षित नतिजा नआएपछि पछि थापाकै नेतृत्वमा राप्रपा गठन भएको थियो । तर सत्ता स्वार्थको लडाइँमा २०५४ सालसम्म आइपुग्दा पार्टी फेरि विभाजित भयो ।
२०६१ को प्रत्यक्ष शाही कालसम्म आइपुग्दा राप्रपा, राप्रपा नेपाल र राजपा गरी यो समूह तीन वटामा विभाजन भइसकेको थियो ।
२०७८ को महाधिवेशनबाट अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वमा आएपछि कमल थापा पार्टीबाट अलग भई राप्रपा नेपाल पुनर्गठन गरे । पछिल्लो समय फेरि राप्रपामा लिङ्देन, धवल शमशेर राणाबिच द्वन्द्व चर्किएको छ । यो पार्टीमा अहिले पशुपति शमशेर, प्रकाशचन्द्र लोहनीको छुट्टै गुट सक्रिय छन् ।
- मधेसी दल छिन्नभिन्न
२०६४ मा मधेस विद्रोहबाट जन्मिएका मधेसी जनअधिकार फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी र २०४८ को निर्वाचनमा ६ सिट जितेको नेपाल सद्भावना पार्टी अहिले छिन्नभिन्न भएको छ ।
नेतैपिच्छेका गुट र उपगटका कारण टुट फुट र विभाजनले सबैभन्दा बढी मधेसी दल प्रभावित देखिएका छन् । नेपाल सद्भावना पार्टीको त अस्तित्व नै समाप्त भएको छ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजित भएको मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ । महन्थ ठाकुर नेतृत्वको लोसपा सत्ताकै खेलमा पटक पटक विभाजित भएको छ ।
- वैकल्पिक पार्टीमा पनि उही हालत
यीबाहेक नयाँ वैकल्पिक राजनीतिक शक्तिका रूपमा जन्मिएको रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) भित्र पार्टी बिस्तारै स्वार्थ समूह हाबी हुँदै गएको देखिन थालेको छ । रास्वपाका पूर्वमहामन्त्री रहेका डा. मुकुल ढकालले आफू पार्टीबाट निष्कासन भएपछि सभापति रवि लामिछानेलाई सिध्याउन स्वार्थ समूह नै लागिपरेको बताएका छन् ।
‘भोलिका दिनमा पार्टी ठुलो हुन्छ, फरक फरक मान्छे आउँछन्, राजनीतिबाट जोगिएर जानपर्छ । जस्तो परिस्थिति आए पनि मुकुल तिमी र म एक गुट है–रवि दाइ आफैँ भन्नुहुन्थ्यो । परिस्थितिहरू आए । पार्टी बाहिरबाट खेले । पार्टी भित्रैबाट पनि खेले । मैले त्यतिबेला यो राजनीति भइराछ, जोगिऔँ भने, तर त्यतिबेलासम्म उहाँ(रवि)लाई पुर्न बनाइएको खाल्डोमा परिसक्नुभएको थियो । मैले बारबार सम्झाएँ, बुझाएँ, तर खाल्डोमा परेको कुरा पत्याउनुभएन । उल्टै मलाई कारबाही गर्नुभयो,’ उनले केही दिनअघि सामाजिक सञ्जालमा लेखेका थिए ।
रास्वपाका उपसभापतिहरू डा.स्वर्णिम वाग्ले, डीपी अर्याल र रवि समूहबिच बिस्तारै द्वन्द्व चर्किँदै गएको ढकालको अभिव्यक्तिबाट प्रस्ट बुझ्न सकिन्छ ।
- ‘गुट र गिरोहबाट मुक्त नभए राजनीतिक दुर्घटना हुन सक्छ’
राजनीतिक विश्लेषक गेजाशर्मा वाग्ले नेपालका सबै पार्टीहरू गुट उपगुटमा विभक्त भएका बताउँछन् । पार्टी नेतृत्व गुट हुँदै गिरोहतन्त्रमा रूपान्तरित भएकाले जनताबिच अलोकप्रिय बन्दै गएका पनि उनले विश्लेषण गरे ।
‘पार्टीमा विचार समूह होइन, स्वार्थ समूह छन् । राजनीतिक पार्टीलाई संस्थागत विकास गरी विधि र विधानसम्मत सञ्चालन गर्न सबै गुट उपगुट अन्त्य गरेर स्वस्त रूपमा पार्टी सञ्चालन गर्न आवश्यक छ,’ उनले भने ।
पार्टीलाई गिरोहको कब्जाबाट मुक्त गरेर जनताका बिचमा पुर्याउनुपर्नेमा पनि उनले जोड दिए । सुध्रिएर जनताको मन जित्न नसके राजनीतिमा दुर्घटना निम्तन सक्ने उनले बताए ।
तर, राप्रपाका पूर्वनेता तथा विश्लेषक केशरबहादुर विष्ट भने गुटलाई नराम्रो आँखाले मात्र हेर्न नहुने जिकिर गर्छन् । यद्यपि, विद्वान्को बिचमा नजान्ने मान्छेलाई राखियो भने त्यसले समस्या निम्तने उनको बुझाइ छ ।
‘गुटलाई नराम्रो आँखाले मात्रै नहेरौँ । कहिलेकाहीँ यसले राम्रो गर्छ । विद्वानको बिचमा हल्लुँडोलाई राख्यो भने राम्रो तालमेल हुँदैन,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मच्छेगाउँमा इनारमा खसेर एकजना घाइते
-
‘बाँचुञ्जेल समाजवादी क्रान्तिका लागि लड्छु’
-
सुरक्षित इन्टरनेट सेवाबारे सरोकारवालाको छलफल
-
ग्यास लुकाएर अभाव देखाए विभागले जफत गर्ने
-
आइफाको रजत जयन्तीमा निर्देशक राकेश रोशनलाई विशेष सम्मान गरिने
-
भूमिसम्बन्धी अध्यादेशको विरोध गर्नुभनेको भूमिहीन किसानको विरोध गर्नु हो : उपमहासचिव ज्ञवाली