मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय
अर्थतन्त्र

अचाक्ली बढ्यो खाने तेल र घिउको मूल्य, सरकारलाई थाहै छैन

मङ्गलबार, २९ माघ २०८१, ०८ : ०२
मङ्गलबार, २९ माघ २०८१

काठमाडौँ । पछिल्लो समय बजारमा खाने तेलको मूल्य अचाक्ली बढेको छ । प्रतिलिटर ४० देखि ६० रुपैयाँसम्म बढेको पाइएको छ । 

यस्तै घिउको मूल्य पनि अत्यधिक बढेको पाइएको छ । दसैँ तिहारजस्ता ठुला चाडपर्वमा समेत मूल्य नबढेको तेल–घिउको मूल्य दुई महिनायता अत्यधिक बढेको उपभोक्ताको गुनासो छ । घिउको मूल्य अहिले २०० रुपैयाँले बढेको छ  । अहिले घिउ प्रतिकिलो १४०० रुपैयाँ पुगेको खुद्रा व्यापार संघले जनाएको छ । 

दसैँ तिहार पछि घिउको मूल्य बढेको खुद्रा व्यापार संघका महासचिव आमूलकाजी तुलाधर बताउँछन् । ‘दसैँ र तिहारजस्तो चाडपर्वको बेलमा घिउ प्रतिकिलो १२०० रुपैयाँ प्रतिकिलो थियो ,’ तुलाधरले भने, ‘अहिले किसानकहाँ मूल्य बढेकाले हामीले पनि बढाएका हौँ ।’ 

यसैगरी तेलको मूल्य पनि होलसेलबाटै बढेर आएकाले बढाइएको उनले बताए । खाने तेलको मूल्य पुसको दोस्रो सातादेखि बढेको देखिन्छ । 

बजारमा कति छ तेल र घिउको मूल्य ? 

खुद्रा तथा किराना पसलमा सूर्यमुखी र भटमासको तेलको मूल्य प्रतिलिटर २५० रुपैयाँदेखि २७० रुपैयाँसम्म पर्न थालेको छ । जबकि, पुसको पहिलो साता (दुई महिनाअघि) उक्त तेलको प्रतिलिटर २१० रुपैयाँदेखि २२० रुपैयाँमा पाइन्थ्यो ।  

यसैगरी तोरीको तेलको मूल्य पनि अहिले अत्यधिक बढेको छ । बजारमा तोरीको तेलको मूल्य ३२५ रुपैयाँभन्दा बढीमा बिक्री भइरहेको छ ।  

खुद्रा व्यापार संघका अनुसार संघमातहत पसलमा अहिले भुटेको तोरीको तेल प्रतिलिटर ४१० रुपैयाँ, काँचो तोरीको तेल प्रतिलिटर ३२५ रुपैयाँ रहेको छ । यसैगरी भटमास र सूर्यमुखी तेल प्रतिलिटर २५० रुपैयाँ डाल्डा २४० र घिउ १४०० रुपैयाँ पुगेको छ । 

यस्तो छ एक महिनाको मूल्य वृद्धिको अवस्था

खुद्रा व्यापार संघको तथ्यांकअनुसार १५ दिनमै ५ देखि १० रुपैयाँले बढेको हो । गत माघ १ गते प्रतिलिटर ४०० रुपैयाँ पर्ने भुटेको तोरीको तेल प्रतिलिटर १० रुपैयाँले बढेर ४१० रुपैयाँ कायम भएको छ । सोही अवधिमा सूर्यमुखी र भटमासको तेलमा ५/५ रुपैयाँका दरले मूल्यवृद्धि भएको छ । 

सरकारी व्यापार कम्पनीमा कति छ मूल्य ? 

सरकारी व्यापार कम्पनी साल्ट ट्रेडिङमा भटमासको तेल प्रतिलिटर २५० रुपैयाँ, सूर्यमुखी तेल प्रतिलिटर २८० देखि ४०० रुपैयाँ र तोरीको तेल २६० देखि ४२५ रुपैयाँ रहेको छ । यस्तै डीडीसी घिउको मूल्य प्रतिकेजी ११५० रुपैयाँ रहेको छ । 

यसैगरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा (खाद्यसंस्थान) भटमासको तेल २३४, सूर्यमुखी तेल २३६, तोरीको तेल प्रतिलिटर ३६० रुपैयाँ रहेको छ । 

यस्तै साल्ट ट्रेडिङमा घिउको मूल्य ११५० रुपैयाँ रहेको छ  । यसैगरी डीडीसी घिउको मूल्य प्रतिकिलो १२०० रुपैयाँ रहेको छ । खाद्य व्यापार कम्पनीमा भने ११०० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ । 

मूल्य किन बढ्यो ?

यसअघि मंसिरमा व्यवसायीहरूले खाने तेलको मूल्य बढ्नुमा चाडपर्व र भारततर्फ निर्यात बढेका कारण बताएका थिए । तर फेरि पुसको पहिलो सातातिर मूल्य घटेको थियो ।

भारतमा निर्यात घटेकाले तेलको मूल्य घटेको व्यवसायीको तर्क थियो । फेरि पनि तेलको मूल्य बढ्नुमा भारततर्फ निकासी बढेको कारण हुन सक्ने नेपाल तेल उत्पादक संघका कार्यसमिति सदस्य विभोर अग्रवाल बताउँछन् । अहिले १० प्रतिशतले तेलको मूल्य बढेको खुद्रा व्यापार संघका अध्यक्ष पवित्रमान बज्राचार्यले बताए । ‘खाने तेलको मूल्य बढ्नुको कुनै कारण नै छैन,’ उनले भने, ‘होलसेलबाटै १० प्रतिशतजति मूल्य बढेर आएको छ, होलसेलमै बढेर आएपछि सस्तो मूल्यमा बिक्री गर्न सकिँदैन ।’

सरकारलाई थाहै छैन 

यसरी बजारमा खाने तेल तथा घिउको मूल्य अचाक्ली बढ्दा पनि सरकार मौन देखिएको छ । उपभोक्ताको अधिकार संरक्षण गर्दै व्यवसायलाई स्वच्छ र पारदर्शी बनाउने निकाय वाणिज्य आपूर्ति तथा उपभोक्त संरक्षण विभागलाई खाने तेलको मूल्य वृद्धिबारे जानकारी नै छैन । 

विभागका महानिर्देशक राजन पौडेलले मूल्यवृद्धिबारे आफूहरू जानकार नभएको रातोपाटीलाई बताए । साथै उनले व्यवसायीहरूसँग कारणबारे जानकारी लिने बताए । महानिर्देशक पौडेल भन्छन्, ‘यस विषयमा उपभोक्ताको गुनासो पनि आएको छैन । कहीँ कतै सञ्चारमाध्यममा पनि आएको छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप