मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय
स्थानीय सरकार

अदूरदर्शी पोखराका जनप्रतिनिधि : लामे आहालको म्याद सकियो, पोखराको फोहोर ५ दिनदेखि सडकमै

मङ्गलबार, २९ माघ २०८१, ०७ : १०
मङ्गलबार, २९ माघ २०८१

पोखरा । ६ महिनाको अस्थायी समाधान भन्दै बाच्छेबुडुवाबाट लामेआहाल सारिएको ल्याण्डफिल साइट साढे २ वर्षदेखि उतै छ । मेयर धनराज आचार्यले ‘टिकट काटेर हेर्न लायक गन्तव्य’ बनाउने भनेका फोहोर प्रशोधन केन्द्र अहिलेसम्म निर्माण भएको छैन । 

लामे आहालमा फोहोर फाल्ने दोस्रो सम्झौता माघ २३ देखि सकिएको छ । त्यसैले विगत ५ दिनदेखि पोखराको फोहोर अहिले सडकमै असरल्ल छ ।

महानगरका फोहोर बोक्ने गाडीहरू फोहोरले भरिएका छन्, फाल्ने ठाउँ पाएका छैनन् । पोखरा महानगरपालिकाले गरेको सहमति कार्यान्वयन नभएको भन्दै ३२ नम्बर वडाका नागरिकहरूले शुक्रबारदेखि फोहोर फाल्न बन्देज लगाएका हुन् । 

फोहोर नउठ्दा पोखराका चोकचोकमा छिरलिएको छ भने दुर्गन्ध बढ्दो छ । सम्झौता सकिएकै दिनदेखि फोहोर उठ्न छोडेको महानगरका सरसफाइ शाखा प्रमुख बलराम पाठकले जानकारी दिए ।

‘स्थानीय बासिन्दाहरूले सम्झौता अन्त्य भएको र महानगरपालिकाले गुनासो सम्बोधन नगरिदिएको भनेर फोहोर फाल्न अवरोध गर्नुभएको छ,’ उनले भने, ‘समाधानको पहल भइरहेको छ । जनप्रतिनिधि र सरोकारवाला निकायसँग महानगर बैठक बस्दै छ ।’ 

सम्झौता सम्पन्न हुनुअघि नै महानगरको नेतृत्वलाई आउन सक्ने परिस्थितिबारे सरसफाइ शाखाले जानकारी गराएको थियो । तर समय छउन्जेल चासो नदिइएको एक कर्मचारीले बताए ।

‘हामीले खबर गरेकै हो । वडाध्यक्षहरूलाई पनि जानकारी गराइएको थियो,’ ती कर्मचारी भन्छन्, ‘तर कसैले वास्ता गरेनन् । अहिले समय घर्के पनि वार्ता र बैठक चलिरहेका छन् ।’ मेयर आचार्यकै उपस्थितिमा वडामा बैठक बसिरहेको वडाध्यक्ष अक्कलबहादुर कार्कीले बताए । ‘बैठक जारी छ । सहमति हुने सम्भावना छैन,’ उनले भने, ‘फोहोर फाल्न भनेर गरिएको सहमति अनुसारको म्याद पनि सकियो, महानगरले गर्नुपर्ने बुँदा पनि कार्यान्वयन गरेन ।’

प्रभावित क्षेत्रमा सरसफाइ सहित वडाको विकास निर्माणमा महानगरले दिने भनेर गरिएको सहमति कार्यान्वयन नभएको उनले बताए । ‘यताबाट महानगरलाई असहयोग छैन । जे समस्या आएको हो, यसको मूल कारण महानगर हो,’ उनी अघि भन्छन्, ‘प्रतिबद्धता जनाउने अनि कार्यान्वयन नगर्ने गर्न त पाइएन नि ।’ सहमति कार्यान्वयनको ग्यारेन्टी नहुँदासम्म फोहोर ल्याउन नदिने स्थानीयले अडान लिएका छन् ।

स्थायी फोहोर व्यवस्थापन केन्द्र निर्माणका लागि पनि प्रक्रिया सुरु भैसकेको तर जग्गा प्राप्ति नभएका कारण रोकिएको महानगरले जनाएको छ । ‘सार्वजनिक निजी साझेदारी अनुसार एउटा कम्पनी फोहोर प्रशोधन केन्द्र निर्माण र सञ्चालनको लागि छनोट भएको छ,’ सूचना अधिकारी कृष्ण तिवारी भन्छन्, ‘तर जग्गा प्राप्तिमा समस्या भएपछि प्रशोधन केन्द्र बनाउने प्रक्रिया नै अघि बढेन ।’

पोखरा ३३ पुँडीटारको झाँक्रीखोलामा प्रशोधन केन्द्र निर्माण गर्ने गरी महानगरले तयारी थालेको थियो । तर स्थानीय जग्गाधनीले मालपोत र चलनचल्तीको भाउ भन्दा बढी मूल्य गरेपछि महानगर पछि हटेको तिवारीले जानकारी दिए । ‘जग्गाधनीले जग्गाको मूल्य चर्को तोक्नुभयो । जुन जग्गा खरिद गर्न महानगरसँग अधिकार नै भएन,’ अघि भने, ‘बरु कम्पनीले नै खरिद गरेर चलाउने हो कि भन्ने हिसाबले पनि छलफल चाहिँ भइरहेको छ ।’ त्यहाँका १७ जना जग्गाधनीको ९३ रोपनी जग्गा अधिग्रहणको लागि रोक्का राखिएको छ ।

भाउ नमिलेपछि अधिग्रहण हुन नसकेको हो । २०८० मंसिर १७ गते बसेको सार्वजनिक निजी साझेदारी समितिको बैठकबाट टेरासल्व रिन्यूयवललाई प्रशोधन केन्द्र सञ्चालन गर्ने गरी छनोट गरिएको थियो । २ वर्षअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपछि उद्घाटन अघि बाच्छेबुडुवाको ल्याण्डफिल साइट लामे आहाल सारिएको हो । 

पोखरामा दैनिक १५० देखि २०० टन फोहोर उत्सर्जन हुन्छ । ती फोहोर ल्याण्डफिल साइट पुर्‍याउन ८ वटा कम्पनीलाई जिम्मा दिइएको छ । उनीहरूले दैनिक तालिका बनाएर फोहोर संकलन गर्छन् । उनीहरूलाई ३ वर्षको २ करोड ४८ लाख रुपैयाँ लिने गरी ठेक्का दिइएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप