मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : गुटगत राजनीति

‘गुटलाई नेपालमा फोहोरी खेल बनाइयो’

मङ्गलबार, २९ माघ २०८१, ०९ : ४१
मङ्गलबार, २९ माघ २०८१

नेपालमा अहिलेका सबै राजनीतिक दलका नेताहरूमा नैतिकता छैन । दलहरूभित्र कुनै मूल्य, मान्यता वा गम्भीर राजनीतिक चेतनाको अगुवाइ, नभएकाले यो अवस्था आएको हो । राष्ट्रको समष्टिगत हितका निम्ति गरिने राजनीतिले राष्ट्रको सीमा सुरक्षा, निष्ठा, नैतिक मूल्य मान्यताको रक्षा गरे मात्र देश समृद्ध हुन्छ । 

व्यवस्था परिवर्तन भनेर व्यवस्थाप्रति इमानदार नभई आफूखुसी संविधानमा चारपाखे (गम्भीरता, ज्ञान र शब्दको अर्थ नभएको) समाजवादउन्मुख भन्दिएको छ । विश्वमा कहीँ नहुने आठौँ आश्चर्य नेपालमा भएको छ । उन्मुख भनेको के हो भन्दा यस्तै त हो नि खालका कुरा भयो । उत्पीडन, शोषण, छुवाछुत भयो भन्ने अनि त्यही संविधानमा दलित भनेर लेख्ने ! दलितको नाममा खाने अनि दलित भन्न पाइँदैन पनि भन्दै जाने । 

संविधानले दलित आयोग बनाएको हो, उत्पीडित आयोग बनाएको होइन नि । हिजो मान्छेलाई दलित बनायो भनेर आन्दोलन गर्नुपर्‍यो । अहिले संविधानतः त्यसलाई पुष्टि गरियो । 

अहिलेको व्यवस्था के व्यवस्था ? संसदीय प्रणाली भनेको छ–अमेरिकी राष्ट्रपतीय प्रणाली लागु गरेको छ, समानुपातिक फ्रेन्च प्रणाली पनि लागु गरेको छ । यो मकै भटमास हो कि उँट हो कि, कुनै राजनीतिक प्रणाली हो कि, के हो ? 

समानुपातिक प्रणाली भनेको ठुलो आदर्शको कुरा हो । तर, नेपालमा लोग्ने चुनाव जितेर आउने, स्वास्नीलाई समानुपातिकबाट ल्याउने व्यवस्था भयो । संसारको फिलोसफीमा एकथरी मानिस चुनाव जितेर आउँछन् । अर्कोथरी चुनावबाट आउँदैनन्, तर राष्ट्रका लागि आवश्यक पर्छ, ती विशेषज्ञ वा ज्ञानका मान्छे हुन्छन्, त्यस्ता मान्छे संसद्मा कानुन बनाउन पनि चाहियो । त्यसैकारण बेलायतमा माथिल्लो सदन ‘हाउस अफ लर्ड्स’ बनाइयो । तर संसारका केही मान्छेले यसलाई आफ्ना चाकडीका लागि प्रयोग गरे । 

नेपालमै कृष्णप्रसादजीले प्रधानमन्त्री भएपछि एक जना सहयोगीलाई सांसद बनाउनुभयो । यसले त्यतिबेला कांग्रेसमै तरङ्ग ल्यायो । उनको तर्क थियो– मलाई १२ वर्ष जेलमा भात पकाएर ख्वाउनुभयो, त्यसको गुन तिर्न मैले माननीय बनाइदिएँ । यो त एउटा उदाहरण मात्र हो । 

समानुपातिक जुन प्रयोजनका लागि ल्याइयो, त्यसको प्रयोग अर्कोमा भयो । महिला, जनजाति, दलित पछि पर्‍यो भनेर समानुपातिक व्यवस्था ल्याउन बबण्डर गरियो । ल्याउने बेला श्रीमती भाइभतिजा, सालासाली ल्याइयो । यो कुनै एउटा दलसँग मात्र होइन, सबैमा छ । राजनीतिक नेतृत्वले जुन व्यवस्था ल्याए, त्यो व्यवस्थाप्रति नै इमानदार छैनन् । 

नेपालका पार्टी भनेको दुनियाँमा कतै नबिकेको, गरिखान नसक्ने, हलो जोत्न नजान्ने, साइकल चलाउन पनि नजान्ने, सीप र ज्ञान केही नभएका, अर्काको रिस र डाहा मात्र गर्ने, मैले जति जान्ने–बुझेको कोही छैन भन्ने असीमित घमण्ड भएको, जुवाडे, लफङ्गा, ठेकेदार, कमिसन खोर, डकैती, लुटाहा, फटाहा, नक्कली मिसावटवालाहरूको जमात भए । यसलाई रोक्न एउटा ठुलो अभिभावक आवश्यक पर्छ ।

गुटलाई नराम्रो आँखाले मात्रै नहेरौँ । कहिलेकाहीँ राम्रो पनि गर्छ ।

जसले पार्टीको भए अध्यक्ष/सभापति, राष्ट्रको भए राष्ट्रपति अभिभावकत्व ग्रहण गर्न सक्नुपर्छ । सरकारको भए प्रधानमन्त्री अभिभावक हो । प्रधानमन्त्री दिनको तीन पटक घुस खाने, राष्ट्रपति पेट दुःखेको नक्कली बहाना बनाएर राष्ट्रको ढुकुटी सोहोरेर विदेश औषधि उपचार गर्न जाने । पार्टीको अध्यक्ष तेरो र मेरो मात्र गर्ने भएपछि कहाँबाट पार्टी चल्छ ? देश चल्छ ? 

अहिले कुनै एउटा भ्रष्टाचार काण्ड आउँदा तैँले यसो गरिस् भोलि काण्ड सार्वजनिक गरिदिऊँ भनेपछि सामसुम भइहाल्छ । तैँले ठगेर खाइस्, म किन नखाने ? तैँले झुट बोलेर खाइस्, म किन सत्य काम गर्ने ? यस्तो खालको स्तरहीन, मूल्यमान्यताहीन ज्ञान र सीपहीन भएपछि पार्टीभित्र विचारको मन्थन हुँदैन ।

माओवादीले व्यवस्था परिवर्तनका निम्ति त्यत्रो आन्दोलन गर्‍यो । उसले चाहेको भए देशमा विकासको उत्पातै मूल फुटाउन सक्थ्यो । उसले भनेपछि कसैले नाइँ भन्न सक्दैनथ्यो । त्यो पार्टीमा पनि ठगेर खाने बानी लाग्यो । राष्ट्रको निम्ति ठुला सपना देखायो, तर माटो छुन जानेन । माटो छोए लाज भइहाल्छ भन्ने प्रवृत्ति हाबी भयो । अहिले ४०/४५ उमेरकै लाखौँ मानिस यस्ता प्रवृत्तिका छन् देशमा । चाहे माओवादी होस्, चाहे हिजो पलेँटी मारेर गफ चुटेर खाने कांग्रेस–एमालेका नेताहरू । ती पार्टीका नेतृत्वले सीप र अनुशासन दिन सकेन । 

गुटलाई नराम्रो आँखाले मात्रै नहेरौँ । कहिलेकाहीँ राम्रो पनि गर्छ । जापानको एलडीपी (लिवरल डेमोक्र्याटिक पार्टी) अफिसियल्ली रिकजनाइज ११ वटा ग्रुप छन् । एलडीपी पार्टीले त्यहाँ ५० वर्ष बढी शासन गरिसक्यो । त्यहाँको गुटभित्र कस्तो सुन्दर पक्ष छ भने उनीहरू आपसमा मिलाउँछन् । गुट गुटको थिति मिलाउँछन् । न्यूनतम योग्यता मेन्टेन गर्छन् । विद्वानको बिचमा एउटा केही न केहीको चारपाखे हल्लुडोलाई लगेर राख्यो भने कसरी तालमेल हुन्छ ? एउटा गुटले त्यस्तै तगडा मान्छे, अर्को गुटले त्यस्तै तगडा मान्छे लगेर राख्यो भने पो प्रतिस्पर्धा हुन्छ । यसले झन् फाइदा हुन्छ । नराम्रो कहाँ हुन्छ ? जापानमा ‘दि अल विलङ टु वान पार्टी’ अर्थात् एउटै पार्टी छन् । त्यसैले नेपालमा पनि गुट भएको नराम्रो होइन, तर गुट भनेको मलाई यति वर्ष भात पकाएर ख्वायो त्यसको बदला के दिने त भन्दा माननीय बनाइदिने ? त्यसले राष्ट्रको कानुन कस्तो बनाउँछ ? यो यथार्थ हो । 

हामीकहाँ अन्य देशका आधार कार्ड र राशन कार्ड भएको मान्छे राजदूत भएका छन् । यस्तो किन भयोभन्दा ऊ मेरो मान्छे हो भन्ने छ । हिजो मलाई उसले के–के गुण लगाएको छ, त्यसलाई तिर्नुपर्छ भन्ने छ । यस्ता मान्छे एक हजार एक छन् यहाँ । गुट आफैमा नराम्रो होइन, नेपालमा राजनीतिक फोहोरी खेलको पराकाष्ठा भयो ।

इतिहासमा बदनामी कमाएका मान्छेको पछाडि जुलुस लिएर हिँडेका छन्, तिनकै लागि कुस्ती पनि खेलेकै छन् । उसको बदमासी देख्दादेख्दै राजनीतिमा यस्तो चलिहाल्छ नि भन्देका छन् । मूल्य र मान्यताको स्खलनको पराकाष्ठा छ । गम्भीर अपराधमा दोषी प्रमाणित गरेको मान्छे, भोलि उसकै पछाडि जुलुस लिएर हिँडिराखेका छन् । जेसुकै होस्, मान्छे बहादुर रहेछ भनेर तारिफ गर्छन् । यसलाई संरक्षण गर्ने काम पार्टीका नेताहरूले गरेका छन् । भीड पनि उसकै समर्थनमा दौडिएका छन् । 

पार्टी उस्तै भइसके । आफू नाङ्गै भएको कुरा कस्तो याद नगरेको ? 

(पूर्वमन्त्री विष्टसँग कुराकानीमा आधारित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

केशरबहादुर विष्ट
केशरबहादुर विष्ट
लेखकबाट थप