निकुञ्ज र संरक्षण क्षेत्रमा जलविद्युत् आयोजना विकास गर्ने वातावरण बनाउन इप्पानको माग
![निकुञ्ज र संरक्षण क्षेत्रमा जलविद्युत् आयोजना विकास गर्ने वातावरण बनाउन इप्पानको माग](https://rpcdn.ratopati.com/media/albums/trans_wu0FnwQmTv.jpg)
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले निकुञ्ज तथा संरक्षण क्षेत्रभित्र जलविद्युत् आयोजना विकास गर्ने वातावरण बनाउन आग्रह गरेको छ ।
सोमबार सत्तारुढ दल नेकपा एमाले र प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतकलाई भेट्दै इप्पानले राष्ट्रिय निकुञ्ज र विभिन्न संरक्षण क्षेत्रभित्र पनि जलविद्युत् आयोजना विकास गर्ने वातावरण बनाउनका लागि आग्रह गरेको हो ।
पछिल्लो समय सर्वोच्च अदालतको संवैधानिक इजलासबाट भएको एउटा फैसलाका कारण विभिन्न संरक्षण क्षेत्रका नाममा रहेको वन क्षेत्रमा कुनै पनि भौतिक संरचना निर्माण गर्न नपाउने अवस्था सिर्जना भएको छ ।
इप्पानका अध्यक्ष गणेश कार्कीले उक्त फैसलाका कारण नयाँ आयोजना बनाउन नसकिने र बनेका आयोजनाको बिजुली पनि प्रसारण लाइन बनाउन नदिएर खेर जाने अवस्था आउने हुँदा निर्माणाधीन आयोजनामा भइरहेको लगानी नै असुरक्षित हुने खतरा बढेको बताए ।
इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले फैसला पुनर्विचार नभए नेपालमा थप एउटा पनि जलविद्युत् आयोजना नबन्ने अवस्था आउने बताए । सबै आयोजना संरक्षण क्षेत्रमा नपरे पनि प्रसारण लाइनहरु कुनै न कुनै संरक्षण क्षेत्रमै पर्ने र प्रसारण लाइन बनाउन नपाए अहिले बनिरहेका आयोजनाकै बिजुली पनि प्रवाह नहुने हुँदा थप आयोजना बनाउने ठाउँ नै नरहेको डाँगीले बताए ।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले विभिन्न संरक्षण क्षेत्रका नाममा राखिएका संरचनाले विकास निर्माणमा प्रभाव पारेको भन्दै यसलाई संशोधन गर्ने विषयमा आफू छलफलमा लागेको बताए ।
‘अदालतलाई देखाएर देशलाई बन्धक बनाउन मिल्दैन । अहिलेको फैसलाले संरक्षण क्षेत्रमा एउटा नल पनि गाड्न नमिल्ने भएको छ,’ बर्तौलाले भने,
यो समस्या समाधानको पहिलो विकल्प भनेको सरकारले राजपत्रमा सूचना निकालेर सिमाना हेरफेर गर्नु रहेको र दोस्रो विकल्पमा यसलाई पुनर्परिभाषित गर्नु रहेको बर्तौलाको भनाइ थियो ।
अहिले कै ऐनमा टेकेर संसदीय आयोग बनाएर यी सबै कुरा छानबिन गरेर सरकारलाई कार्यान्वयन गर्न निर्देशन दिन सकिने उनले बताए । होइन भने देशलाई समृद्ध बनाउने जुन सम्भावना छ, त्यो प्रयोगमा नआएरै खेर जाने अवस्था आउन सक्ने पनि बर्तौलाले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियाले तस्करले काठ बेच्न हुने तर जनताले ढलेका रुख पनि काट्न नपाउने जस्ता कानुनहरू संशोधन हुनुपर्ने बताए ।
उनले ५० प्रतिशत वन क्षेत्र पुग्न लागेको नेपालमा मलेसियाबाट काठ ल्याउनुपर्ने अवस्थाको अन्त्य गर्न आफूले आवाज उठाउने बताए । इप्पानका उपमहासचिव प्रकाश दुलालले अमेरिका विश्वसँग गरेका सम्झौताबाट पछि हट्न हुन्छ भने नेपालले पनि विकास विरोधी सम्झौताबाट पछि हट्नुपर्ने बताए ।
वातावरण संरक्षणका नाममा भएका यसप्रकारका फैसलाले जलविद्युत आयोजना निर्माण मात्रै नभएर कुलो समेत खन्न नपाउने भएकाले समग्र विकास निर्माण नै ठप्प हुने उनको भनाइ थियो । नेपालको कुल भू–भागको २३ प्रतिशत क्षेत्रफल विभिन्न संरक्षित क्षेत्रको नाममा रहेको इप्पानका कार्यसमिति सदस्य भरत पराजुलीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दशौँ राष्ट्रिय खेलकुद : भारात्तोलन र जुडोका खेलाडी छानिए
-
फेरि बढ्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
गर्मी बढेसँगै धरहरा चढ्ने समय बढ्यो
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म