मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय
बेथिति

सीटीईभीटीका बोर्ड सदस्यकै कलेजको कन्तबिजोक, विद्यार्थीको बिचल्ली

सोमबार, २८ माघ २०८१, २० : ३०
सोमबार, २८ माघ २०८१

काठमाडौँ । ललितपुरको बागडोलमा रहेको एक्मी कलेज अफ इन्जिनियरिङको स्लोगन नै छ, ‘ट्वान्टी फोर इयरर्स अफ हिस्ट्रिक एकेडेमिक एक्सपेरियन्स’ । शैक्षिक क्षेत्रमा २४ वर्षको अनुभव पाएको भनेर स्लोगन नै लेखिएपछि कसले अविश्वास गर्ला र !

 तर, अहिले सोही कलेजमा अध्ययन गर्ने विद्यार्थीहरूको बिचल्ली भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट मान्यताप्राप्त उक्त कलेजमा दशैँतिहार यता पठनपाठन नै भएको छैन । 

कलेजका सञ्चालक इन्जिनियर शैलेन्द्र मोहन झा लामो समयदेखि सम्पर्कविहीन छन् । सञ्चालक नै दसैँदेखि सम्पर्कमा नआएपछि त्यहाँ अध्ययनरत विद्यार्थीहरू कहिले सीटीईभीटी पुग्छन् भने कहिले विद्यार्थी संगठनसँग गुहार माग्न पुग्छन् । 

कलेजमा समयै पढाई हुनुपर्‍यो, नियमित पठनपाठन हुनुपर्‍यो भनेर माग राख्दा न कलेज प्रशासनले सुन्छ  न त सञ्चालन यो विषयमा गम्भीर हुन्छन् । 

आजित भएपछि विद्यार्थीहरूले विद्यार्थी सङ्गठन गुहारेका छन् । सोहीअनुसार नेकपा (बहुमत) को विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) का नेता कार्यकर्ताहरूले समस्या समाधानको  पहल गरेपनि कुनै निकास निस्कन सकेको छैन । 

अखिल (क्रान्तिकारी) का सचिव डीबी शाहीले विद्यार्थीहरूले गुनासो गरेपछि समस्या समाधानको पहल गरेको बताए । तर, कलेज सञ्चालक सम्पर्कमा नआउँदा समस्या लम्बिइरहेको उनको भनाइ छ । 

Acme College Of Engineering photos (10)

 रातोपाटीकर्मी आज बिहान कलेज पुग्दा त्यहाँ केही सङ्ख्यामा विद्यार्थीहरू थिए । जो परीक्षाका लागि फाराम भरिरहेका थिए । लेखा शाखामा एक जना महिला कर्मचारी थिइन् । जसले विद्यार्थीका परीक्षा फाराम सङ्कलन गरिरहेकी थिइन् । त्यस्तै माथिल्लो तलामा अर्का कर्मचारी (जो बोर्ड सदस्य पनि हुन्) विषय मेहता थिए । उनी आफूलाई नाम मात्रको बोर्ड सदस्य बताउँछन् । 

रातोपाटीसँगको कुराकानीमा विद्यार्थीहरूले दशैं तिहारयता राम्रो पढाई नै नभएको बताए । एउटा कक्षाको कोर्ष पढाउनका लागि कम्तीमा ७ जना शिक्षक आवश्यक पर्छन् । तर, अहिले मुस्किलले तीन जना शिक्षक कहिलेकाहीँ मात्रै आउने गरेको विद्यार्थीहरूको भनाइ छ । 

तेस्रो वर्षका विद्यार्थीहरूले पढाई नभएरै परीक्षा फाराम भर्नुपर्ने बेला आएको बताए । ‘पढाई नै भएको छैन् । परीक्षाका लागि फाराम भर्नु परेको छ । कहिलेकाहीँ मुस्किलले १÷२ जना सर आउनुहुन्छ । त्यो पनि मन लगाएर पढाउनुहुन्न,’ एक विद्यार्थीले भने । 

यतिसम्म कि कलेजकी प्रिन्सिपल इन्जिनियर आँचल खरेलले दुई वर्षदेखिको तलब नपाएको विद्यार्थीहरूले बताएका छन् । ‘प्रिन्सिपल म्यामले दुई वर्षदेखिको तलब नपाएपछि एक महिनादेखि उहाँ कलेज आउन छाड्नुभयो । उहाँ हुँदासम्म कलेज चलिरहेकै थियो,’ एक विद्यार्थीले भने ।  

शिक्षकहरूले समेत तलब नपाएपछि कलेज नै आउन छाडेका हुन् । त्यसपछि भने कलेजमा पठनपाठन नै हुन नसकेको ती विद्यार्थीको भनाइ छ ।

८० जना भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको उक्त कलेजमा पठनपाठन नभएपछि पीडितले तोडेफोड नै गरेका छन् । सञ्चालक झा, प्रिन्सिपल लगायतको कार्यकक्षमा विद्यार्थीहरूले आइतबार तोडफोड गरेका हुन् ।

नयाँ नयाँ शिक्षक ल्याउँछन् । तर, तलब नपाएपछि केही महिना काम गर्ने त्यसपछि छोड्ने गरेका छन् । विद्यार्थीहरूबाट भने कलेजले सुरुमै शुल्क लिने गरेको छ । हरेक वर्ष नयाँ कक्षा पढ्ने वितिक्कै विद्यार्थीबाट पैसा लिन्छन् । 

‘हामीले शुल्क जहिले भन्यो त्यही बेला दिने गरेकै छौँ । तर, शिक्षकहरू तलब पाएन भन्नुहुन्छ । कर्मचारी तलब नपाएको भनेर छोड्नुहुन्छ । हामीले पैसा बुझाएपछि सञ्चालकहरू आउनुहुन्छ । र पैसा लगेर जानुहुन्छ । त्यसपछि कलेज नै आउनुहुन्न,’ एक अर्का विद्यार्थीले भने । 

  • कम्प्युटर ल्याब छ तर, विद्यार्थीले देख्न समेत पाएका छैनन् 

कलेजको भुइँतलामा कम्प्युटर ल्याब छ । तर, विद्यार्थीहरूले त्यो ल्याब समेत देख्न पाएका छैनन् । ल्याब नै देख्न नपाएका विद्यार्थीहरूले आइतबार बाहिरकैबाट तोडफोड गरेर भित्र हेरेका थिए । जहाँ केही थान कम्प्युटर मात्रै छन् । तीमध्ये १/२ वटा मात्रै चालु अवस्थामा रहेको विद्यार्थीहरूको भनाइ छ । 

‘नयाँ विद्यार्थीहरूले त ल्याब कस्तो छ भनेर देख्न समेत पाएका छैनन् । हामीले पनि कहिलेकाहीँ हो ल्याबमा जान पाउने ? त्यसमा १/२ वटा मात्रै राम्रो चल्ने अवस्थाका छन् । अरू सबै खुल्दै खुल्दैनन्,’ कम्प्युटर इन्जिनियरिङ पढ्ने एक विद्यार्थीले भने । 

विद्यार्थीले तोडफोड गरेको ठाउँबाट हेर्दा कम्प्युटर ल्याब पुरै धुलाम्मे अवस्थामा थियो । जहाँ लामो समयदेखि नखोलीकन राखेको अवस्थामा देखिन्थे । 

Acme College Of Engineering photos (3)

कलेजमा डिप्लोमा तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । डिप्लोमा इन सिभिल, कम्प्युटर, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङका कोर्सहरू अध्यापन गराउँदै आएको हो । 

  • परिषद् बोर्ड सदस्य समेत हुन् झा

कलेज सञ्चालक झा परिषद् बोर्ड सदस्य समेत हुन् । तर, झा लामो समयदेखि कलेज तथा विद्यार्थीहरूको सम्पर्कमा छैनन् । उनी सम्पर्कबाहिर भएपछि विद्यार्थीहरू परिषद् गुहार्न पुगेका हुन् । झाका परिषद्बाट सम्बन्धन लिएर काठमाडौँ उपत्यकासहित देशभर विभिन्न खालका कलेजहरू सञ्चालनमा छन् । 

Acme College Of Engineering photos (6)

कलेजले नयाँ नयाँ शिक्षक ल्याउने गरेको छ । तर, शिक्षकहरू लामो समय टिक्दैनन् । किनभने कलेजले समयमै तलब नदिँदा उनीहरू छोटो समयमै छोड्ने गरेको विद्यार्थीहरूको भनाइ छ । विगत वर्षहरूमा समेत यस्तो खालको समस्या हुँदै आएको थियो । तर, यो पटक भने अति नै भएपछि आफूहरू बाहिर निस्किन बाध्य भएको विद्यार्थीहरूको भनाइ छ ।

  • कानुन अनुसार कारबाही प्रक्रिया अगाडि बढ्छ : परिषद् 

आफूले पढ्न नपाएको विषय विद्यार्थीहरूले परिषद् समक्ष समेत राखेका छन् । माघ २४ गते परिषद्का कर्मचारीहरू कलेजमै आएर तीन दिने अल्टिमेटम दिएका थिए । तीन दिनभित्रमा पठनपाठन सञ्चालन गर्ने प्रतिबद्धता कलेज प्रशासनले दिएको थियो । त्यही अनुसार आज बिहान विद्यार्थीहरूलाई पठनपाठन हुने भनेर बोलाएको थियो । तर, कुनै विषयको पनि पढाई नभएको विद्यार्थीहरूले बताए । 

आफूहरूको पठनपाठन नभएको विषयमा विद्यार्थीहरूले परिषद्लाई समेत जानकारी गराएका छन् । परिषद्ले आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको छ । 

परिषद्का सदस्य सचिव महेश भट्टराईले कलेजमा देखिएका समस्याबारे परिषद् जानकार रहेको बताउँदै आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने बताए । 

Acme College Of Engineering photos (7)

‘कलेजमा देखिएको समस्याबारे परिषद् जानकार छ । हामीले कलेजलाई स्पष्टीकरण सोधेका छौँ । अहिलेसम्म स्पष्टीकरणको जवाफ आएको छैन । अब कानुन अनुसार के गर्नुपर्छ त्यही अनुसार अगाडि बढ्छौँ,’ सदस्यसचिव भट्टराईले भने ।

विद्यार्थीहरूको परीक्षा नजिकिँदै छ । यस्तो अवस्थामा पढ्नुपर्ने बेला विद्यार्थीहरूलाई कलेज खोज्दै हिँड्नु पर्ने बाध्यता आएको हो । परिषद्ले कलेजमै पठनपाठन गराउने वातावरण मिलाउने प्रयास भइरहेको जनाएको छ । नभएको खण्डमा विद्यार्थीहरू अन्यत्र सारेर कलेजमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउने तयारी परिषद्को रहेको हो । 

Acme College Of Engineering photos (2)

सञ्चालक झा भने परिषद्को समेत सम्पर्कमा आएका छैनन् । यो विषयमा बुझ्न खोज्दा सञ्चालक झा, महेश मिश्रा लगातयका सदस्यसँग समेत सम्पर्क हुन सकेन । 

सञ्चालक झाले आफूसहित ८ जनाको म्यानेजमेन्ट कमिटी बनाएका छन् । जसमध्ये विजय मेहताले आफू नाम मात्रैको बोर्ड सदस्य भएकाले थप विषय जानकारी नभएको बताए । ती बाहेक डाक्टर अशोक मेहता, भवेश मिश्रा, डाक्टर विकास चन्द्र झा, इन्जिनियर हरिशंकर महतो, रुपेश मिश्रा र सक्तेन्द्र सिंह सदस्य छन् । उनीहरू समेत यो विषयमा विद्यार्थीहरूसँग सम्पर्कमा आउन नमान्ने विद्यार्थीहरूको भनाइ छ । 

Acme College Of Engineering photos (9)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप