मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ्

१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म

सोमबार, २८ माघ २०८१, २३ : ५२
सोमबार, २८ माघ २०८१

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– 

१. प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दायर
गिरीबन्धु टी स्टेटबारे सर्वोच्च अदालतले गरेको फैसलाको अवहेलना गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अवहेलना मुद्दा दायर भएको छ । सर्वोच्चको फैसला कार्यान्वयन गर्नुको साटो ओली नेतृत्वको सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएर सर्वोच्च अदालतको परमादेश कार्यान्वयनमा अवरोध गरेको आरोपसहित अधिवक्ता ओमप्रकाश अर्यालले सोमबार अवहेलनासम्बन्धी मुद्दा दायर गरेका हुन् ।

२. अर्थ मन्त्रालयको सचिव परिवर्तन
सरकारले अर्थ मन्त्रालयको सचिव परिवर्तन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव घनश्याम उपाध्यायलाई अर्थसचिवको जिम्मेवारी दिएको छ । त्यस्तै अर्थमन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे राष्ट्रतिको कार्यालयमा सरुवा भएका छन् । मन्त्रिपरिषद बैठकले रिक्त एक सचिव पदमा लुम्बिनी प्रदेशका कामु सचिव बाबुराम अधिकारीलाई बढुवा गरेको छ ।

३. सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी जोशी पुर्पक्षका लागि थुनामा
सुप्रिम सहकारीको रकम हिनामिना सम्बन्धी मुद्दामा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई रुपन्देही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले जोशीलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।

४. माओवादी केन्द्रीय विभागमा कार्यविभाजन, कसलाई के जिम्मेवारी ? 
नेकपा माओवादी केन्द्रले केन्द्रीय विभाग र विभागहरूको कार्यविभाजन गरेको छ । जसअनुसार अध्यक्ष प्रचण्डदेखि विभिन्न नेताले विभागको जिम्मेवारी पाएका छन् । 

५. केयुको उपकुलपतिका लागि १० जना सर्टलिष्ट
काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि १० जना सर्टलिष्टको सूची सार्वजनिक गरिएको छ । उपकुलपतिका लागि आवेदन दिएकामध्ये २० जनाको नाम स्वीकृत भएको थियो । जसमा वर्णानुक्रमअनुसार १० जनाको सर्ट लिस्ट आज सार्वजनिक गरिएको हो । उपकुलपति खोज तथा सिफारिस समितिले १० जनालाई सर्टलिष्टमा पारेको हो ।

६. ड्युटीको सिपाही कुट्ने विद्यार्थी नेतालाई उन्मुक्ति
काठमाडौं महानगरपालिका-२७ ज्याठास्थित छाया सेन्टर अगाडि ड्युटीमा खटिएका प्रहरीका जवान र हवल्दारमाथि निर्घात कुटपिट गर्ने अनेरास्ववियुका नेतालाई उन्मुक्ति दिन खोजिएको छ । माघ २४ मा मध्यराति ‘राउण्ड अप ड्युटी’मा खटिएका प्रहरीलाई नेकपा एमाले निकट अनेरास्ववियुका स्थायी समिति सदस्य कमल जोशीसहितको समूहले कुटपिट गरेका हुन् ।

७. अनलाइन जुवा अखडामा प्रहरीको छापा
काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–३ स्थित अनलाइन जुवा अखडामा छापा मारेर प्रहरीले ८८ वटा मोबाइल बरामद गरेको छ । ८८ वटा मोबाइल र १० वटा ल्यापटप बरामद गरेर कारोबार यकिन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

८. नियमावलीमा कसरी आयो ‘श्री ५ को सरकार’ ?
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले हस्ताक्षर गरेको एउटा नियमावलीमा ‘श्री ५ को सरकार’ उल्लेख भएको विषय यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । मन्त्री चौधरीको निजी सचिवालयले उक्त शब्दावली भुलवस पर्न गएको जनाएको छ ।

९. अध्यादेशबारे उपेन्द्र यादव र सरकार मुख हेराहेरको अवस्थामा
सरकारले ल्याएका अध्यादेश उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले समर्थन नगरेसम्म राष्ट्रिय सभाबाट पारित हुन सक्ने अवस्था देखिएको छैन । त्यसैले यतिन्जेलसम्म ती अध्यादेश संसदमा पेस गर्न सरकारले आनाकानी गरिरहेको छ ।

१०. पाथीभरा केबलकारको विरोधमा फेरि आन्दोलन घोषणा
आइतबार र सोमबारको वार्ता र छलफलबाट कुनै निष्कर्ष ननिस्किएपछि पाथीभरामा निर्माणाधीन केबलकारको विरोध गर्दै पुनः आन्दोलन घोषणा भएको छ । केबलकारको विरोध गर्दै आएका मुक्कुमलुङ ताङ्सेःप चुम्भोका ११ संस्था र १० वटा अन्तर्दलीय राजनीतिक पार्टीले संयुक्त रूपमा आन्दोलन घोषणा गरेका हुन् ।

११. संसद् भवन प्रवेश गर्न खोज्ने अभियन्ता पक्राउ
संघीय संसद् भवनमा प्रवेश गर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा खगेन्द्र सुनुवार छन् । उनी दलितका लागि दलित अभियानका अभियन्ता हुन् ।

१२. संसद् बैठक, ‘जनयुद्ध जिन्दावाद’को नारादेखि बालेनलाई चुनौतीसम्म
सोमबार संसद् बैठकमा सांसदहरूले विभिन्न समसामयिक विषयमा आफ्नो धारणा राखेका छन् । यस क्रममा सांसदले ‘जनयुद्ध जिन्दावाद’को नारा लगाउनेदेखि काठमाडौँ महानगर प्रमुख बालेन शाहलाई चुनौती दिनेसम्मको भूमिकामा आफूलाई प्रस्तुत गरे । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप