मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय

बेलायतमा 'मेरो भ्वाइस युनिभर्स' र 'मेरो डान्स युनिभर्स'को अडिसन हुँदै

मङ्गलबार, २९ माघ २०८१, ०७ : ५७
मङ्गलबार, २९ माघ २०८१

लन्डन । बेलायतमा आउँदो शनिबार अन्तर्राष्ट्रिय स्तरका दुई रियालिटी शो हुने भएका छन् । मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स सिजन २ को युके अडिसन  यही १५ फेब्रुअरी शनिबार अल्डरसटको एम्पायर हलमा हुन लागेको हो । 

इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले संसारभरका  नेपालीभाषी समुदायबाट  गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभाहरू पहिचान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको हो ।

युके अडिसनमा ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को निर्णायक भूमिकामा वरिष्ठ गायक दीप श्रेष्ठ, सङ्गीतकार सुरेश अधिकारी, गायकहरु शिव परियार र पुष्पन प्रधान, गायिका अन्जु पन्त र तृष्णा गुरुङ रहेका छन् ।

यसैगरी ‘मेरो डान्स युनिभर्स सिजन २’ का लागि निर्णायकमा वरिष्ठ कलाकार मिथिला शर्मा, नायक दिलीप रायमाझी, चर्चित अभिनेतृ शिल्पा मास्के, चर्चित कोरियोग्राफरहरु शंकर विसी, कविराज गहतराज र किरण थापा रहेका छन् ।

मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सका लागि बेलायतबाट हालसम्म करिब दुई दर्जनले नाम दर्ता गराइसकेको र इच्छुक व्यक्तिलाई सहभागिताको लागि अझै पनि आवेदन खुला रहेको युके अडिसनका संयोजक मनसुदन थापामगरले जानकारी दिए । 

सहभागी हुन चाहने प्रतिष्पर्धीहरुले फाउन्डेसनको वेवसाइटमार्फत आवेदन दिन सकिने बताइएको छ । अनलाइन वा फिजिकल फर्ममार्फत अडिसनमा भाग लिन सकिनेछ । अडिसन कार्यक्रम निःशुल्क भएकाले सबैलाई उपस्थित भएर नव प्रतिभाहरूमा हौसला प्रदान गर्न समेत संयोजक मगरको  अनुरोध छ ।

युके अडिसनका लागि अमेरिकाबाट आयोजक इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका अध्यक्ष डिल्ली अधिकारीसहित अन्य आयोजक र कलाकार गरी १२ जना यही १२ फेब्रुअरी लन्डन आइपुग्दै छन् भने नेपालबाट कलाकारहरू केकी अधिकारी, सुनिता दुलाल, धिरेन शाक्य र सञ्चारकर्मी नरेश भट्टराई १३ तारिख बेलुका लन्डन आइपुग्ने कार्यक्रम छ ।

सन् २०२३ मा रियालिटी सो को पहिलो सिजन सफलतापूर्वक सम्पन्न भएको थियो भने दोस्रो संस्करणका लागि युरोप महादेशमा बेलायत र पोर्चुगल, पूर्वी एसियाका लागि थाइल्यान्ड, हङकङ र जापानमा, मध्यपूर्वका लागि दुबई र कतार, अस्ट्रेलियाका लागि सिड्नी, भारतका लागि सिलिगुरी र मुम्बई एवं नेपालमा बिर्तामोड, नेपालगन्ज, पोखरा र काठमाडौँमा अडिसनहरू हुनेछन् ।

विश्वभरबाट स्थलगत अडिसनमा छनौट भएका भ्वाइसका लागि १२० र डान्सका लागि १२० गरी २४० जना कलाकारहरूलाई थप प्रतिस्पर्धाका लागि काठमाण्डौं लगिने बताइएको छ । युकेबाट सहभागी प्रतिभाहरूको स्तर हेरि बढीमा ५ जनासम्म छनोट गरी अर्को राउण्डका लागि नेपाल लगिने आयोजकले जनाएका छन् ।

संसारभर रहेका नेपालीमूल अर्थात नेपाली जातिबिचको साझा सांस्कृतिक चौतारी बन्न सकोस्, नेपाली कला संस्कृतिका माध्यमबाट सबैलाई एउटै सूत्रमा जोड्न सकियोस् र नेपालीभाषी प्रतिभाहरूलाई जहाँ बसेपनि आफ्नो संस्कृतिमा गर्व गर्न सक्ने अवसर दिन सकियोस् भन्ने उद्देश्यले रियालिटी शो गरिएको आयोजकले बताए । नेपाली संस्कृति र सांस्कृतिक पहिचानलाई संरक्षण, संवर्द्धन र उत्थान गर्न विदेशमा बस्ने नेपालीहरूलाई आयोजकको आग्रह छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप