दलहरूभित्र गुटगत स्वार्थले विस्फोट हुने अवस्था छ : राधाकृष्ण मैनाली
राधाकृष्ण मैनाली पुराना वामपन्थी तथा चर्चित झापा विद्रोहका प्रमुख नेतामध्येका एक हुन् । राजा महेन्द्रको निरंकुश पञ्चायती शासन, २०४६ सालपछि बहुदलीय व्यवस्था र २०६२/६३ सालपछिका संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको प्रत्यक्ष साक्षी रहेका मैनाली देशको पछिल्लो राजनीतिक अवस्थाप्रति सन्तुष्ट देखिँदैनन् ।
साना–ठुला, नयाँ–पुराना सबै राजनीतिक दलहरूमा विचारको मन्थन नभइ गुटगत स्वार्थमा परिणत हुँदा जनतामा चरम निराशा बढ्दै गएको विश्लेषण गर्छन् । दलहरूमा किन गुट बलिया भए ? यसले पार्टीभित्र आन्तरिक लोकतन्त्र र देशलाई कस्तो असर पर्ला भन्ने विषयमा रातोपाटीकर्मी गणेश पाण्डेले मैनालीसँग कुराकानी गरेका छन् ।
- नेपालका प्रजातान्त्रिक र वामपन्थी सबै पार्टीमा गुट किन देखियो ?
विवाद सैद्धान्तिक र वैचारिक देखाउँदा देखाउँदै पनि नेताहरूको महत्त्वकांक्षाकै कारण पार्टी विभाजन हुँदै गयो । झापा विद्रोहपछि दुई ठुलो झुण्ड बन्यो । एकातिर माले हुँदै एमाले बन्यो । अर्कोतिर नेकपा चौम हुँदै माओवादी बन्यो । अहिले विचारको भिन्नता भन्दा नेताहरूको महत्त्वकांक्षा चर्को छ । समकालीन राजनीतिमा ओलीको एउटा महत्त्वकांक्षा छ । प्रचण्डको अर्को महत्त्वकांक्षा छ । यस्तै माधव नेपाल र मोहनविक्रम सिंहको अर्को महत्त्वकांक्षा छ । यी सबैमा पुँजीवादी झ्वाँक देखिन्छ । आफ्नै कुरा मात्रैको सही हुने अन्य सबैको गलत हुने मान्यताले कम्युनिस्ट आन्दोलन अगाडि बढ्दै आयो । अहिले कम्युनिस्ट आन्दोलनको नाममा निजी स्वार्थको धेरै चलखेल छ । सत्तामा कम्युनिस्ट पार्टी छ, रंग आकार र आकृति केही पनि छैन । नाम कम्युनिस्ट पार्टी भए पनि कांग्रेस र कम्युनिस्टमा केही फरक छैन । दुईवटाको मोर्चागत सरकार चलेकै छ ।
पुँजीवादी शक्ति कांग्रेस र समाजवादी शक्ति भनिएको एमालेको सहकार्य उस्तै भएर गएको छ । अर्कातिर राजतन्त्र चाहिन्छ भन्ने राप्रपा र गणतन्त्र चाहिन्छ भन्ने माओवादी एकठाउँमा उभिएका छन् । राजतन्त्र चाहिनेको चरित्र र गणतन्त्र चाहिनेको चरित्र फरक हुनुपर्ने हो नि । यी दुई बिचमा पनि कुनै भिन्नता छैन । यस्तो विडम्बना आयो विचारको नाममा विचार नै छैन । सबै दलको केन्द्र भनेको सत्ता हो । पुँजीवादी, समाजवादी र साम्यवादीको सबैको खेल भनेको कसरी सरकारमा जाने ? कोसँग मिलेर जाने ? कसलाई दुत्कार्ने खेलले अहिलेको राजनीति चरमचुलीमा पुगेको छ । यो खेलले जनतामा चरम निराशा देखिएको छ । राजनीति राजनीति जस्तो नभएर ठगी खाने भाँडो भएको छ ।
- पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किन लागेको देखिन्छ, गगन र विश्वप्रकाशमा नयाँ धार देखिन्छ । माओवादीमा पनि नयाँ नयाँ गुटको उदय भइरहेको चर्चा छ । यी सबै गुटगत स्वार्थ समूह हुन् कि विचार ?
कांग्रेसमा जति पनि गुट छन् । विचारमा केही भिन्नता छैन । कोइराला समूहबाट शेखर सभापति हुन चाहेका छन् । तर वैचारिक रूपमा देउवाभन्दा फरक केही पनि छैन । यथावत् रूपमा थाती राख्न देउवा गुट नै छन् । गगन विश्वप्रकाशका स–साना झुण्ड छन्, ती सबै बार्गेनिङ गरेर सत्तामा जानेबाहेक केही होइन । दलभित्र जति गुट भनिए पनि विचारमा केही फरक छैन, कांग्रेस होस् वा कम्युनिस्ट ।
जो आए पनि कांग्रेसमा विचारको नयाँ रङ आउँदैन । कम्युनिस्ट पार्टीहरू एमाले, माओवादी र एकीकृत समाजवादीमा पनि त्यही अवस्था छ । १० औँ महाधिवेशनपछि ओलीको विरोधमा आँ गर्नेलाई पनि नसहेर निकालेको निकाल्यै छन् । यही प्रवृत्ति माओवादीमा प्रचण्ड र एकीकृत समाजवादीमा पनि छ । केही महिनासम्म प्रचण्डकै सरकार थियो । ओलीको अहिलेको सरकार र उनको सरकारमा के फरक भयो र ? ओली प्रचण्डको काम नै जसरी हुन्छ सरकारमा जाने, टिक्ने र कमाउने रहेको देखिन्छ । भोलि देउवा वा माधव नै प्रधानमन्त्री भए पनि सरकारमा यति दिन बसियो भन्दा फरक केही आउने वाला छैन ।
समग्रमा वाम वा कांग्रेस सरकार बने पनि सत्तामा जाने हो कमाएर खाने हो । चरम निराशाको उलटफेर हुन फेरि सडक नै तात्नुपर्ने अवस्था छ ।
- भनेपछि दलहरूमा विचारको टकराब भन्न त मिलेन, हैन ?
विचारको टकराब भन्ने ठाउँ नै छैन । माधव र प्रचण्डको बिचमा के के कुराको फरक देख्नुहुन्छ ? यस्तै प्रचण्ड र ओली बिचमा के फरक छ ? ओली र देउवा बिचम केही भिन्नता नै छैन । कांग्रेसभित्र शेखरको टिम आएमा के फरक हुन्छ ? गगन र विश्वप्रकाशको टिम नै आए पनि नयाँ विचार प्रवाह हुनेवाला देखिँदैन । उही पात्रमा फरक पर्छ, तर विचारमा केही फरक देखिँदैन ।
- कांग्रेसमा बीपी र कम्युनिस्टमा पुष्पलालको निधनपछि विचार समाप्त भयो भन्न मिल्छ कि मिल्दैन ?
एमालेमा मदन भण्डारी रहँदासम्म विचारको बहस हुन्थ्यो । उहाँको निधनपछि गुटगत स्वार्थ समूह हाबी हुँदै आयो । कांग्रेसमा बीपीपछि केही समय राजनीति रंग थियो । तर, यी दुवै पार्टीमा ५० को दशकपछि धमिलो पानीमा माछा मार्ने प्रवृत्ति देखियो । गुट बलिया भए पार्टी कमजोर र अलोकप्रिय बन्दै गए ।
- पछिल्लो समय एमालेमा पूर्वराष्ट्रपति विद्या भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउने खोजिएको देखिन्छ, यसको अन्तर्य ओलीलाई विस्तापित गर्ने योजना हो ?
एमालेमा द्वन्द्व चर्किन लागेको छ । ओलीको पनि पराकाष्ठा हुँदै आयो । अरूलाई लखेट्दा लखेट्दै ओली नेता भए । जुन परिणाम र प्रक्रियाबाट उनी नेता भए, अन्तिममा ओलीलाई हटाएर नै आउने हो । जस्तो इतिहास छ, त्योअनुसार नै परिस्थिति बन्दै जाने हो । उनले पनि पूर्ववर्ती सबैलाई हटाएर नेतृत्वमा आएका थिए । अब ओलीलाई हटाएर अर्को मानिस आउने हो । त्यो प्रक्रियामा विद्याको नाम अगाडि छ । विवादको हिसाबले पनि ओलीभन्दा उनी कम छन् । उनले सक्ने नसक्ने भोलि आफ्नो ठाउँमा होला । भावी नेतृत्वका लागि ओली र विद्यामा कोभन्दा नेता तथा कार्यकर्ताले विद्याको नाम लिन्छन् । यो पनि वैचारिक द्वन्द्वबाट होइन । व्यक्तिगत सफाइबाट ओलीभन्दा विद्या राम्रो देखिएको हो ।
- माओवादीभित्र विद्यार्थीको निर्वाचनपछि नयाँ गुटको उदय भएको चर्चा चलेको छ, यसलाई कसरी लिनुहुन्छ ?
माओवादीमा पनि वैचारिक फरक केही देखिँदैन । प्रचण्डको हैसियत हिजोभन्दा कमजोर बन्दै गएको देखिन्छ । उनलाई च्यालेन्ज दिने शक्ति पार्टीभित्र बिस्तारै अगाडि आउँदै छन् । दुःखको कुरा त्यो पनि सैद्धान्तिक विकासको रूपमा अगाडि आएको छैन । व्यक्तिगत टकराबकै रूपमा अगाडि आएको छ ।
यता कांग्रेसभित्र गगन–विश्वप्रकाश समूह पनि व्यक्तिगत टकराबकै रूपमा बुझ्न सकिन्छ । उनीहरूमा अहिलेसम्म कुनै वैचारिक र सैद्धान्तिक टकराब कांग्रेसमा पनि छैन । गगन र विश्वप्रकाश नै आए पनि कांग्रेसमा नयाँ कलर आउने कुनै आभास देखिँदैन ।
- हरेक पार्टीमा वैचारिक/राजनीतिक बहसभन्दा गुट उपगुट किन बनाउँछन् ?
अहिलेको राजनीतिक मैदान भनेको गुट बनाउने मैदान हो । पहिला राजनीतिक भनेको वैचारिक थलो थियो । अहिले राजनीति भनेको वैचारिक नभई गुट बनाएर एकले अर्कालाई पछार्ने खेल हो । यसकै परिणाम हो जनतामा देखिएको निराशा ।
- यस्ता समूहले पार्टीहरूको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँछ कि थप कमजोर ?
आन्तरिक लोकतन्त्र भनेको गुटगत लोकतन्त्र छ । म फलानाको मान्छे, ऊ फलानाको मान्छे । म फलाना गुटनिकट, उ फलानो गुटनिकट भनेका छन् । सबै आफ्ना फाइदाका लागि प्रतिस्पर्धा गरिरहेका छन् । विचारको बहस छैन । गुटले वैचारिक रूपमा पार्टीलाई फरक ल्याउन सकेको छैन । गुटगत स्वार्थ र राजनीतिक कुण्ठाले पार्टीलाई बलियो बनाउँदैन । राजनीति निराशामा गयो । बेइमानीमा गयो । राजनीति भनेको परिवर्तनकारी शक्ति हुनुपर्थ्यो । यसले समाजमा एकपछि अर्को सुधार गर्दै लैजानुपर्थ्यो । यसबारे कुनै पार्टीमा चिन्ता नै छैन । चिन्ता के छ भने कसरी सरकारमा जाने र कमाउने मात्र भयो । निराशाबाट गुज्रिरहेको देशलाई फेरि आशावादीमा ल्याउन ठुलो विद्रोहको आवश्यकता छ । गलत मान्छे बढारिने र राम्रो मान्छे स्थापित हुने अवस्था हुनुपर्छ ।
- त्यसो भए नयाँ वैकल्पिक शक्ति भनिएका रास्वपा, बालेन लगायतको भविष्य कस्तो छ ?
बाबुराम त अहिले विदेशपरस्त हुँदै गइसके । उनको हैसियत नेपालमुखी भएन । व्यक्तिको हिसाबले बालेन राम्रा छन् । तर, राष्ट्रिय शक्तिका रूपमा उनी छैनन् । व्यक्तिले नै कमाण्ड गर्ने विषय वर्षौँमा एक पटक हुन सक्छ । अहिले त्यो अवस्था नेपालमा आइसकेको छैन । यद्यपि, राजनीतिक शक्ति नभएका हुनाले देश समाल्छन् भन्ने अवस्था छैन । सहकारी ठगीमा रवि लामिछाने नलागेका भए रास्वपाको भविष्य राम्रो थियो । चुनाव जितेर आएर मन्त्री बन्नभन्दा पनि पार्टीलाई बलियो बनाएर २०८४ मा बहुमत ल्याउन लागेको भए स्थिति राम्रो थियो । तर, उनी राजनीतिमा आउने नियत नै गलत रहेछ । रास्वपामा उनीबाहेक अन्य नेता पनि देखिँदैन । यसले नयाँ वैकल्पिक शक्तिमा धेरै ठुलो प्रश्न उठेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय रेफ्रीको परीक्षामा उत्तीर्ण भइन् कविता
-
महासचिव शंकर पोखरेलका कारण कांग्रेस सशङ्कित !
-
विपिन जोशी रिहाइका लागि भइरहेका पहलबारे संसद्लाई जानकारी गराउन अध्यक्ष केसीको माग
-
जापानी मन्त्रालयका कर्मचारीले संवेदनशील फाइल नै हराएपछि...
-
२० वर्ष पछिसम्म हुनेगरी सूचना प्रणाली बनाउन सुझाव
-
डल्लुबाट सुन चोरेको आरोपमा ३ जना पक्राउ